ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि पुनः अध्ययन समिति गठन

२०७७ असोज, २९  
सुदूरपश्चिम प्रदेश
NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सरकारले कञ्चनपुरको दोधारा–चाँदनीस्थित महाकाली नगरपालिका–७ कन्जभोगमा सुक्खा बन्दरगाह घोषणा गरेको ४ वर्ष बितिसक्दा समेत कार्यान्वयन अगाडि बढेको छैन भने अहिले पुनः अध्ययन समिति गठन गरिएको छ ।

चार वर्षअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको इन्टरमोडल यातायात विकास समितिले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषयमा सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनले सो क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि उपयुक्त स्थान रहेको औंल्याएको थियो ।

सुख्खा बन्दरगाहा कार्यान्वयनमा ल्याउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल नेतृत्वको अहिले फेरि अर्को अध्ययन समिति गठन गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।

सुक्खा बन्दरगाह निर्माणस्थल टुंगो लगाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल संयोजक, सदस्यमा प्रमुख जिल्ला अधिकारी, प्रमुख भन्सार अधिकृत, भूमि सुधार तथा मालपोत अधिकृत, नापी अधिकृत, सिनियर डिभिजन इन्जिनीयर सडक डिभिजन महेन्द्रनगर, सिनियर डिभिजन इन्जिनीयर शहरी विकास तथा भवन कार्यालय तथा डिभिजन वन अधिकृत कञ्चनपुर सदस्य रहने गरी अध्ययन समिति गठन गरिएको छ ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव अनिता पौडेललाई सदस्य सचिवका रूपमा चयन गरी नेपाल इन्टरमोडल यातायात विकास समिति अध्ययन समितिको सदस्यमा चयन गरिएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी गराए ।

‘समितिले सुख्खा बन्दरगाह निर्माणका लागि सम्भावित क्षेत्रहरूको अध्ययन गरी राय पेश गर्नेछ,’ उनले भने । सुख्खा बन्दरगाहा निर्माणका लागि समितिले स्थलगत अध्ययन गर्ने र त्यसकै आधारमा सम्भावित क्षेत्रको सिफारिश गर्ने उनको भनाइ छ । ‘कुन ठाउँमा उपयुक्त हुन्छ भनेर यो समितिले सुझाव दिने हो,’ उनले भने, ‘त्यस कारण अध्ययन गरेर कुन ठाउँ दुवै देशका लागि उपयुक्त हुन्छ, त्यही ठाउँ नै सिफारिश गरिनेछ ।’ अध्ययन कहिलेबाट शुरू हुन्छ भन्ने विषयमा भने आफूले छिट्टै मन्त्रालयमा सम्पर्क गर्ने उनले बताए । दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि असोज ६ गते नेपाल र भारतका अधिकारीहरूबीच भर्चुअल वार्ता भएको थियो । सो वार्ताबाट नेपाल भारत सीमाको पिल्लर नम्बर ८०२÷१ र पिल्लर नम्बर ८०२/२ सँगै भारतले वनबासामा एकीकृत जाँचचौकी निर्माण गर्न लागेको भारतीय पक्षले नेपाललाई जानकारी गराएको थियो ।

भारतको प्रस्ताव गरेको वनबासा आईसीपीदेखि आधिकारिक दूरी कम हुने गरी दोधारा–चाँदनीको अन्य कुनै क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गर्न सम्भव हुने÷नहुँने सम्बन्धमा प्राविधिक तथा अन्य विविध विषयमा अध्ययन गरी नेपालको आधिकारिक धारणा तयार पार्न मन्त्रीस्तरीय निर्णयअनुसार अध्ययन समिति गठन गरिएको समिति सदस्यसमेत रहेका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । सुदूरपश्चिममा सुक्खा बन्दरगाहका लागि सबैभन्दा उपयुक्त ठाउँ कञ्चनभोज नै भएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले बताए । भारतको रेलमार्गसँगको कनेक्टिभिटी र सीमाक्षेत्रको बस्ती भएकाले कञ्चनभोज उपयुक्त हुने उनले बताए । उनका अनुसार गुजरातको मान्द्रा बन्दरगाहरूसँग कनेक्टिभिटीका लागि यो स्थान उपयुक्त मानिन्छ । मान्द्रा बन्दरगाह कञ्चनभोजबाट १५ सय किलोमीटरको टाढा पर्छ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र ६ लेनको सडकलाई समेत सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा हेरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्