ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

निर्माण व्यवसायीको मर्का

२०७७ असोज, २९  
सम्पादकीय
Image Not Found

कोरोना महामारीका कारण निर्माण व्यवसायीहरूले ठेक्का सम्झौताअनुसार काम गर्न सकेनन् । यस्तो विषय परिस्थितिमा केही मात्रामा भए पनि भौतिक पूर्वाधार निर्माणका कामलाई उनीहरूले निरन्तरता दिएको पाइन्छ । यस्तो अवस्थामा काम गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले भुक्तानी दिन विलम्ब गर्नु उपयुक्त देखिँदैन ।

सरकारले निर्माण व्यवसायीको उचित मागलाई सम्बोधन गर्नुपर्छ भने गलत काम गर्ने ठेकेदारलाई कारबाही गर्न पनि हिचकिचाउनु हुँदैन ।

कोरोना महामारीका कारण अर्थतन्त्रका सबैजसो क्षेत्र प्रभावित भएका छन् । त्यसमा पनि धेरै कामदारले रोजगारी गुमाएको अवस्था छ । आईएलओ र एशियाली विकास बैंकले निर्माण क्षेत्रका २१ दशमलव ७ प्रतिशत कामदारले रोजगारी गुमाउने अवस्था देखिएको छ । यी कामदारलाई टिकाइराख्न नसक्दा भोलिका दिनमा निर्माण क्षेत्रमा कामदार अभावको समस्या आउन सक्ने देखिन्छ । यसै पनि निर्माण क्षेत्रमा भारतीय कामदारको संख्या नेपालीको भन्दा बढी भएको पाइन्छ । भारतीय र बंगलादेशी कामदार नभए निर्माण कार्य नै प्रभावित हुने निर्माण व्यवसायीको भनाइ पाइन्छ । यस्तोमा निर्माण व्यवसायीले महामारीका बेलामा कामदार जोहो गरेर निर्माण कार्य अगाडि बढाउँदा उनीहरूको लागत समेत बढी पर्ने गएको हुन सक्छ । तर, सरकारले निर्माण व्यवसायीले सम्पन्न गरेका तथा अन्य भुक्तानी नगरिदि“दा समस्यामा पर्नु स्वाभाविक हो । समयमै भुक्तानी नदिए मुलुकको विकास निर्माणका काम थप प्रभावित हुने देखिन्छ । कोरोनाका कारण समस्यामा परेका व्यवसायीले सरकारबाट भुक्तानीसमेत नपाउ“दा मनोबल गिर्न सक्छ र निर्माण क्षेत्र सुस्ताउन सक्छ भन्नेमा सरकारी अधिकारीको ध्यान जानु आवश्यक छ ।

निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहका सरकारलाई निर्माण सम्पन्न भएका आयोजना हस्तान्तरण गरेको र प्रदेश तथा स्थानीय सरकारहरूले संघीय सरकारलाई हस्तान्तरण गरिसकेको परियोजनाको भुक्तानी दिन ढिला गर्दा चालू आर्थिक वर्षका काम पनि प्रभावित हुन सक्छन् । चालू आवको विकास निर्माणका लागि ठेक्का सम्झौता गर्ने समय यही नै हो । दशैंतिहार लगत्तै धमाधम निर्माण कार्य सुरू हुने अपेक्षा व्यवसायी र सरकारको समेत रहेको पाइन्छ । तर, भुक्तानी रोकिएपछि ती कम्पनीले नयाँ ठेक्कामा काम गर्न समस्या हुन सक्छ ।

कोरोनाका कारण निर्माण कार्य ठप्प हुँदा निर्माण व्यवसायीहरूलाई कारबाहीबाट जोगाउन सरकारले ठेक्काको समय ६ महिना थप गरेको थियो । तर, बन्दाबन्दी र निषेधाज्ञा हटे पनि कोरोना महामारीको विस्तार तीव्र बन्दै गएकाले निर्माण कार्य थपिएको म्यादभित्र सम्पन्न हुन पनि समस्या देखिएको छ । यस्तोमा ठेक्काको अवधि आयोजनाको अवस्था हेरेर थपिदिनु उपयुक्त हुन्छ ।

मुलुकको विकास निर्माणको काममा निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण हुन्छ । तर, कतिपय अवस्थामा निर्माण व्यवसायीले इमानदार भएर काम गरेको पाइँदैन । खासगरी समयमा काम सम्पन्न नगर्ने, परिचालन रकम लिएर ठेक्काको काम अगाडि नबढाउने तथा निर्माण कार्यमा ढिलासुस्ती गर्ने प्रवृत्ति उनीहरूमा पाइन्छ । यसले निर्माण व्यवसायीप्रति आममानिसमा नकारात्मक भाव पैदा गरेको समेत पाइन्छ । त्यसो त समयमा काम सम्पन्न नहुनुमा निर्माण व्यवसायी मात्रै दोषी देखिँदैनन् । ठेक्का प्रक्रियामै कमजोरी रहेको सरकारले नै स्वीकारेको पाइन्छ र त्यस अनुसार विभिन्न सुधार गरेको पनि देखिन्छ । तैपनि कानुनी छिद्र अझै बाँकी छन् ।

सरकारले निर्माण व्यवसायीको उचित मागलाई सम्बोधन गर्नुपर्छ भने गलत काम गर्ने ठेकेदारलाई कारबाही गर्न पनि हिचकिचाउनु हुँदैन । कोरोना महामारीका समयमा निर्माण कम्पनीहरूलाई कसरी काम गर्ने वातावरण बनाइदिने हो त्यसमा पनि सरकारको भूमिका हुन्छ । त्यसैले सरकारले सहजीकरण गरिदिनुपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्