ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शेयर लगानीमा हारजित

शेयर बजार, जुवा, सट्टेबाजी र लगानी

२०७७ असोज, २६  
लेख | दृष्टिकोण
Image Not Found

हेर्दा र सुन्दा जति सजिलो लाग्छ शेयरबजार बुझ्दै जाँदा उत्तिनै गाह्रो छ । कसैले दिएका केही ट्रिक र टिप्स अथवा लहडको भरमा छिटो फाइदा उठाउन भन्दै यहाँ धेरैले कमाउने प्रयास नगरेका होइनन् । सबै कुरा पहिल्यै कुनै पाठ पढेर, रटेर वा घोकेर अब सबै आउँछ भनेर प्रवेश गर्ने ठाउँ शेयरबजार होइन । बरु केही आधारभूत कुरा बुझेपछि ससानो पूँजी लगाएर सिक्दै, बुझ्दै र अनुभव लिँदै जाने ठाउँ हो । कोही कोहीले शुरुआतीमा केही कमाएपछि हौसिएर पछि ठूलै मात्रामा ऋण लिई पैसा हालेर ऋणले थलिएपछि शेयरबजारलाई जुवा खेलको संज्ञा दिएको पाइन्छ । जुवा, सट्टेबाजी र लगानी, यी तीनओटै शब्द सुन्दा उस्तै लाग्छ तर यी एकदमै फरक विषय हुन् । जुवा न सट्टेबाजी हो न लगानी हो । त्यसरी नै सट्टेबाजी पनि न लगानी हो न जुवा ।

शेयर, ऋणपत्र, ट्रेजरी, बन्ड, म्युचुअल फन्ड, सुन वा चाँदी, घरजग्गा, कलाकृति वा पुराना दुर्लभ वस्तुहरू किनेर राख्नुलाई लगानी गरिएको मानिन्छ । लामो समयका लागि गरिएको शेयर खरीद पनि लगानी नै हो ।

जुवा मनोरञ्जनका लागि खेलिने खेल हो । यसमा पैसा दाउमा लगाए पनि आम्दानी गर्नेभन्दा मनोरञ्जन लिने उद्देश्य प्रमुख हुन्छ । जुवामा एक घटनाले अन्तिम फैसला दिन्छ र सोही फैसलाका लागि पैसा दाउमा लगाइएको हुन्छ । अति क्षण भरमा फैसला हुने भएकाले यसमा जोखिमको मात्रा अति धरै हुन्छ र आफूअनुकूलको परिणामका लागि यहाँ भाग्यमा भर परिन्छ । खेलमा संलग्न दुई पक्षबीच हार र जित हुन्छ । जित भएमा पैसा दोब्बर वा तेब्बर वा चौबर भएर आउँछ भने हारेमा पूरै पैसा जान्छ । जुवा खेल्ने व्यक्तिको ज्ञान र अनुभवले सम्भावित परिणाममा खासै महत्त्व राख्दैन । यसमा कुनै सम्पत्तिमा स्वामित्व पनि हुँदैन । यहाँ कुनै अन्तर्निहित सम्पत्तिको खरीद गरिँदैन, त्यसैले यसमा जोखिम र प्रतिफलको बीचमा कुनै तालमेल पनि हुँदैन । कुनै योजना र अध्ययन गरेर जुवा खेलिँदैन र यसको परिणाम कुनै आर्थिक गतिविधिमा भर परेको पनि हुँदैन । यहाँ धेरैजसो निर्णय सनक (इमोशन) को भरमा लिइन्छ । तास, पासा, झन्डाबुर्जा, लटरी, ब्ल्याकज्याक, स्लट आदि जुवाका उदाहरण हुन् ।

