ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

टेलिभिजनमा नेपालीपन खै ?

२०७७ असोज, ३०  
पाठक विचार
NA

नेपाल मुलुक सानो भए तापनि टेलिभिजन च्यानलको निकै नै विकास भएको छ । टेलिभजिन च्यानलहरू प्रशस्त खुलेका छन् तर टीभी च्यानलहरू धेरै मात्र भएर हुँदैन । यसले स्तरीय सामग्री पस्कन सक्नुपर्छ । टीभी च्यानलहरूको गुणस्तर सुधार गर्न कार्यक्रममा विविधता हुनुपर्छ, प्रतिस्पर्धी हुनुपर्छ । तर, यतिका धेरै च्यानल सञ्चालनमा आए पनि कार्यक्रममा विविधता र परिवर्तन हुन सकेको देखिँदैन । जसजसले यो क्षेत्रमा लगानी गरेका छन् तिनले टीभी च्यानलहरूमा थप र विशेषतायुक्त कार्यक्रमहरू राखेर अझ बढी विकास गर्नु जरुरी छ । जब हामी च्यानलहरू खोल्छौं बिहानदेखि बेलुकासम्म प्रायः अन्तर्वार्ता, गीतहरू तथा समाचारमा नै सीमित भएका देख्छौं । यी कार्यक्रम सञ्चालन गर्न कम खर्चिलो भएकाले हुन सक्छ । तर, उस्तै खाले कार्यक्रम सबै च्यानलमा दिँदा गुणस्तर राम्रो बन्न सकेको छैन । एकै खाले कार्यक्रमले दर्शकहरूलाई सन्तुष्टि मिल्दैन । यसका लागि टीभी च्यानलहरूले खेलकूद र अन्य नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरू राखेर टेलिभिजन च्यानलहरूलाई आकर्षक बनाउन सक्नुपर्छ । एक समय थियो, नेपालमा च्यानलहरू कम थिए तर टेली सिनेमाहरूको निकै विकास भएको थियो । ती निकै स्तरीय र मौलिक पनि थिए । विदेशी च्यानलहरू भए तापनि दर्शकहरू नेपाली टेलिफिल्महरू हेरेर रमाउँथे । तर, आज हाम्रो मुलुकमा विज्ञापन धेरै हुँदा पनि पोख्त कलाकारहरू धेरै हुँदा पनि टीभी च्यानलहरूमा राम्रा, शिक्षाप्रद घरायसी तथा सामाजिक टेली सिनेमा बन्न सकेको पाइँदैन । सरकारी टेलिभिजनले समेत पहिलाको जस्तो स्तरीय टेलिफिल्म बनाएको पाइँदैन । राम्रो टेलिसिरियल नभएका कारण नेपाली दर्शकहरू नेपाली च्यानल हेर्न छोडी विदेशी च्यानलहरू हेर्न बाध्य हुन्छन् ।

टेलिसिनेमा यस्तो माध्यम हो, जसले समाजलाई शिक्षा दिनुबाहेक मानिसका बौद्धिक विकासमा मदत पु¥याइरहेको हुन्छ । साथै यसले सारा नेपालीलाई मनोरञ्जन पनि दिइरहेको हुन्छ । तर, अचम्म छ आजभोलि यो क्षेत्रमा सिनेकर्मीहरू कोही अग्रसर भएको देखिँदैन । सिनेकर्मीबाहेक यो क्षेत्रमा टीभी च्यानलहरू पनि अग्रसर हुनु जरुरी छ ।

व्यवसायी अर्थात् विज्ञापनदाताहरूले पनि इमानदार भएर यो क्षेत्रका लागि सघाउ पु¥याउनु आवश्यक छ । जब टेली सिनेमाको विकास हुन्छ तब टेलिभिजन च्यानल र रोजगारको हिसाबले कलाकारहरूको जीवनशैली पनि परिवर्तन हुँदै जान्छ । विज्ञापनका लागि विदेशिने रकम पनि कम हुन्छ । स्वदेशी विज्ञापन बन्न थालेपछि रोजगारी पाउनेको संख्या पनि बढ्न थाल्छ ।

नेपालमा टीभी च्यानल शुरू भएको पनि लामो समय भइसक्यो । तर, बालकहरूका लागि उपयुक्त हुने खालको राम्रा कार्यक्रमहरू प्रसारण भएको पाइँदैन । टीभी च्यानलमा यस्ता कार्यक्रम प्रसारण हुन थालेको खण्डमा केटाकेटीको मानसिक विकासमा पनि सघाउ पु¥याउँछ । नेपाली भाषा र संस्कार पनि सिक्छन् । सानो उमेरदेखि नै उसले एउटा राम्रा संस्कार सिक्दै जानेछ । त्यसकारण टीभी च्यानलहरूले बिहान बेलुका सामान्य ज्ञान, खेलकूद, कार्टुन, जादू आदिजस्ता कार्यक्रमहरू आफ्नो च्यानलमा राखेर बालबच्चाको बौद्धिक विकास गर्न सकिन्छ ।

