ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आलु जोनमै आलुको संकट

२०७७ असोज, २८  
गण्डकी प्रदेश
Image Not Found

गलकोट । बागलुङमा यसपटक आलुको जोनको रूपमा पहिचान गरिएका ठाउँमा नै उत्पादनमा ह्रास आएको छ । उत्पादन घटेपछि अहिले आलुको जोनमै आलु पाउन मुश्किल भएको स्थानीयले बताएका छन् ।

बागलुङको ताराखोला, ढोरपाटनलगायत क्षेत्र आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ । जिल्लाको अधिकांश दुर्गम तथा उच्च पहाडी भेगमा आलु निकै स्वादिष्ट मानिने भएकाले बजार माग उच्च छ । बागलुङमा ६ ओटा आलुका जोन क्षेत्र छन्, जसमध्ये ताराखोला र ढोरपाटनको आलु नेपालभर प्रख्यात छ । तर यस वर्ष आलु उत्पादनमा ठूलो कमी आएपछि आलु जोन क्षेत्रका रूपमा रहेका ढोरपाटन, ताराखोला, तमानखोला, बडिगाड र पाण्डवखानीमै आलुको अभाव भएको किसानले गुनासो गरेका छन् ।

यस वर्ष अत्यधिक वर्षात्का कारण आलु उत्पादनमा ६० प्रतिशतभन्दा बढी ह्रास आएकाले आलु जोन क्षेत्रमै आलुको अभाव भएको ताराखोला–५ का किसान भक्तप्रसाद बुढाले जानकारी दिए । ‘आलु उत्पादन नहुँदै ४ लाख पेश्की बुझेको थिएँ,’ उनले भने, ‘आलु नफल्दा आधा रकम फिर्ता गरिदिएँ ।’ उनका अनुसार अहिले त घरमा तरकारी खाने आलुसमेत छैन । ताराखोलाका किसानलाई आलु व्यापारीले आलु नफल्दै पेश्कीस्वरूप नगद अथवा खाद्यान्न सामग्री उपलब्ध गराउँदै आए पनि यस वर्ष आलु उत्पादन नभएकाले आलुको बीउ मात्रै जोगाइएको उनको भनाइ छ ।

बूढाजस्तै ताराखोलाका सयौं किसानले विक्री गर्नेभन्दा पनि घरमै खाने आलु नभएको गुनासो गरेका छन् । अत्यधिक वर्षात्का कारण आलु उत्पादन नभएपछि आलुको जोन क्षेत्रका रूपमा रहेको ताराखोलासहित बागलुङका अन्य क्षेत्रका किसान ठूलो मारमा परेको कृषि ज्ञान केन्द्र पर्वतले बताएको छ ।

अहिले बागलुङमा आलु उत्पादन खस्किएपछि प्रतिकिलो आलुको खुद्रा मूल्य रू. १०० परेको बागलुङ बजारका आलु व्यापारी ऋषिराम जैशीले बताए । जिल्लामा उत्पादन हुने आलु यस वर्ष उत्पादनमा ह्वात्तै कमी आएपछि अन्य जिल्लाबाट आलु मगाएर विक्री गर्दा बढी मूल्य पर्न गएको उनको भनाइ छ । आलुको बीउसमेत बचाउन मुश्किल भएको ढोरपाटनका आलु कृषक जीवनकुमार पुनले बताए । धेरैले व्यावसायिक रूपमा आलुखेती गर्दै आए पनि आफूले परिवारका लागि मात्र तीन रोपनी जग्गामा आलुखेती गरेको र यस वर्ष मकैको दानाजस्तो आलु फलेकाले समस्यामा परेको स्थानीय चकबहादुर अदैले बताए ।

यस्तै आलुको जोन क्षेत्रमा रहेको गलकोट नगरपालिका–१० पाण्डवखानीमा समेत आलु पाउनै कठिनाइ भएको स्थानीय रेशम रानाले बताए । आलुको ६ ओटा जोनबाहेक काठेखोला गाउँपालिकाको धम्जा र गलकोट नगरपालिका–८ मिलनचोकलाई आलुको पकेट क्षेत्रका रूपमा लिइएको छ । कृषि ज्ञान केन्द्र पर्वतका सूचना विश्वास काफ्लेले पनि यस वर्ष आलु उत्पादनमा अनपेक्षित कमी आएको बताए । ‘यो वर्ष पूर्व अनुमान गरिएभन्दा अत्यधिक वर्षा भयो, जसका कारणले आलु हुर्कन र फल लाग्नेमा समस्या देखियो,’ काफ्लेले भने, ‘जसकारण बागलुङका आलु जोनमै ६० प्रतिशतभन्दा बढी आलु उत्पादन घटेको छ ।’ अहिलेको समस्यामा किसानलाई कसरी राहत अनुदान दिने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । आलुको जोन हुन ५०० हेक्टरमा आलुखेती गरेको हुनुपर्छ । यस्तै पकेट क्षेत्रका लाग १० हेक्टर जमीनमा आलुखेती गरेको हुनुपर्ने व्यवस्था छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्