ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आधुनिक दासता न्यूनीकरणमा बैंकहरूको भूमिका

कोभिड–१९ दासता बढाउने अवसर र बाध्यता

२०७७ असोज, २८  
लेख | दृष्टिकोण
Image Not Found

आधुनिक दासता प्रत्यक्ष रूपमा वित्तीय अपराध नभए पनि अन्य अपराधझैं यो अपराध पनि वित्तीय स्वार्थपूर्तिका लागि नै हुने भएकाले यसको न्यूनीकरणका लागि विश्वभर नै बैंक तथा वित्तीय संस्थाहरूको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापविरुद्ध जसरी विश्वव्यापी रूपमा बैंकहरू सशक्त रूपमा ‘पहरेदार’को भूमिका निर्वाह गरिरहेका छन् त्यसै गरी उनीहरूकै काँधमा ‘आधुनिक दासताविरुद्ध’ खबरदारी गर्ने हतियार पनि थमाइएको छ ।

हुन पनि कुनै पनि प्रकारको अपराध पहिचानको प्रारम्भिक विन्दुका रूपमा वित्तीय अनुसन्धान जासूसी संयन्त्र नै प्रभावकारी हुँदै आएको छ । यसो हुनुको कारण जुनसुकै प्रकारको अपराधको अन्तिम ध्येय अर्थसँग गाँसिने र अर्थसँग सम्बद्ध कारोबारको केन्द्र बैंक तथा वित्तीय संस्थाहरू नै हुने भएकाले सबै खाले अपराधको पहिचान यसै क्षेत्रबाट सहजतापूर्वक हुनुलाई स्वाभाविक नै मान्न सकिन्छ ।

बैंकहरूले आफ्नो बैंकमा हुने कारोबारहरूको विश्लेषण गरी आफूलाई शंकास्पद लागेका करोबारहरू सम्बद्ध वित्तीय जानकारी एकाइसमक्ष प्रतिवेदनका रूपमा पेश गर्नुपर्ने अन्तरराष्ट्रिय बाध्यकारी व्यवस्थाले गर्दा पनि आधुनिक दासताविरुद्धको लडाइँमा बैंकहरू प्रत्यक्ष रूपमा कानून कार्यान्वयन गर्ने निकायहरूका लागि सशक्त सहयोगीको भूमिका निर्वाह गरिरहेका देखिन्छन् ।

यो सानो आलेखमा कसरी विश्वभर बैंक तथा वित्तीय संस्थाले उनीहरूले पाएको यो जिम्मेवारीलाई निर्वाह गरिरहेका छन् भन्नेबारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
त्यसभन्दा पहिला आधुनिक दासताका बारेमा संक्षेपमा चर्चा गरौं :

परम्परागत रूपमा मानव बेचबिखनदेखि लिएर अवैध र जबर्जस्ती रूपमा श्रममा लगाइएका श्रमिकहरूलाई दासको अर्थमा बुझ्ने गरिन्थ्यो भने आधुनिक दासताले चाहिँ बृहद् दायरालाई समेटेको छ ।

संयुक्त राष्ट्रसंघीय लागू पदार्थ तथा अपराध नियन्त्रण गर्ने कार्यालय (यूएनओडीसी)ले आधुनिक दासताका लागि विश्वव्यापी रूपमा सबैले स्वीकारेको एकै प्रकारको परिभाषा छैन भने तापनि व्यावसायिक तथा व्यक्तिगत स्वार्थका लागि मानिसहरूमाथि गरिने शारीरिक, मानसिक, आर्थिक तथा बौद्धिक ‘शोषण’समेत आधुनिक दासताको परिभाषाले समेटेको मानिन्छ । र, महत्त्वपूर्ण कुरा आधुनिक दासतालाई समेत अपराधकै रूपमा लिने गरिएको छ ।

