ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रयोगमा आउन सकेन अल्लो प्रशोधन मेशिन

२०७७ असोज, २८  
गण्डकी प्रदेश
NA
author avatar रोशन तिवारी

पर्वत । अल्लो उद्योगमा नयाँ प्रविधिको प्रयोग गर्न खोजिए पनि पर्वतको एक गाउँमा भने सफल हुन सकेको छैन । जिल्लाको मोदी गाउँपालिका–३ देउरालीमा आधुनिक प्रविधियुक्त मेशिन उपलब्ध गराइए पनि महिलाहरूमा सञ्चालनको शीप नहुँदा प्रयोगमा ल्याउन नसकिएको हो । गतवर्ष पोखरा विश्वविद्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा अल्लो प्रशोधनका लागि स्थानीय उद्यमीलाई उक्त मेशिन उपलब्ध गराइएको थियो ।

अल्लो प्रशोधन गर्दा समय र श्रमको बचत गर्ने उद्देश्यले जडान गरिएको प्रविधि प्रयोग गर्न समस्या भएको भन्दै स्थानीयले उक्त प्रविधि प्रयोग गर्न छाडेको वडाध्यक्ष देवेन्द्रहादुर क्षेत्रीले जानकारी दिए । भूमेप्रसाद डल्लु सामुदायिक अल्लो उद्योगमा उक्त प्रविधिको जडान गरिएको छ ।

पोखरा विश्वविद्यालय र कोरियाको ह्यान्डङ ग्लोबल युनिर्भसिटीको साझेदारीमा सञ्चालित नेपाल इन्नोभेसन टेक्नोलोजी एण्ड इन्टरप्राइजेज सेन्टरको सहयोगमा उक्त प्रविधि जडान गरिएको हो । मेशिन जडान गरेको २ वर्षमा अहिले मेशिन खिया लागेका छन् भने प्रयोग नभएर ती मेशिनहरू थन्किएका छन् ।

नेपाल र कोरियाबीचको खोज र अनुसन्धानबीचको सहकार्य बमोजिम उक्त प्रविधि परीक्षणको रूपमा जडान गरिएको थियो । मेशिन चलाउन नजानेपछि पुरानै प्रविधिको प्रयोग गर्दै आएको उद्यमी रनमाया पुनले सुनाइन् । ‘मेशिन प्रयोग गर्न असहज भएको छ,’ उनले भनिन्, ‘पुरानै विधि सजिलो भएपछि मेशिन नै चलेको छैन ।’ अल्लो प्रशोधन गरी धुने मेशिन प्रयोग गर्दा पानीको समस्या परेको पनि पुनले बताइन् । अल्लो प्रशोधन गर्दा अल्लो पिट्ने मेशिनमा पनि ठूलो आवाज आएकाले त्यो पनि प्रयोगविहीन भएको उनको भनाइ छ ।

अल्लो उद्यमी जसमाया पुनका अनुसार अल्लो वनबाट खोजेर ल्याएपछि पकाउने, धुने र घाममा सुकाउने गरिन्छ । घाममा सुकेपछि यसबाट रेसा निकालिन्छ, जुन कपडा बनाउन तयार हुन्छ ।

नेपालमा प्रशोधित अल्लोबाट उत्पादित कपडाको बजार पछिल्लो समय फस्टाउँदै गएको छ । पर्वतका देउराली, क्याङ, शालिजा, लेकफाँट लगायत स्थानमा लघु घरेलु उद्यमीले व्यावसायिक रूपमा अल्लो प्रशोधन गर्दै आएका छन् ।  स्थानीय महिलाहरू यससम्बन्धी उद्योग खोलेर आत्मनिर्भर भएका छन् । तर, यी हालसम्म पनि उनीहरूले घरेलु प्रविधि नै प्रयोग गर्दै आएका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्