ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बाँदर धपाउने ‘बन्दुक’ पाएपछि कृषकले जोगाए बाली

२०७७ असोज, २८  
गण्डकी प्रदेश
Image Not Found
author avatar अर्जुन कार्की

बागलुङ । विगतका वर्षहरूमा बाँदरले बाली खाएर मर्कामा परेका बागलुङ काठेखोला गाउँपालिकाका कृषकले यस वर्ष भने उक्त समस्या भोग्नुपरेन । गाउँपालिकाले बाँदर धमाउने बन्दुक (मंकी एयर गन) वितरण गरेपछि विगतका वर्षमा भन्दा यस वर्ष किसानले धेरै बाली भित्र्याएका छन् ।

‘विगतका वर्षहरूमा मकै लगायत खाद्यबाली बाँदरले खाइदिने गर्दा धपाउन दैनिक खेतबारीमा धाउनुपथ्र्यो,’ काठेखोला–६ का कृषक बालानन्द कँडेलले भने, ‘गाउँपालिकाले उक्त उपकरण प्रदान गरेपछि समस्या समाधान भएको छ ।’

किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि गाउँपालिकाले यूपीभीसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो । ‘कारबाइड’ र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किँदा बाँदर भाग्ने गरेको उनले बताए । एकपटक पड्काएपछि एक दुई दिनसम्म बाँदर नआउने भएकोले समयको बचत भएको र खेती जोगाउन सकिएको उनले बताए ।

गाउँपालिकाले असार २१ गते बाँदर धपाउने २६ ओटा उपकरण खरीद गरी गाउँपालिकाका आठओटै वडाका कृषकलाई उपलब्ध गराएको थियो । ‘पहिले खेती जोगाउन धेरै गाह्रो हुन्थ्यो, तर यस वर्ष सजिलो भयो,’ कृषक कँडेलले भने, ‘पहिले पहिले बाँदरलाई धपाउन जाँदा उल्टै आक्रमण गर्ने गर्दा मानवीय क्षति हुने खतरा बढिरहेको थियो । तर अहिले बन्दुक भिरेको देखे पनि भाग्ने गरेको छ ।’

गाउँपालिकाले उपलब्ध गराएको उपकरणको कारण यस वर्ष धेरै खेती जोगिएको काठेखोला गाउँपालिका–२ भीमापोखराका कृषक कान्तालाल जैसीले बताए । ‘गतवर्षमा बाँदरको कारण लगानी अनुसारको खेती घर भिœयाउन पाएका थिएनौं,’ उनले भने, ‘गाउँपालिकाले बन्दुक उपलब्ध गराएपछि ६० प्रतिशत खेती जोगाउन सफल भएका छौं ।’

बन्दुक पड्काए पनि एक ठाउँबाट अर्को ठाउँमा जाने भएकाले सिमाना जोडिएका समुदायले मिलेर बादर भगाउनुपर्ने अवस्था रहेको कृृषकहरूले बताएका छन् । काठेखोला गाउँपालिकामा बाँदरको कारण कृषकले वर्षेनि हैरानी खेपिरहनुपर्ने अवस्था रहेकोले त्यसको अन्त्यका लागि गाउँपालिकाले नेपालमै विकास भएको बाँदर धपाउने प्लाष्टिक बम खरीद गरी वितरण गरेको अध्यक्ष अमर थापाले बताए । ‘बाँदरका कारण खाद्यान्न, तरकारी, फलपूmल बालीमा समेत क्षति पुग्दै आएको भन्दै किसानले गुनासो गरेपछि गाउँपालिकाले समस्याको सम्बोधन गरेको हो,’ उनले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्