यही विस्तारित परिभाषाका आधारमा कतिपयले अहिलेका ठूलाठूला कर्पोरेट क्षेत्रहरूमा रहेका जनशक्तिहरू सो क्षेत्रले उपलब्ध गराएको उच्च पारिश्रमिक वा सहुलियत, सेवासुविधा वा ऋण वा अन्य यस्तै विविध कारणले गर्दा आप्mनो आधारभूत स्वतन्त्रताप्रति सम्झौता गर्न बाध्य हुनुपर्ने परिस्थितिसमेतलाई आधुनिक दासताकै एउटा स्वरूपका रूपमा परिभाषित गरेका छन् ।

यही बृहद् दायरामा समेटिएको यसको परिभाषाले अहिले विश्वमा करीब ४ करोड मानिसलाई आधुनिक दासका रूपमा औंल्याएको छ । त्यसमध्ये एक चौथाइ बालबालिका र त्यसमध्ये पनि करीब ७० प्रतिशतजति बालिकाहरू रहेको बताइन्छ ।

अन्तरराष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको एक तथ्यांकअनुसार दासतासम्बन्धी अवैध कार्यबाट अपराधीहरूले विश्वभरमा १ वर्षमा करीब डेढ खर्ब डलरजति आर्जन गर्ने गर्छन् । त्यसमध्ये जबर्जस्ती वेश्यावृत्तिबाट गरिने आर्जन मात्र करीब ९९ अर्ब रहेको र त्यसपछि निर्माण तथा उत्पादनसँग सम्बद्ध क्षेत्रबाट ३४ अर्ब डलरको आर्जन हुने रहेछ । डेढ खर्बमध्ये बाँकी रकम भने कृषि तथा अन्य घरेलु श्रमिकबाट शोषण–आर्जन हुने गरेको उसको तथ्यांक छ ।

अब बैंकहरूको भूमिकाका बारेमा चर्चा गरौं :
विश्वका विभिन्न मुलुकमा भएका वित्तीय जानकारी एकाइहरूलाई त्यहाँका बैंकहरूले पेश गरेका शंकास्पद गतिविधिसम्बन्धी प्रतिवेदन केलाउने हो भने मात्र पनि बैंकहरूले आधुनिक दासता न्यूनीकरणको दिशामा कसरी सकारात्मक योगदान पुर्‍याइरहेका छन् भन्ने स्पष्टसँग देख्न सकिन्छ । गतवर्ष अमेरिकामा मात्र पेश गरिएका यस्ता शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी करीब २३ लाख प्रतिवेदनमध्ये ४ हजारभन्दा बढी आधुनिक दासतासम्बन्धी प्रतिवेदन भएबाट कानून कार्यान्वयन गर्ने निकायहरूलाई आधुनिक दासता न्यूनीकरण गर्ने अभियानमा बैंकहरूले यथेष्ट मद्दत पुर्‍याएको दर्शाउँछ । अझ अगाडि बढेर हेर्ने हो भने यो प्रक्रियालाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यले अहिले संसारभर नै बैंकिङ जगत्मा आधुनिक दासताविरुद्ध स्पष्ट नीति तथा कार्यक्रम बनाएर लागू गर्नुपर्ने नियामकीय निर्देशन नै पनि कायम छ ।

बैंकहरूले अवलम्बन गर्ने ग्राहक पहिचान पद्धतिले आधुनिक दासता पहिचान गर्न आंशिक रूपमा मात्र मद्दत गर्ने भएकाले बैंकहरूसँग ग्राहकको कारोबार विश्लेषण गर्ने संयन्त्र हुनु आवश्यक हुन्छ । माथि नै भनिएझैं सबै प्रकारका दासताजस्ता अपराधको अन्तिम उद्देश्य वित्तीय स्वार्थ नै हुने भएकाले बैंकहरूमा हुने विभिन्न प्रकारका कारोबारलाई कृत्रिम प्रज्ञा वा प्राविधिक उपकरणमार्फत गरिने उचित विश्लेषणका माध्यमबाट धेरै प्रकारका आधुनिक दासता पहिचान गर्न सकिने विश्वास गरिन्छ ।

