ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भोजपुरको चुहारमा पक्की पुलको शिलान्यास

२०७७ असोज, २८  
प्रदेश ०१
Image Not Found
author avatar गणेश विष्ट

भोजपुर । भोजपुरको हतुवागढी–९ हसनपुर चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैली जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ । प्रदेश–१ सरकारको रू. २१ करोड २३ लाख १२ हजार ४०७ रुपैयाँ लागतमा दूधकोशी नदीमाथि बन्ने पुलको सोमवार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका हुन् ।

मोटरेबल पुल नहुँदा लामो समयदेखि सास्ती भोग्दै आएका स्थानीयवासी प्रदेश–१ सरकारको लगानीमा निर्माण गरिने भएपछि उत्साहित बनेका छन् । पुल निर्माणले हतुवागढीसँगै समग्र जिल्लाकै  विकार र समृद्धिमा टेवा पुग्ने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।

पुल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री राईले संघीयताको उपहार नै विकास रहेको बताए । संघीयताका कारण विकासका योजना सञ्चालन गर्न सहज भएको भन्दै उनले संघीयताको सुन्दर उपहार नै विकास रहेको धरणा राखे । जिल्लाको विकासका लागि प्राथमिकताको आधारमा काम भइरहेको उनले बताए । मुख्य सडकको विस्तार गर्दै जिल्लाभित्र तथा अन्य जिल्लासँग जोडिएका सबै नदी तथा खोलामा पक्की पुल निर्माण गरिने जानकारी उनले दिए । दुधकोशीको पुलले दुवै जिल्लाको समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ । यसको निर्माण अवधि २४ महीना भए पनि आफूले निर्माण व्यवसायीलाई तोकिएको समयअगावै सक्न भनेको उनले बताए ।

प्रदेश सरकारले ठूला नदीमा बनाउन लागेको यो पहिलो पुल रहेको पूर्वाधार विकास कार्यालय, भोजपुरले बताएको छ । पुल निर्माण गुणस्तरीय बनाउन र समयमै सम्पन्न गराउन कार्यालयको तर्फबाट नियमित अनुगमन हुने कार्यालय प्रमुख राजनराज रेड्डीले बताए । कालिका प्यासिफिक जेभीले निर्माण गर्न लागेको उक्त पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर रहने प्रदेश–१ भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशानालयले जानकारी दिएको छ । पुल निर्माण तोकिएको समय अघि नै सम्पन्न गर्ने लक्ष्यसहित काम गराइने स्थायी सडक पुल कार्यक्रम संयोजक मंकेश्वर ठाकुरले बताए ।

भोजपुर सदरमुकामबाट दुधकोशी पुलसम्म लम्बाइ करीब ६५ किलोमिटर छ । भूकम्पप्रतिरोधी हुने उक्त पुल ५० देखि ८० वर्ष टिकाउ हुनेगरी डिजाइन गरिएकोे बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्