ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

डा. महतको नयाँ पुस्तक : ‘नेपालको समकालीन अर्थ राजनीतिको आँखी झयाल’

२०७७ असोज, २९  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली राजनीतिमा चिरपरिचित नेता (कांग्रेस) एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतको ‘टे«ल्स ट्रिमोर्स एण्ड होप पोलिटिकल इकोनमी अफ कन्टेम्पोररी नेपाल’को नेपाली अनुवाद ‘समकालीन नेपालको अर्थराजनीति परीक्षण, कम्पन र आशा’ नामक पुस्तक बजारमा आएको छ । परिवर्तित विश्वमा समाजवादको भूमिकादेखि नेपालले विगतमा अवलम्बन गरेका नीति, समकालीन अर्थ राजनीति, चुनौती र भावी कार्यदिशालाई पुस्तकमा मिहिन ढंगले विश्लेषण गरिएको छ ।

खासगरी नेपालको अर्थ राजनीति र त्यसमा पनि उदार अर्थनीतिका पक्षधर मानिने महतले पुस्तकमा आर्थिक सुधारमा दक्षिण एशियाली सन्दर्भसहित नेपालको माओवादी ‘जनयुद्ध’देखि नयाँ संविधान निर्माण, यसबीचको कालखण्डमा भएका प्रयोग, त्यसले दिएको परिणाम लगायत समकालीन अर्थराजनीतिका परिघटनालाई पुस्तकमा समेटेका छन् । नेपाल नयाँ संविधान मार्फत समावेशिता, गणतान्त्रिक बहुलवाद एवं संघीयतासहित अग्रगामी परिवर्तनको नयाँ राजनीतिक अभ्यासको चरणमा प्रवेश गरेको सन्दर्भमा नयाँ संवैधानिक व्यवस्था अनुरूप समतामूलक तथा समुन्नत समाज निर्माणको प्रतिबद्धतालाई पूरा गर्नु अहिलेको प्रमुख कार्यभार भएको डा. महतले पुस्तकमा उल्लेख गरेका छन् । यसका लागि कानूनी शासन र सुशासनप्रति प्रतिबद्धता, मजबूत आर्थिक सामथ्र्य एवं कार्यकुशल राज्य संस्थाको आवश्यकता समेत उनले औंल्याएका छन् ।

२०४६ सालको परिवर्तनपछि तत्कालीन सरकारले शुरू गरेको उदार आर्थिक नीतिमार्फत नेपालको अर्थतन्त्रलाई आधुनिकीकरण गर्ने अभियानमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र पछि धेरै पटक अर्थमन्त्रीको रूपमा भूमिका निर्वाह गरेका डा. महतले उक्त पुस्तकमा नेपालको समकालीन अर्थराजनीतिको सूक्ष्म विश्लेषण गरेका छन् । यस्तै नेपालको समकालीन अर्थराजनीतिका विविध पक्षहरूको यथार्थ विश्लेषणात्मक विवेचना, विगतका विभिन्न परीक्षण तथा अन्य घटनाक्रम र विशेषगरी माओवादी द्वन्द्व, २०७२ सालको भूकम्पको प्रभाव एवं

असरका बारेमा समीक्षात्मक चर्चा गरिएको छ, जसले गर्दा यो पुस्तकलाई ‘नेपालको समकालीन अर्थ राजनीतिको आँखी भ्mयाल’को रूपमा लिन सकिन्छ ।

डा. महतको पुस्तकबारे टिप्पणी गर्दै पूर्व अर्थ तथा परराष्ट्रमन्त्री भेषबहादुर थापा लेख्छन्, ‘गहिरो अध्ययन र विश्लेषण गरी तयार पारिएको यो पुस्तकले नेपालको अर्थ राजनीतिका बारेमा हामीलाई प्रचुर जानकारी तथा ज्ञान दिनुका साथै यस सम्बन्धमा धेरै कुरा स्पष्ट पार्दछ ।’ यस्तै पूर्व गभर्नर डा. तिलक रावलले भनेका छन्, ‘तथ्य–तथ्यांकले भरिपूर्ण यो किताब नेपालको राजनीति र आर्थिक व्यवस्थाको विकासक्रमबारे जान्न खोज्ने सबैका लागि अध्ययन योग्य छ । उच्च अध्ययन र सोधकार्यमा लागेका व्यक्तिका लागि यो उपयोगी छ ।’

विश्वमा विकसित भइरहेको र प्रभावकारी बनिरहेको विभिन्न नीतिगत व्यवस्थाबाट नेपाल अलग रहन नसक्ने उल्लेख गर्दै डा. महतले पुस्तकमा समाजवादी दृष्टिकोणको उत्पत्ति, बदलिँदो विश्व परिस्थितिमा यसको विश्वका विभिन्न प्रजातान्त्रिक तथा साम्यवादी मुलुकमा अवलम्बन गरिएका विभिन्न पक्षका बारेमा चर्चा गरेका छन् । सन् १९९० को दशकमा प्रारम्भ गरिएको आर्थिक सुधारको जगमा नेपालले विभिन्न उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले पुस्तकमा नेपालका दुई ठूला छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धका विविध पक्षहरूका अतिरिक्त राष्ट्रको आर्थिक विकासमा दुईपक्षीय र बहुपक्षीय संस्थाहरूसँगको साझेदारिताको भूमिका कस्तो रहनु पर्छ भन्ने पनि दर्शाएका छन् ।

संघीय संरचना नेपालका लागि नौलो र निकै चुनौतीपूर्ण व्यवस्था रहेको उल्लेख गर्दै उनले संघीय शासन व्यवस्थालाई कार्यमुखी बनाउनुपर्ने उल्लेख गरेका छन् । यस्तै तीनओटै तहका सरकारलाई संविधानले निर्दिष्ट गरेका दायित्वहरू पूरा गर्न सक्नेगरी सामथ्र्यवान् बनाउन प्रशासनिक तथा संस्थागत कार्यक्षमता शीघ्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि नेतृत्वमा दूरदर्शिता, सुस्पष्ट दृष्टिकोण र दक्षता आवश्यक रहेको उनले औंल्याएका छन् । नयाँ राजनीतिक संरचनालाई दिगो रूपमा धान्न सकिने बनाउन र जनतालाई उनीहरूका मौलिक अधिकारहरूको प्राप्ति तथा प्रत्याभूतिप्रति आश्वस्त तुल्याउन उनीहरूलाई गरीबी र पछौटेपनबाट मुक्ति दिलाउनुपर्नेमा उनले जोड दिएका छन् । नेपालको आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी भिœयाउने सरकारी रणनीति रहेको, तर पर्याप्त लगानी आउन नसकिरहेको अवस्थामा उनले कानूनको सशक्त परिपालना, निजी लगानीको सुरक्षाको प्रत्याभूति, आधुनिक पूर्वाधारका सेवाहरूको सहज उपलब्धता तथा लगानी आकर्षण गर्ने नियम कानून लगायतको व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । लगानीमैत्री वातावरणको निर्माणले मात्र प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्न सकिने उनको बुझाइ छ ।

मकालु प्रकाशन गृहले बजारमा ल्याएको यो पुस्तकमा विभिन्न १२ अध्यायमा नेपालको अर्थराजनीतिको सांगो–पांगो उतारिएको छ । २९० पृष्ठको यो पुस्तक गजेन्द्र विष्टले नेपालीमा अनुवाद गरेका हुन् । यसको मूल्य रू. ७५० राखिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्