ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

केराले सहज बजार पाएपछि कैलालीका किसान खुशी    

२०७७ असोज, २८  
सुदूरपश्चिम प्रदेश
Image Not Found

असोज २८, टीकापुर । लकडाउनमा उत्पादित केरा विक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन् । लामो समय बजार बन्द हुँदा बारीमै केरा सडाएका किसान बजार खुलेपछि धमाधम केरा बजार पठाउन थालेका हुन् ।

टीकापुरबाट दैनिक १० ट्रकसम्म केरा अन्य जिल्लामा जाने गरेको छ । भारतीय केरा नेपाली बजारमा आउन नपाएपछि नेपाली केराले राम्रो बजार पाएको केरा व्यवसायी बताउँछन् ।     
     
‘यो समय राम्रो केरा उत्पादन हुने समय हो । यतिखेर केराले बजार पाएमा किसानले राम्रो आम्दानी लिन सक्छन्’, केरा व्यवसायी शेरबहादुर साउदले भने, ‘लकडाउनको पाँच महीना घाटा भयो । त्यो घाटा अहिले पूर्ति गर्ने सोचले हामी ढुक्क भएका छौं । अहिले केरा धमाधम गइरहेको छ  ।’
     
अघिल्ला वर्षजस्तो व्यापार नभए पनि अहिलेको अवस्थाअनुसार राम्रै व्यापार भइरहेको साउदले बताए । ‘विगतमा भारतीय केराले बजार ढाक्थ्यो, हाम्रो उत्पादनले मूल्य पाउन कठिन हुन्थ्यो’ साउदले भने, ‘यस वर्ष बजार पनि पाइएको छ र मूल्य पनि पाउन सहज भएको छ । सबै बजार नेपाली केराले ओगटेको छ ।’     
     
अहिले केरा व्यवसायीको बारीबाटै प्रतिदर्जन रू. ३५ देखि ४० मा र किलोका हिसाबमा विक्री गर्ने व्यवसायीले प्रतिकिलो रू. २० देखि २४ मा काँचो केरा बेचिरहेका छन् । आफूले सोचेअनुसार केराको व्यापार गर्न नसके पनि अहिलेको समयअनुसार यो मूल्य राम्रै भएको अर्का केरा व्यवसायी नेपबहादुर चौधरीले बताए ।

‘लकडाउनको समयमा मैले पनि लाखौंको घाटा व्यहोरे, पाकेका केरा बारीमै सडे’ चौधरीले भने, ‘त्यो बेला विक्री नभएका केरा क्वारेन्टाइनमा बसेका नागरिकलाई बाँडे, अहिले व्यापार राम्रो छ ।’    
     
कोरोना भाइरस संक्रमणको जोखिमपछि भारतबाट आउने केरा सजिलै आउन सकेको छैन । सरकारले पनि भन्सारमा कडाइ गरेका कारण यहाँका केराले बजार पाएको केरा व्यवसायी विनोदकुमार शाह बताउँछन् ।

‘भन्सारमा कडाइ गरिंदा नेपाली केरा किसानले राहत पाए, लकडाउनमा मेरो त करोडौं घाटा भयो, अहिले चित्त बुझेको छ’ शाह भन्छन्, ‘अहिले दैनिक छ ट्रकसम्म केरा बाहिरी जिल्ला जाने गरेको छ ।’ 
     
कैलालीमा उत्पादन भएको केरा सुदूरपश्चिमका पहाडी जिल्लालगायत नेपालका ठूला शहर सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडौंसम्म निर्यात हुने गरेको छ । अहिले उत्पादन भएको केरा बजारमा पठाउने समय हो ।

चैतमा उत्पादन भएका केरा बजार पठाउने समयमा लकडाउनका कारण घाटा व्यहोरेका केरा व्यवसायी अहिले पनि लकडाउनको हल्लाले चिन्तित छन् ।
     
केरा व्यवसायी संघ कैलालीकाअनुसार कैलालीमा १ हजार हेक्टर जमीनमा केराखेती भइरहेको छ । एक हजार हेक्टरमध्ये रानी जमरा, कुलरिया सिंचाइ आयोजनाको कमाण्ड क्षेत्रमा मात्र ७५० हेक्टरमा केराखेती भइरहेको छ ।   रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्