ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा

२०७७ असोज, ३०  
वाग्मती प्रदेश
NA

मकवानपुर । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका १११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले बताएको छ ।    

लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो । तर अहिले उद्योगहरू सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको बताइएको छ । अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी, प्लास्टिक लगायत वस्तु उत्पादन उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको सो कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा करीब १० हजार ५०० जनाले रोजगारी पाएका छन् । ‘नयाँ–नयाँ उद्योगको स्थापनाका लागि केही उद्यमीले आवश्यक जग्गा, विद्युत्, पानी उपलब्ध गराइदिन माग गर्दै निवेदन दिएका छन्,’ हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले भने, ‘सोही निवेदनको आधारमा जग्गा उपलब्ध गराउन नेपाल औद्योगिक विकास निगम काठमाडौंलाई स्वीकृतिका लागि पत्राचार गरिएको छ ।’ उनका अनुसार पुरानो बन्द भएका उद्योगको अनुमतिपत्र रद्द गरी अर्को उद्योग स्थापनाका लागि स्वीकृति प्रदान गर्न पनि हेटौंडा औद्योगिक क्षेत्रको तर्फबाट पत्राचार गरिसकेको छ ।

२०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रमा अहिले विभिन्न नयाँ उद्योग स्थापनाका लागि करीब १ हजार ८८५ रोपनी जग्गाको छुट्टै व्यवस्थापन गरिएको बताइएको छ । सो औद्योगिक क्षेत्रमा निजीक्षेत्रको झन्डै रू. ५ अर्ब ५० करोड लगानी रहेको छ भने सरकारी लगानी रू. ९० करोड रहेको कार्यालयले बताएको छ ।

उक्त औद्योगिक क्षेत्रबाट गुणस्तरीय उत्पादित विद्युतीय सामग्री, खाद्यान्नलगायत अन्य सामग्री अन्तरराष्ट्रिय बजारसम्म पुग्ने गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । औद्योगिक क्षेत्रमा उद्योग व्यवस्थापनले जग्गाको सम्झौता गरी १३ ओटा आफ्नो प्रशासकीय भवनको निर्माणलाई तीव्रता दिएको छ । आगामी २ महीनाभित्र सम्पन्न गरी उद्योग सञ्चालनका लागि तयारी भइरहेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद न्यौपानेले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्