हाम्रो मुलुकमा कलाकार, निर्देशक, क्यामेराम्यान तथा निर्माताहरूको कमी छैन, तर यिनीहरूको सोच सिनेमा बनाउने र धेरै पैसा कमाउने मात्रै छ । यसले गर्दा नेपालमा टेलिसिनेमाको उत्पादन र प्रसारण राम्ररी भएको छैन । सानो पर्दाको चलचित्र बनाएर पनि पैसा कमाउन सकिन्छ । यो क्षेत्रमा पैसाको कमाई भए पनि जोखिम कम हुनुुका साथै सिनेकर्मीहरूले सेल्युलाइड चलचित्रमा भन्दा बढी नाम र इज्जत कमाउन सक्छन् । अहिले देशमा धेरै टीभी च्यानलहरू भएकाले सधैं हलवालाहरूसँग लफडा गरेजस्ता चलचित्रका लागि गर्नुपर्दैन ।

नेपालमा टेलिसिनेमा धेरै नबन्नुमा दुई कारणहरू छन् : एक सानो पर्दाको चलचित्रलाई बेवास्ता गर्ने बानी, अर्को विज्ञापनदाताबाट पैसा नै उठ्दैन भन्ने सोच । वास्तवमा अहिले विज्ञापनको क्षेत्र पहिलाभन्दा निकै नै फराकिलो भएको छ । टीभी च्यानलहरूले पनि विज्ञापनबाट निकै आर्थिक लाभ लिइराखेका छन् । तर, चलचित्रकर्मीहरूलाई यस्तो छाप परेको छ कि विज्ञापनकर्ताबाट रकम नै उठ्दैन । तर, यो सोच गलत हो । अहिले सबै व्यापारी व्यवसायीहरू खराब छैनन् । यदि टेलिचलचित्र निर्माताहरूलाई यिनीहरूले धोखा दिन्छन् भने देशको कानून के काम लाग्यो ? चलचित्रकर्मीहरूको संगठन के काम लाग्यो । त्यसकारण यो क्षेत्रमा सधैं नकारात्मक सोच पनि राख्नु हुँदैन । सबै सिनेकर्मी तथा टीभी च्यानलहरू सकारात्मक भएर मिलेर अघि बढ्नुपर्छ ।

नेपालमा चलचित्रको विकासपश्चात् चलचित्रबाट मानिसहरूले धेरै कुरा थाहा पाए पनि औसतमा यो क्षेत्रबाट सर्वसाधारणले ज्ञान तथा शिक्षा प्राप्त गर्न पाएका छैनन् । यसको मुख्य कारण चलचित्रका लगानीकर्ताहरू चलचित्र बनाएर रातारात धनी हुन चाहन्छन् । अहिले कोभिड–१९ अर्थात् कोरोना भाइरसले गर्दा चलचित्र लगानीकर्ताहरूको सोच पनि गोलमटोल भएको छ । समय सधैं एउटै हुँदैन । सबैको राम्रो दिन फेरि आउनेछ । त्यसकारण सबैले राम्रो दिनका लागि सकारात्मक भएर आशा गर्नुपर्छ । भविष्यका लागि होमवर्क, फ्रेमवर्क तयार गरेर राख्नुपर्छ ।

वास्तवमा मानिस भएर जन्म लिएपछि मुलुकलाई राम्रो सन्देश एकअर्कालाई दिन सक्नुपर्छ, चलचित्र भनेको आर्थिक लाभ लिन मनोरञ्जन लिन मात्र नभई जनतालाई केही ज्ञान र शिक्षा पनि किन नदिने ? धेरै व्यक्तिसँग संगत गर्नुहोस्, पत्रिका, पुस्तक पढ्ने बानी बसाउनुहोस्, बिस्तारै तपाईंको दिमागले ज्ञान संकलन गर्दै जानेछ, तर यस्ता कुरा तथा सोच चलचित्र लगानीकर्तामा नभए जस्तो आभास हुन्छ । यी कुरा किन गर्नुपरेको हो भने हाम्रो मुलुकमा सोझा तथा शिक्षा कम भएकाहरूको जमात ठूलो छ । यस्ता मानिसहरूको मानसिकता परिवर्तन गर्न पनि शिक्षाप्रद चलचित्र तथा टेलिचलचित्र सशक्त माध्यम हुन सक्छन् । सरकारको असहयोग एउटा समस्या छ । त्यस्तै हलको अभाव, पाइरेसी, कर समस्या आदिका लागि चलचित्र युनिट तथा संगठन बलियो हुनु जरुरी छ ।

रमेशकेशरी वैद्य

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्