ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्सामा १० प्रतिशत धानबालीमा कीराको प्रकोप

२०७७ असोज, २८  
प्रदेश ०२
NA

वीरगञ्ज । लामो समयदेखि युरिया मलको अभाव खेपिरहेका पर्साका किसानले यस वर्ष लगाएको १० प्रतिशत धानबालीमा रोग र कीराको प्रकोप देखिएको छ । जिल्लाको ग्रामीण भेगमा लहलहाउँदो धानको बाला देखेर हर्षित किसान युरिया मलको अभाव हुँदा धानमा बाला लाग्ने समयमा गबारो, फड्के र घोक्रे कीराको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादन घट्ने किसान विजय पण्डितले बताए ।

बारा जिल्ला, गडहल गाउँमा २२ कठ्ठा जग्गामा धानखेती गर्दै आएका किसान पण्डितले कीराको प्रकोपका कारण धान सुकेर पहेँलो देखिएकाले यस वर्ष धान उत्पादनमा कमी आउने चिन्ताले सताएको बताए ।

पर्सा जिल्लाका किसानले भारतीय तथा सिफारिश गरिएको धान लगाएकाले कीराको बढी प्रकोप भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए । रोगका कारण धान फले पनि दाना नलागेको, पात पहेँलो देखिएको जस्ता लक्षणको कारण यसपालि यस्तो समस्या आएको र रोग नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

रोग र कीराको प्रकोपका कारण धानको बालामा दाना नलाग्ने, बोट कुहिने र पात पहेँलो भएर सुक्ने समस्या देखिएको छ । पर्सामा यस वर्ष किसानले ४६ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरेका छन् ।  

यसैबीच धानखेतीलाई अत्यावश्यक युरिया मलको तीन महीनादेखि अभाव देखिए पनि कात्तिक मसान्तभित्र आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले बताएको छ । सरकारी स्वामित्वमा रहेको सो कम्पनीले बंगलादेशबाट सापटीमा नेपाल सरकारले ल्याउन लागेको ५० हजार मेट्रिक टन युरिया ढुवानीका लागि बोलपत्र स्वीकृति भइसकेकाले कात्तिकभित्र आइपुग्ने प्रादेशिक कार्यालय प्रबन्धक गोरखनाथ केसीले बताए । बंगलादेशबाट नेपालका लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार आउनेछ उनको भनाइ छ ।    

चालू आर्थिक वर्षको साउनदेखि युरिया मलको अभावको कारण धानखेतीमा रोग कीरा लाग्न थालेको किसानको भनाइ छ ।  सो कार्यालयले धानखेतीलाई लक्ष्य गरी जिल्लामा असारसम्म युरिया मल विक्री गरेको थियो । तर मल सकिएकाले सोको अभाव भएको हो । कार्यालयले प्राप्त गरेको मल प्रदेश नं २, बाग्मती र गण्डकीका १६ कार्यालयमा पठाउँदै आएको छ । यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७६। ७७ मा युरिया ६ हजार टन, डीएपी ६ हजार टन र पोटास ७०० टन विक्री गरेको छ ।

गत पुसमा मल ल्याउने ठेक्का पाएका शैलुङ इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरियाको अभाव देखिएको हो । मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले सात दिनको समय राखेर बोलपत्र आह्वान गरिसकेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्