ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अजरबैजान र अर्मेनियाबीच युद्धविरामको राष्ट्रसंघद्वारा स्वागत

२०७७ असोज, २६  
अन्तरराष्ट्रिय
Image Not Found

न्यूयोर्क । अजरबैजान र अर्मेनियाबीच शनिवार भएको युद्धविरामको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकद्वरा शनिवार प्रकाशित विज्ञप्तिमा महासचिव गुटर्रेसले उक्त निर्णयको स्वागत गरेका हुन् ।    

शनिवार यी दुई देशबीच युद्धविरामको सम्झौता भएको थियो । रुसी विदेशमन्त्रीको रोहवरमा शनिवारदेखि युद्धविराम लागू हुनेगरी दुई देशले सहमति गरेका थिए । यी दुई देशलाई युद्धविराम गरेर वार्ताको टेबलमा बसी बाँकी सहमतिका काम गर्न महासचिव गुटर्रेसले विगत लामो समयदेखि आग्रह गर्दै आएका थिए ।

रुसको राजधानी मस्कोमा यी दुई देशबीच वार्ता भएको र उक्त वार्तापछि युद्धविरामको सहमति भएको थियो । यस युद्धविरामका लागि रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले मध्यस्थता गरेका थिए ।

यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएको रुसले बताएको छ । यस युद्धविरामका लागि रुसले गरेको पहलको पनि महासचिव गुटर्रेसले स्वागत गरेका छन् । यस्तो प्रयासपछि अबका दिनमा यी दुई देश वार्ताको टेबलमा बसेर समस्याको समाधान गर्ने अपेक्षा गरिएको पनि उनले बताए ।  

यी दुई देशबीच दशकौंदेखि भूमिसम्बन्धी विवाद रहिआएको र पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आपसमा आक्रमण शुरू भएको थियो । हिमाली क्षेत्र नोगोर्नो काराबाखको विषयमा पछिल्लो समय हमला भइरहेको थियो । उक्त युद्धमा परेर करीब ४०० जनाले ज्यान गुमाएको पछिल्लो प्राप्त समाचारमा उल्लेख छ । विवादास्पद नागोर्नो काराबाख क्षेत्र अजरबैजानको भूमि हो । तर त्यो क्षेत्र लामो समयदेखि नै अर्मेनियाको जातीय समूहको नियन्त्रणमा रहँदै आएको छ । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्