ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ब्वायलर कुखुराको मासुमा नोक्सानी व्यहोर्दै किसान    

२०७७ असोज, २६  
वाग्मती प्रदेश
Image Not Found
फाइल फोटो

असोज २६, चितवन । ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रू. ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ । उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो ।     
     
नेपाल ब्वायलर कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर कुखुरा प्रतिकिलो रू. ११० हाराहारीमा विक्री हुने गरेको छ । जसको लागत मूल्य प्रतिकिलो रू. २०५ रहेको उनको भनाइ छ ।

कुखुरा नबिकेपछि कतिपय जिउँदो प्रतिकिलो रू. ९० मा विक्री गर्नुपरेको गुनासो किसानले गरेका छन् । तयारी मासु प्रतिकिलो रू. १७५ मा समेत विक्री हुने गरेको छ । चितवनमा प्रतिकिलो रू. २०० र काठमाडौंमा रू. २२० दररेट राखेर मूल्य सार्वजनिक गरेको पाइन्छ । धेरै कुखुरा हुनेले सो मूल्यभन्दा कममा नै विक्री गरेका हुन् ।     
     
पौडेलले वाणिज्य विभागलगायतका सरोकारवाला निकायमा शुक्रवार निवेदन दिएर बजार अनुगमन गर्न अनुरोध गरिएको बताए । देशभर १०० देखि १० हजारसम्म ब्वायलर कुखुरा पाल्ने किसान ४५ हजार हाराहारी छन् । अहिले उत्पादन भएको कुखुराको चल्ला किन्दा किसानले रू. ६५ तिरेका थिए । सरदर प्रतिकिलो रू. ३० को दाना खुवाएको उनले जानकारी दिए ।
     
नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घका केन्द्रीय अध्यक्ष जेतनारायण पाण्डेले साना किसान धेरै प्रभावित बनेको बताए । उत्पादन नै बढी हुँदा समस्या भएको उनको भनाइ छ । उत्पादन बढी र खपत कम हुँदा दुई किलो भएका कुखुरा खोरबाट उठाउनुपर्नेमा तीन किलो ५०० ग्रामसम्मका कुखुरा पनि उठ्न नसकेको उनले बताए ।
     
पछिल्लो समय ह्याचरी उद्योगी, विदेशबाट फर्किएका लगायत अन्य व्यवसाय गर्नेहरुले समेत ब्वायलर कुखुरा पालेका कारण उत्पादन बढेको उनको भनाइ छ । बजारको मागलाई ध्यान नै नदिइ कुखुरा पालिएको उनले बताए । होटल, रेष्टुरेन्ट, विद्यालय, क्याम्पस, बजार पूर्णरुपमा नखुल्दा खपत बढ्न नसकेको पाण्डे बताउनुहुन्छ ।     
     
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले अहिले सातामा ३५ लाख ब्वायलर चल्ला उत्पादन हुने गरेको जानकारी दिए । यी सबै चल्ला विक्री भएका छन् । १५ प्रतिशत हाराहारी मरे पनि अरु हुर्किन्छन् । दैनिक ८ लाख ५० हजार किलो मासु उत्पादन हुने गरेको उनको भनाइ छ ।     
     
पोखरेलका अनुसार खपतमा निकै गिरावट आएको छ । काठमाडौंमा दैनिक ५ लाख किलो मासु खपत हुनेमा अहिले झण्डै आधामा झरेको छ । जसले गर्दा मासु विक्री हुन नसक्दा मूल्य नआएको उनको भनाइ छ ।     
     
कुखुराको मूल्य नआएपछि चल्ला राख्न किसान डराएका छन् । जसका कारण चल्लाको मूल्य प्रतिगोटा रू.६५ बाट घटेर रू. २० देखि ३० मा विक्री हुने गरेको उनले जानकारी दिए । भारतमा चल्लाको मूल्य बढी भएपछि यहाँका व्यवसायी भारततर्फ चल्ला पठाउन थालेका छन् । भारतमा प्रतिगोटा भारु ४५ हाराहारीमा विक्री हुने गरेको व्यवसायी बताउछन् ।     
     
नेपालमा झण्डै दुई महीनाअघि जिउँदो ब्वायलर कुखुराको प्रतिकिलो मूल्य रू. २७० रहेको थियो । मूल्य निकै पाएपछि कुखुरा व्यवसायी र अन्य व्यवसाय गर्नेले पनि खाली खोर भाडामा लिएर चल्ला राख्न थालेपछि उत्पादन बढेको हो ।     
     
पछिल्लो समय कुखुराको दानामा प्रयोग हुने मकै र भटमासको मूल्य पनि निकै बढेको छ । रू. २१ प्रतिकिलोको मकै रू. २८ र रू. ६० को भटमास रू. ७० पुगेको पोखरेलको भनाइ छ । जसले गर्दा दानाको मूल्यसमेत बढ्ने र किसान मारमा पर्ने देखिन्छ ।

नाकाबन्दी, भूकम्प, बर्डफ्लू जस्ता समस्याले कारण पोल्ट्री व्यवसायमा समय समयमा नोक्सान पुर्‍याउँदै आएको छ । यस्तो समयमा साना किसान मारमा पर्ने गरेका छन्  । रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्