ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वस्तुको गुणस्तरको विज्ञापन गरौं

२०७७ असोज, २६  
लेख | दृष्टिकोण
Image Not Found

कोरोनाको त्रासदीका कारण मानिसहरूको पेशा, व्यापार, व्यवसाय, रोजगार प्रायः ठप्प छ । औषधि, खाद्यान्नबाहेक अरू वस्तुको विक्री न्यून छ । अहिलेको यो संकटपूर्ण अवस्थामा पनि दशैंतिहार जस्ता चाडपर्वको अवसर पारेर कुनै पनि संस्था, कम्पनी, उद्योगी, व्यवसायीहरूले आफ्ना उत्पादनको बजार प्रवद्र्धन गर्न मालवस्तुको खरीदमा विभिन्न उपहार योजना सार्वजनिक गर्नमा पछि पर्ने गरेका छैनन् । आफूले उत्पादन गरेका वस्तुहरू खरीद गर्न वा सेवा लिन प्रोत्साहन गर्ने उद्देश्यले बजारमा उपभोक्ताहरूलाई विज्ञापनमार्फत दशैंतिहारको अवसर पारेर उपहार योजना ल्याउने गरेका छन् । उपभोक्तालाई आफूतिर आकर्षित पार्न रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन आदि माध्यमको प्रयोग गरी उपहार योजनासहित वस्तु वा सेवाको सार्वजनिक विज्ञापन गर्ने चलन नै बनिसकेको छ ।

वस्तुको उपहारमा लोभिने उपभोक्ता गुणस्तरमा नठगिएला भन्न सकिँदैन । तर, कतिपय उपभोक्ताले भने त्यसो नगरी गुणस्तरीय वस्तु नै खरीद गरेका हुन्छन् । वस्तु वा सेवाको खरीद विक्रीको कार्यमा विभिन्न उपहार योजनासहितको विज्ञापन गर्ने, उपहार प्रदान गर्ने कम्पनी, उद्योग, व्यवसायीको कार्यका सम्बन्धमा कानूनमा परिभाषित हुनुपर्छ । कुनै वस्तु वा सेवा उत्पादन वा विक्रीवितरण गर्ने संस्था, कम्पनी, उद्योग, व्यवसायीले बजारमा कुन हदसम्मको उपहार योजना सार्वजनिक गर्न पाउने हो, सोको कुनै मापदण्ड तयार भएको छैन । वस्तुको गुणस्तरीयता एवम् विश्वसनीयतालाई गौण बनाई विज्ञापनको सहारा लिनु उचित हुँदैन । बजारमा आफ्नो वस्तु बढी बिकाउने र आफूलाई टिकाउने नाममा विज्ञापनको माध्यमद्वारा विभिन्न उपहार योजना सार्वजनिक गरिरहेका हुन्छन् । बजारमा स्वच्छ प्रतिस्पर्धात्मक रूपमा वस्तु वा सेवाको खरीद विक्री हुनुपर्छ । स्वच्छ प्रतिस्पर्धामा प्रतिकूल असर पर्ने गरी विज्ञापन गरी उपभोक्तालाई भ्रमित गर्नु कानूनबमोजिम दण्डनीय कार्य हुन् । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ मा स्वच्छ प्रतिस्पर्धामा प्रतिकूल असर पर्ने गरी विज्ञापन गर्न नहुने गरी रोक लगाएको छ । तर, के कुन हदसम्मको विज्ञापन गरेको कार्यलाई स्वच्छ प्रतिस्पर्धा प्रतिकूल मान्ने हो, सो कुराको स्पष्टता यसमा छैन । यो दफाविपरीत कार्य गरेमा कसूर मानिने व्यवस्था गरेको छ । प्रचलित कानूनबमोजिम सजाय हुने भएमा सोहीबमोजिम र नभएमा कसूर गर्ने र गराउने दुवैलाई १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था यो ऐनले गरेको छ ।

