ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

७ महीनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

२०७७ असोज, २८  
गण्डकी प्रदेश
NA

पोखरा । कोभिड–१९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ ७ महीनापछि पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्ड पूर्णरूपमा पालना गरेर सञ्चालन गरिएको सञ्चालक राम गुरुङले जानकारी दिए ।

‘अब कोरोनासँग सधैं त्रासमा रहेर भन्दा पनि यसबाट जोगिएर कसरी अगाडि बढ्ने भन्ने सोच्नुपर्छ, सुस्ताएको पर्यटनलाई विस्तारै गति दिएर आर्थिक चलायमान गराउनुको विकल्प छैन,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर क्यानोनिङ खुला गरिएको हो ।’ लामो समय एउटै दिनचर्यामा भएका आन्तरिक पर्यटक जो साहसिक खेलमा रुचि राख्छन्, उनीहरूको चाहनालाई ध्यानमा राखेर क्यानोनिङ खुला गरिएको उनले बताए । क्यानोनिङका लागि आवश्यक उपकरण र स्वास्थ्य सामग्री (मास्क स्यानीटाइजर लगायत)को प्रबन्ध गरेर पूर्ण सुरक्षित वातावरणमा क्यानोनिङ गराइने दाबी उनले गरे । पोखरामा क्यानोनिङ सन् २०१४ देखि सञ्चालनमा आएको हो । पोखराको हरिचोकबाट करीब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरामा क्यानोनिङका लागि दुईओटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन् ।

पहिलो पटक क्यानोनिङ गर्न चाहनेका लागि प्रारम्भिक रूपमा डेमो देखाउने, सिकाउने प्रबन्धसमेत गरिएको छ । त्यसका लागि सातजना गाइड तैनाथ अवस्थामा रहेको गुरुङले बताए । उनका अनुसार कोभिड–१९ अघि वार्षिक ३ हजार जनाले क्यानोनिङको अनुभव लिने गरेका थिए ।

क्यानोनिङका लागि तीन तहका प्याकेज रहेको गुरुङले जानकारी दिए, जसअनुसार क्यानोनिङ मात्र, ‘डे ट्रिप’ र ‘ओभर नाइट ट्रिप’ गरेर रू. २ हजार ४०० देखि रू. ४ हजार ९०० सम्म शुल्क तोकिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर ११० नयाँ पर्यटकीयस्थल सार्वजनिक गरेको छ भने साहासिक पर्यटकीय गन्तव्यलाई समेत सूचीकृत गरेको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्