सट्टेबाजी (स्पेक्युलेशन) भनेको निकट भविष्यमा मूल्यमा घटबढ भएमा फाइदा लिने उद्देश्यले गरिने खरीद विक्री कार्यलाई बुझिन्छ । यसको उद्देश्य मूल्य परिवर्तनबाट अल्पकालमा हुन जाने फाइदालाई उठाउने भन्ने हुन्छ । यो प्राय केही दिनका लागि (अल्पकालीन) र कहिलेकाँही केही महीनाका लागि (मध्यकालीन) हुन्छ । यो योजनाबद्ध हुँदैन किनकि केही ट्रिक वा टिप्स अथवा लहडको भरमा किनबेच गरी छिटो नाफा कमाउन यसो गर्ने गरिन्छ । यसमा मूल्यको अन्तरले मात्र नाफा पैदा गर्ने भएकाले वित्तीय तथा आर्थिक तथ्यांकहरूको आधारभूत विश्लेषण गरेरभन्दा ज्यादा टेक्निकल चार्ट्स, ग्राफ्स, न्यूज, हल्ला, धारणा (सेन्टिमेन्टस्), भावना (इमोसन्स्) अथवा सनकलाई ध्यानमा राखेर किनबेच गर्ने निर्णय लिइन्छ । सट्टेबाजीमा जोखिम धेरै हुन्छ तर जुवामा भन्दा चाहिँ कम हुन्छ । यसमा केही मात्रामा जोखिमको आकलन गर्ने गरिएको भए तापनि धेरै प्रतिफलको आशमा धेरै नै जोखिम मोलिएको हुन्छ, त्यसैले सम्भावित नोक्सानीभन्दा सम्भावित नाफा धेरै हुन्छ । यही कारणले मानिसहरू सट्टेबाजीका लागि उत्प्रेरित हुने गर्छन् । फलस्वरूप सट्टेबाजले उच्च ब्यजदरमा ऋण लिएर पनि पैसा लगाउन सक्छ । शेयरबजारमा शेयरको मूल्य परिवर्तनबाट अल्पकालमा हुन जाने फाइदालाई बुक गरी छोटो समयमै किनबेच गर्ने कारोबारीहरूले यस्तो सट्टेबाजी गरेर थोरै समयमा धेरै फाइदा प्राप्त गर्न पनि सक्छन् । डे ट्रेडिङ, पेन्नी स्टकको खरीद, शर्टसेल गर्नु, डेरीभेटिभको कारोबार सट्टेबाजीका केही उदाहरणहरू हुन् ।

लगानी (इन्भेस्टमेन्ट) भनेको दीर्घकालका लागि निश्चित वित्तीय उद्देश्य प्राप्त गर्न अथवा वित्तीय आवश्यकता पूरा गर्न योजनाबद्ध तरीकाले गरिएको निर्णय हो । यसमा वित्तीय र आर्थिक तथ्यांकको सहायताले लगानी गरिने वस्तुको विविध पक्षहरूलाई केलाएर अनुसन्धान र विश्लेषण गरिएको हुन्छ भने जोखिम र प्रतिफलको सम्बन्धलाई विस्तृत रूपमा केलाइएको हुन्छ । यहाँ जोखिमलाई प्रतिफलले पुरस्कृत पनि गर्छ । त्यसैले भोलिका लागि नाफा वा प्रतिफलको अपेक्षा गरेरै आज पैसा लगाइएको हुन्छ । यहाँ नाजायज प्रतिफलको अपेक्षा गरिएको हुँदैन र जायज प्रतिफलका लागि जायज जोखिम मोलिएको हुन्छ । तुलनात्मक रूपमा यसमा सट्टेबाजीमा भन्दा धेरै कम जोखिम वहन गरिएको हुन्छ । अर्थात्, यसमा लहडमा वा हल्लाको भरमा वा जुवा जस्तो मनोरञ्जनका लागि पैसा लगाइएको हुँदैन । सट्टेबाजीमा झैं यसमा उच्च ब्याजदरमा ऋण लिएर पनि लगानी गरिँदैन, सकभर आफ्नै पूँजी मात्र लगाइन्छ । शेयरमा लगानी हुन मुख्यतया तीनओटा कुराहरू हुनैपर्छ ।

