ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हकप्रद शेयर निष्कासनका लागि ६ ओटा कम्पनी पर्खाइमा

 श्रीराम सुगर मिल्सले तीन वर्षमा पनि स्वीकृति पाएन 

२०७७ असोज, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २७, काठमाडौं । हकप्रद शेयर निष्कासनका लागि ६ ओटा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नागरिक लगानी कोषसहित श्रीराम सुगर मिल्स, अरुणभ्याली हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी, ङादी ग्रुप र बरुण हाइड्रोले बोर्डमा निवेदन दिएका हुन् । 

आवेदन दिएका कम्पनीहरु मध्ये श्रीराम सुगर मिल्सले सबैभन्दा बढी १ बराबर ३ को अनुपातमा हकप्रद निष्कासनको लागि अनुमति मागेको छ । उक्त कम्पनीले आजभन्दा तीन वर्षअघि विसं २०७४ साल वैशाख २८ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।

कम्पनीको हकप्रद निष्कासनको स्वीकृति प्रक्रिया हालपनि प्राथमिक चरणमै रहको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार कम्पनीले हकप्रद निष्कासनका लागि पुरा गर्नुपर्ने मापदण्ड अनुसारका काजगपत्र बुझाई नसकेकाले लामो समयदेखि स्वीकृति पाउन नसकेको हो । श्रीराम सुगर मिल्सले ३०० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति मागेको हो । 

लामो समयदेखि हकप्रद शेयर निष्कासन गर्ने अनुमतिको पर्खाइमा ङादी ग्रुप पावर र बरुण हाइड्रो पनि रहेको छन् । ङादीले विसं २०७५ साल पुस २३ गते ३० प्रतिशत हकप्रद विक्री गर्न बोर्डसँग अनुमति मागेको थियो । त्यस्तै बरुण हाइड्रोले शतप्रतिशत हकप्रद विक्रीको अनुमति माग्दै २०७५ साल जेठ २२ गते बोर्डमा निवेदन दिएको थियो ।

बोर्डले जलविद्युत् कम्पनीहरुले विद्युत् नियमन आयोगको स्वीकृति पश्चात मात्र बोर्डमा पेश भएको निवेदन स्वीकृतिको प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ । बोर्डले २०७६ जेठ ७ गते विद्युत् नियमन आयोगको पूर्व स्वीकृति पेश गर्न ङादी र बरुण हाइड्रोलाई भने पनि हालसम्म यी दुवै कम्पनीले विद्युत् नियमन आयोगको स्वीकृति पाएको कागजात बोर्डमा पेश गरेका छैनन् । 

बोर्डका अनुसार हाइड्रोइलेक्ट्रिसिटी र नागरिक लगानी कोषको हकप्रद स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हाइड्रो इलेक्ट्रिसिटीले विसं २०७६ साल असार ३१ गते शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति मागेको थियो भने नागरिक लगानी कोषले २०७७ भदौ २२ गते १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा हकप्रद विक्री गर्न अनुमति मागेको हो । 

यी वाहेक अरुणभ्याली हाइड्रोले भने असोज २१ गते शतप्रतिशत हकप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवदेन दिएको छ । सूचीकृत कम्पनीहरुले सहज तरिकाले पूँजी संकलन गर्न सकिने हुदाँ हकप्रद शेयरमा जोड दिने गरेका छन् । 

विगतका केहि वर्षहरुमा धितोपत्र बजारमा हकप्रद मार्फत उल्लेख्य मात्रामा शेयर भित्रिएको थियो । सो समयमा हकप्रदकै कारण बजारमा शेयरको आपूर्ति बढी भएको र सोहि अनुपातमा शेयर खरीदको माग सृजना हुन नसक्दा बजारमा नकारात्मक असर परेको टिप्पणी पनि लगानीकर्ताहरुले गरेका छन् ।

पछिल्लो समय भने हकप्रद शेयर निष्कासनमा कमि आएको छ । हाल समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयर विक्रीमा रहेको छ भने नेपाल फाइनान्सले १२५ प्रतिशत हकप्रद शेयर विक्री गर्न असोज १९ गते बोर्डबाट स्वीकृति पाएको छ ।
असोज २७ गतेको आर्थिक अभियान दैनिकको प्रिन्टबाट
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्