ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कालीगण्डकी कोरिडोरको काम अघि बढ्यो

२०७७ असोज, २८  
गण्डकी प्रदेश
Image Not Found

नवलपुर । कोभिड–१९ महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी कोरिडोर निर्माण अघि बढेको छ । नेपालको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटदेखि पाल्पासम्मको सडकखण्ड निर्माणको काम पुनः सुचारु गरिएको निर्माण कम्पनी आशिस निर्माण सेवाले बताएको छ ।

‘कोरोनाको संक्रमणको उच्च जोखिमका कारण चैतदेखि करिब सात महिनासम्म आयोजना नै ठप्प हुन पुग्यो,’ कम्पनीका साइट इन्चार्ज कपिल गौलीले भने, ‘कोरोना महामारीका कारण सबै कामदार घर जाँदा काम ठप्प भएको थियो, अहिले केही कामदार ल्याएर निर्माणको काम पुनः थालेका छौं ।’ कोरोना जोखिमका कारण काम गर्न असहज परिस्थिति सृजना भएको भए पनि अब दशैंलगत्तै कोरिडोर निर्माणको कामले तीव्रता पाउने गौलीले बताए ।

उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी कोरिडोर)अन्तर्गत अर्गली–रामपुर (पाल्प)–गैंडाकोट १३२ किमी, रिडी–गुल्मी–बाग्लुङ ८८ किमी, बाग्लुङ–बेनी–जोमसोम ८७ किमी, जोमसोम–कोरला १०५ किमी पर्छ । रू. ५ अर्ब ४७ करोडको लागतमा निर्माण शुरू भएको कालीगण्डकी कोरिडोरको गैंडाकोटदेखि पाल्पाको राम्दीसम्म १३२ किलोमिटरको काम अगाडि बढेको गौलीले बताए । निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले नेपालको गौली ग्रूप र आशिष निर्माण सेवालाई सडक निर्माणको लागि पेटी ठेक्का दिएको थियो ।     

पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटस्थित कालीगण्डकी चोकदेखि पाल्पा पिपलडाँडा राम्दीसम्मको १३२ किलोमिटर सडकको चौडाइ ११ मिटरको हुनेछ । निर्माण पक्षका साइट इन्चार्ज गौलीका अनुसार सो सडकमा सात मिटर कालोपत्र, एक÷एक मिटरको किनार तथा एक÷एक मिटरको नाला रहनेछ । ट्र्याक निर्माण सकिएको कोरिडोरको कालोपत्रको काम गत वैशाखबाट शुरू गर्ने तयारी गरिएको भए पनि कोभिड त्रासका कारण काम रोकिँदा एक वर्षपछि धकेलिएको आयोजनाले बताएको छ ।     

‘आगामी २०७८ सालको वैशाखदेखि उक्त सडकखण्डमा कालोपत्रको काम शुरू गर्नेगरी अन्य कामलाई तीव्रता दिँदैछौं,’ गौलीले भने, ‘अहिले पाल्पाबाट काम गर्दै गैंडाकोटतर्फ आएका छौं, सो सडकको ८५ किलोमिटर सडक फराकिलो पार्ने काम सकिएको छ ।’ कालीगण्डकी कोरिडोरअन्तर्गत पाल्पा–गैंडाकोट सडकखण्डलाई चारओटा खण्ड बनाएर निर्माणको काम भइरहेको छ । गैंडाकोटबाहेकको अन्य खण्डमा पहाड काट्ने तथा भर्ने काम भइरहेको उनले जानकारी दिए । कालीगण्डकी कोरिडोरको पाल्पा–गैंडाकोट खण्डलाई गैंडाकोटको कालीगण्डकी चोकबाट बुलिङटारको थामबेँशी, थामबेँशीबाट भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारबाट पाल्पा रामपुरको पिपलडाँडा गरी चार खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको निर्माण कम्पनीले बताएको छ । २०७५ मङ्सिर १७ गतेदेखि शुरू गरिएको गैंडाकोट पाल्पा खण्डको निर्माण २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यद्यपि कोभिड संक्रमणका कारण काम ठप्प भएपछि आयोजनाको काम साढे १ वर्ष पछाडि धकेलिने आयोजनाले बताएको छ ।

यस कोरिडोरको गैंडाकोट–पाल्पा सडकखण्डमा ३२ ओटा पुल निर्माण अन्तिम चरणमा पुगेका कालीगण्डकी कोरिडोर निर्माण आयोजनाका सब–इञ्जिनियर पदम अधिकारीले
बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्