लगानीकर्ताको ज्ञान र अनुभवले सम्भावित परिणाममा ठूलो महत्त्व राख्छ
शेयरबजारमा लगानी गर्नु भनेको एकदमै गाह्रो कार्य यस अर्थमा हो कि यहाँ जोखिम र प्रतिफलको सम्बन्धलाई विस्तृत रूपमा केलाउन सकिएन भने लगानीमा नोक्सानी बेहोर्नुपर्ने हुन सक्छ । जोखिम हुने भएकाले त्यस्तो जोखिमको मूल्यांकन गर्ने प्रमुख दायित्व लगानीकर्ता स्वयंको हुन्छ । त्यसैले लगानीकर्ताले जति धेरै सुझबुझ ढंगले लगानी गर्छ उति नै जोखिम पनि न्यून हुँदै जान्छ । आधारभूत, वित्तीय र आर्थिक तथ्यांकको सहायताले लगानी गरिने धितोपत्रको विविध पक्षलाई केलाएर अनुसन्धान र विश्लेषण गर्न लगानीकर्तालाई ज्ञानको जरुरत पर्छ । शेयरबजारमा धेरै लामो समयको कारोबार अनुभवबाट खारिँदै जाँदा कुशल लगानीकर्ता बन्न पुग्छ । कुशल लगानीकर्ताले आफ्नो लागानीबाट मनग्य फाइदा उठाइरहेको हुन्छ ।

शेयरमा हालिएको पैसा जसको सम्पत्तिमा स्वामित्व हुन्छ
शेयर लगानीमा हालिएको पैसामा अन्तर्निहित सम्पत्ति हुन्छ, जुन लगानीकर्ताले आपूmले चाहेको समयसम्म आप्mनो स्वामित्वमा राख्न सक्छ । यद्यपि शेयरधनीको दायित्व भने यहाँ समिति भने हुन्छ । शेयर अनन्त कालसम्मका लागि किनेर राख्न सकिन्छ र भोलि मूल्य बढेको बखतमा यसलाई प्रयोग गरेर फाइदा लिन पनि सकिन्छ । अर्थात् आफूले किनेको सम्पत्तिको मूल्य घट्दैमा त्यस माथिको आफ्नो स्वामित्व हराएर वा नासिएर वा शून्य नै भएर जाँदैन । आपूmले चाहेकोे बेलामा त्यसलाई बेचेर तुरुन्त पैसाका रूपान्तरण गर्न सकिन्छ ।

शेयर लगानीमा संलग्न सबै पक्षको जित हुन्छ
लगानीमा संलग्न सबैको अवस्था एकै हुन्छ । शेयरबजार बढेमा सबैले कमाइरहेकै हुन्छन् भने बजर घटेमा सबैले गुमाइरहेकै हुन्छन् । कुनै शेयर लगानीमा आज नोक्सानी भयो भने त्यो सधैं नोक्सानी नै भइरहन्छ भन्ने हुँदैन कुनै न कुनै समयमा त्यो शेयरको मूल्य बढेर फाइदामा पनि जान सक्छ । त्यसैगरी आज फाइदा भयो भन्दैमा सधैं फाइदै मात्र भइरहन्छ भन्न पनि सकिँदैन त्यो शेयरको मूल्य घटेर नोक्सानी पनि हुन सक्छ तर कुनै शेयरको मूल्य घटेर शून्य नै हुने सम्भावना भने असाध्यै कम हुन्छ ।

शेयर, ऋणपत्र, ट्रेजरी, बन्ड, म्युचुअल फन्ड, सुन वा चाँदी, घरजग्गा, कलाकृति वा पुराना दुर्लभ वस्तुहरू खरीद गरेर राख्नुलाई लगानी गरिएको मानिन्छ । लामो समयका लागि गरिएको शेयर खरीद पनि लगानी नै हो । तर, छोटो समयका लागि खरीद गरिएमा त्यो सट्टेबाजी मान्न सकिन्छ । हाम्रो शेयरबजारमा अल्पकालीन लगानीकर्ता र दीर्घकालीन लगानीकर्ता भनिए तापनि धितोपत्रसम्बन्धी प्रचलित नियम वा कानूनमा यसलाई व्याख्या गरेको देखिँदैन । शेयरमा लगानी गर्ने भनिए तापनि यहाँ केही कुशल कारोबारी (शेयर खेलाडी)हरूले सट्टेबाजी गर्ने गरेको पाइन्छ ।

लेखक नागरिक लगानी कोषमा आबद्ध छन्

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्