वस्तु वा सेवाको खरीदमा विभिन्न उपहार योजना सार्वजनिक गर्ने संस्था, कम्पनी, उद्योग, व्यवसायीले विज्ञापन गर्दा अन्त्यमा ‘शर्तहरू लागू हुनेछन्’ भनी उल्लेख गरेको हुन्छ । मुलुकी देवानी संहिता, २०७४ को दफा ५११ अनुसार विज्ञापन गरी सर्वसाधारण समक्ष प्रस्ताव राख्न सक्ने देखिन्छ । भविष्यमा कार्यान्वयन हुने यस्ता प्रकृृतिको सम्झौता विज्ञापनबमोजिमको करारको परिभाषाभित्र पर्न जान्छ । उपभोक्ताले विज्ञापनलाई जानकारीमा राखी बजारबाट वस्तु खरीद गरेको खण्डमा विज्ञापनबमोजिमको शर्तहरूको अनिवार्य परिपालनापछि मात्र भविष्यमा उपहार पाउने गर्छ भने कतिपय अवस्थामा विज्ञापनमा तोकिएबमोजिमको उपहार तुरुन्तै पाउने गर्छ । कुनै व्यक्तिले सार्वजनिक रूपमा विज्ञापन गरी त्यस्तो विज्ञापनमा उल्लिखित कुनै काम गरेमा यति पारिश्रमिक दिनेछु भनी सार्वजनिक रूपमा प्रस्ताव राखेकोमा त्यस्तो विज्ञापनबमोजिमको काम गर्ने व्यक्तिलाई विज्ञापनमा उल्लिखित पारिश्रमिक दिनुपर्ने कुरा यस दफामा उल्लेख गरेको छ । यस दफामा विज्ञापनबमोजिम काम गर्नेले पारिश्रमिक पाउने कुरा मात्र उल्लेख गरेको छ । जबकी उपभोक्ताले वस्तु वा सेवा खरीद गरी विज्ञापनबमोजिमको करार गरेको खण्डमा विज्ञापनमा उल्लिखित नगद वा जिन्सी वस्तु उपहार पाउने कुरालाई समेटेको देखिँदैन । यो स्थितिमा वस्तुको खरीदमा उपहार पाइने र त्यस्तो उपहार योजनासहितको विज्ञापन गर्ने कुनै पनि व्यावसायिक क्रियाकलापलाई स्वच्छ प्रतिस्पर्धा विरुद्धको कसूर मान्ने कि नमान्ने भन्नेतर्फ सोच्नुपर्ने भएको छ ।     

बजार संरक्षण गर्न, प्रतिस्पर्धा कायम गर्न तथा उपभोक्ताको आर्थिक हित रक्षा गर्न समय समयमा कानून बनेका छन् । उपभोक्ता संरक्षण ऐन २०७५, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन २०६३, वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जस्ता कानून कार्यान्वयनमा रहे पनि उपहार राखी वा आकर्षक नारामा उपहार पाइने विज्ञापन गरी वस्तु वा सेवाको विक्री गर्ने कार्यमा नियन्त्रण हुन सकेको छैन । यस्ता प्रचलित कानूनले उपभोक्ताको हितविपरीत हुने कुनै पनि कार्यलाई अपराध मानेको छ । उपहार योजनासहितको वस्तुको सार्वजनिक विज्ञापनले बजारमा पक्कै पनि स्वच्छ प्रतिस्पर्धा कायम हुन सक्दैन ।

बजारबाट स्वच्छ प्रतिस्र्धात्मक मूल्यमा गुणस्तरीय वस्तु वा सेवा छनोट गर्ने अधिकार उपभोक्तालाई रहेको छ । त्यस्तै उत्पादित वस्तुलाई बजारसम्म पु¥याएर प्रतिस्पर्धात्मक मूल्यमा विक्री गर्नु तथा त्यस्तो विक्रीको लागि भ्रमपूर्ण विज्ञापन वा प्रचारप्रसार नगर्नु उत्पादकको दायित्व हो । उत्पादकले गुणस्तरीय वस्तु वा सेवालाई प्रतिस्पर्धी मूल्यमा विक्री गरी उपभोक्ताको हितलाई सदैव ध्यान दिनुपर्छ । उपभोक्ताको हितलाई सर्वोपरि ठान्ने हो भने बजारमा कुनै वस्तु वा सेवाको खरीद विक्री वा प्रयोगमा उपहार योजना ल्याउँदा र त्यसको विज्ञापन गर्दा उपभोक्ताको हित संरक्षित हुन्छ वा हुँदैन, त्यस्तो कार्यले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्न गएको त छैन भन्नेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्छ ।

आफूले उत्पादन गरेका वस्तु वा सेवाको बजार प्रवद्र्धन गर्न वा प्रचारप्रसार गर्न कुनै पनि संस्था, कम्पनी, उद्योग, व्यवसायीले विज्ञापन गर्न सक्छ । तर, त्यस्तो विज्ञापन स्वच्छ प्रतिस्पर्धामा असर पुग्ने किसिमको हुनु हुँदैन । बजारमा उपहारलाई भन्दा उत्पादित वस्तुको गुणस्तरीयता, उपयोगिता, विश्वसनीयतालाई महत्त्व दिई विज्ञापन गर्ने कार्यको थालनी हुनुपर्छ । बजारमा वस्तुको उपहारको होइन, गुणस्तरको विज्ञापन गरौं । यसो गर्ने हो भने उपभोक्ताले पनि न्याय पाउने थिए ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्