आधुनिक दासताका शोषकहरूले श्रम शक्ति आपूर्ति गर्दा लिने शुल्क, उनीहरूको पारिश्रमिक भुक्तानीजस्ता बैंकमा गर्ने कारोबारले यस्तो दासतालाई इंगित गर्न केही मात्रामा भए पनि योगदान गर्छ । ठीक त्यसै गरी क्रेडिट कार्ड, एटीएम तथा बैंक खाताहरूमा हुने कारोबारहरूको सूक्ष्म निगरानी तथा विश्लेषणले पनि आधुनिक दासताको पहिचानलाई थप सहज बनाइरहेको हुन्छ ।

नेपालमा अवैध भए पनि फाट्टफुट्ट रूपमा सञ्चालनमा रहेको र विश्वका धेरै देशमा वैध रूपमा नै सञ्चालनमा रहेका ‘बिटक्वाइन’ जस्ता प्रच्छन्न मुद्रा (क्रिप्टोकरेन्सी)हरू पनि अहिले यस्ता मानव बेचबिखनजस्ता आधुनिक दासताका वित्तीय साधनहरूका रूपमा दुरुपयोग भइरहेको कुरा अन्तरराष्ट्रिय श्रम संगठन तथा एफएटीएफजस्ता अन्तरराष्ट्रिय निकायहरूले बताउँदै आएका छन् । त्यसैले परम्परागत बैंकिङ कारोबारहरू सँगसँगै आधुनिक विकसित डिजिटल कारोबारहरूको सूक्ष्म विश्लेषण पनि आधुनिक दासता पहिचान तथा न्यूनीकरणका लागि अपरिहार्य देखिन आउँछ । बैंकहरूले आफ्नो बैंकमा हुने कारोबारहरूको विश्लेषण गरी आफूलाई शंकास्पद लागेका करोबारहरू सम्बद्ध वित्तीय जानकारी एकाइसमक्ष प्रतिवेदनका रूपमा पेश गर्नुपर्ने अन्तरराष्ट्रिय बाध्यकारी व्यवस्थाले गर्दा पनि आधुनिक दासताविरुद्धको लडाइँमा बैंकहरू प्रत्यक्ष रूपमा कानून कार्यान्वयन गर्ने निकायहरूका लागि सशक्त सहयोगीको भूमिका निर्वाह गरिरहेका देखिन्छन् । यसरी निजी तथा सरकारी सूचना आदानप्रदान गर्ने परिपाटीले आधुनिक दासता न्यूनीकरणमा प्रभावकारी उपकरणका रूपमा काम गर्ने कुरा कतिपय घटनाक्रमले पुष्टि गरिसकेको विषय हो ।

यसरी बैंकहरूले विभिन्न कृत्रिम प्रज्ञायुक्त प्रविधिको प्रयोग गरेर, कारोबारहरूको सूक्ष्म विश्लेषण गरेर, सरकारी तथा गैरसरकारी निकायहरूसँग सूचना आदानप्रदान तथा समन्वय गरेर, कानून कार्यान्वयन गर्ने निकायहरूसँग सहकार्य गरेर, अपराधीहरूको अभिलेखीकरण गर्दै निरन्तर निगरानी गरेर तथा अपराधसँग सम्बद्ध संकेत सूचनाहरूको विश्लेषण गरेर आधुनिक दासताविरुद्ध सशक्त र प्रभावकारी योगदान दिइरहेका छन् । बैंकहरूको यस्तो योगदान र प्रभावकारी भूमिका रहँदारहँदै पनि अहिले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीले भने कतिपयका लागि आधुनिक दास बनाउने अवसर प्रदान गरिरहेको छ भने कतिपयलाई दास बन्न बाध्य बनाइरहेको छ । यस्तो परिस्थितिमा आधुनिक दासताविरुद्धको लडाइँ निरन्तर जारी रहने देखिन्छ ।

लेखक बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्