ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रसारण लाइनको समस्या

२०७७ असोज, २८  
सम्पादकीय
Image Not Found

वैदेशिक लगानी आकर्षित गर्न सरकारले सडक, बिजुलीजस्ता पूर्वाधार बनाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको पाइन्छ । तर, ७० प्रतिशत वैदेशिक लगानीमा सञ्चालित नेपालकै ठूलो सिमेन्ट उद्योग होड्सी शिवम्ले साढे २ वर्षदेखि विद्युत् नपाउँदा डिजेलबाट सिमेन्ट उत्पादन गर्न बाध्य छ ।

नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चितता हुने हो भने थुप्रै उद्योगले विद्युत् खपत बढाउने र थप उद्योगहरू खोलिने सम्भावना छ ।

डलर तिरेर आयात गरिएको डिजेलको प्रयोगले एकातिर उत्पादन महँगो परेको छ भने अर्कातिर विदेशी मुद्रा बाहिरिएको छ । डिजेल प्रयोग गरी सिमेन्ट उत्पादन गर्दा मासिक रू. २१ करोड खर्च हुँदै आएको छ । यदि विद्युत् प्रयोग गर्न पाएको भए उद्योगको खर्च एक तिहाइ कम हुन्थ्यो । त्यसबाट उत्पादन लागत कम पर्न गई उपभोक्ताले सस्तोमा सिमेन्ट पाउन सक्ने अवस्था आउँथ्यो ।

उद्योगले ५४ मेगावाट विद्युत् माग गरेको थियो । यो भनेको ठूलो परिमाण हो । विद्युत् प्राधिकरणले बिजुली बचत हुन थालेको बताइरहँदा विद्युत् विक्रीका लागि प्रसारण लाइन बनाउन भने चुकिरहेको देखिन्छ । प्रसारण लाइनको अभावमा सिमेन्ट उद्योगमात्रै प्रभावित बनेको होइन, जलविद्युत् प्रवर्द्धकहरू पनि समस्यामा परेका छन् । उत्पादन हुने अवस्थामा पुगेका कतिपय आयोजनाले प्रसारण लाइनको अभावमा बिजुली बेच्न पाएका छैनन् । उनीहरूको लगानीले उचित प्रतिफल पाउन सकेको छैन, जसले गर्दा सेयरको दोस्रो बजारमा समेत यसको मूल्य प्रभावित बनेको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको बर्दघाट–सर्दी प्रसारलाइन समयमा नबन्दा यस्तो समस्या आएको हो । सिमेन्ट उद्योगका लागि नियमित र गुणस्तरीय विद्युत् आवश्यक हुन्छ । तर, प्राधिकरण र वन मन्त्रालयबीच समन्वय हुन नसक्दा रूख कटानको समस्या देखिन्छ भने जग्गा अधिग्रहणमा पनि समस्या छ । यस्तो समस्या सबैजसो प्रसारणलाइनले भोग्नु परेको पाइन्छ । विद्युत् प्राधिकरणले नै कम्पनीमार्फत बनाइरहेको माथिल्लो तामाकोशी आयोजनाबाट केही महीनाभित्रै विद्युत् उत्पादन हुने सम्भावना छ । लक्ष्यअनुसार काम भएको भए ३ वर्षअगाडि नै यो आयोजना सम्पन्न भइसक्थ्यो । तर, अझै पनि यसका लागि आवश्यक प्रसारण लाइन बनेको छैन ।

ऊर्जामन्त्री वर्षमान पुनले आगामी हिउँदसम्ममा माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन हुने र अर्को वर्ष विद्युत् महसुल घटाइने बताएका छन् । तर, यसका लागि प्रसारण लाइन निर्माण उच्च प्राथमिकतामा छ भने पनि त्यसअनुसार काम भएको पाइँदैन । विगत केही वर्षमा विद्युत् उत्पादनका क्षेत्रमा निकै राम्रो प्रगति भएको छ । यसमा प्राधिकरणभन्दा निजीक्षेत्रको उत्पादन बढी देखिएको छ । अहिले कुल विद्युत् आपूर्तिमा निजीक्षेत्रको उत्पादन बढी देखिन्छ । प्रसारण लाइनको समस्या समाधान भएमा थप बिजुली तत्कालै केन्द्रीय प्रसारण लाइनमा जोडिन सक्ने अवस्था छ ।

मागभन्दा आपूर्ति बढ्दै गएपछि विद्युत् बचतको अवस्था सृजना भइसकेको छ । अहिलेको बचत सबै याम र समयमा भएको होइन । केही वर्षमा नै विद्युत् बचत बढ्ने आकलन छ । तर, विद्युत् आपूर्तिको मात्रा बढेसँगै यसको खपत पनि बढ्दो छ । नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चितता हुने हो भने थुप्रै उद्योगले विद्युत् खपत बढाउने र थप उद्योगहरू खोलिने सम्भावना पनि छ । खासगरी सिमेन्ट उद्योगहरूले अहिले क्षमताअनुसार पूरा उत्पादन गरिरहेका छैनन् । उनीहरूले उत्पादन बढाउँदा साथ विद्युत् खपत बढ्ने देखिन्छ ।

केही वर्षयता लोडशेडिङ हटेर विद्युत् आपूर्तिमा ठूलै फड्को मारेको अवस्था छ । त्यस्तै पुराना बक्यौता उठेको र चुहावट कमी भएको तथा प्राधिकरण नाफामा गएको जस्ता विषयले विद्युत्का क्षेत्रमा ठूलै सफलता प्राप्त भएको आकलन सबैले गरेका छन् । तर, प्रसारण लाइन निर्माणमा भने प्राधिकरणले उल्लेख्य उपलब्धि प्राप्त गरेको छैन ।

जहाँजहाँ विवाद भई प्रसारण लाइन निर्माणको काम रोकिएका छन् ती ठाउँका समस्या समाधान गर्न प्राधिकरणले पहल नगरेको जस्तो देखिएको छ । अतः प्रसारण लाइन पनि उत्पादन जत्तिकै महत्त्वपूर्ण हुने भएकाले यस क्षेत्रमा परिणाममुखी कामको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्