ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सपना हो कि विपना ?

२०७७ असोज, ३०  
तीतो मीठो
author avatar मदन लम्साल

एउटा स्वतन्त्र देशमा चोरहरूको आतंक यतिविघ्न बढेछ कि चोरहरू नै आत्तिने स्थिति आएछ । जताततै चोरै चोरको बिगबिगी । सरकारमा चोर । मन्त्रिपरिषद्मा चोर । संसद्मा चोर । ठूल्ठूला उद्योगमा चोर । अर्बौं कमाउने व्यवसायमा लागेका चोर । स्कूल–कलेज चलाउन भागेका चोर । अखबार र टिभीमा पनि चोरै चोर । यसरी लोकतन्त्रको चारै खम्बा चोरहरूकै काँधमा टिकिरहेको ।

यी चोरहरू पूर्णरूपमा बेलगाम घोडा जस्ता, कसैको पनि नियन्त्रणमा नरहेका । न मन्त्रीका, न संसद्का, न अदालतका । चोरहरू यति निस्फिक्री कि यिनलाई न सरकार, कानून वा प्रहरी कसैसँग पनि डर छैन ।

जताततै अभाव छ, अँधेरो छ, हाहाकार छ, चित्कार छ । किन कोही सुन्दैैन ? जनताका समस्याहरू समाधान गर्छु भनेर कसम खाएर आएका हे मुखिया ! यो सब देखेर पनि किन नदेखेसरी मुरली बजाएर बसिरहेका छौ ?

परिस्थिति कस्तो भने सरकारले चोरहरूलाई जुन शर्त वा जुन मापदण्डका आधारमा चोरी गर्ने लाइसेन्स दिएको थियो, चोरहरूले त्यसको पनि धज्जी उडाइरहेका थिए । अरू त अरू चोरहरू आफ्नो संगठनका नियम पनि पालना गरिरहेका थिएनन् ।

छिट्टै कमाउनका लागि कोही चोरहरू चकलेटमा चोरी गर्ने, कोही छडमा । कोही मिति सकिएका अखाद्य अन्न बेच्ने, कोही गुणस्तरहीन सामान । जेमा पनि मिसावट गर्ने । कुन शुद्ध हो, कुन मिलावट खुट्याउनलाई इन्द्रका बाबु चन्द्रलाई पनि हम्मे पर्ने ।

दूधमा ‘डिटरजेन्ट पाउडर’ घोलिएको, तरकारी र फलफूलमा विषादी मोलिएको, केहीमा मिति सारिएका, घिउमा पिँडालु पारिएका, रातो खुर्सानीमा इँटाको धूलो, दाल चामलमा ढुंगा ठूलो, महमा सख्खर, जसरी पनि कमाउने चक्कर !

सरकारले चोरहरूलाई चोरी गरेको प्रतिफल स्वरूप थुप्रै प्रकारका सुविधाहरू पनि दिएकै थियो । त्यति मात्र होइन, चोरी गरेर हुने कमाइको आयकरमा समेत छूट दिएकै थियो । तर, चोरहरूमा छोटो समयमै झन् बढी चोरेर थुपार्ने लोभ जागेछ । अनि शुद्ध चोरी बाहेक धेरै धन कमाउन अन्य उपायहरू अपनाउन थालेछन् । जब कि उनीहरूले लाइसेन्स केवल चोरी गर्नका लागि मात्र लिएका थिए ।

चोरीको अनुगमन गर्न चोर विभाग पनि रहेछ । सरकारले यी विभिन्न प्रकृतिका चोरीका विषयमा खासगरी दशैं, तिहार जस्ता चाडपर्व अगाडि छानबिन समिति बनाउँदो रहेछ । अनुगमन टोली लगाएर केही चोरहरूलाई कारबाही गर्ने भनेर पत्रपत्रिकामा रिपोर्ट पनि छपाउने गरेको रहेछ ।

चोरी गर्नेहरूलाई आफ्नो मूल काम कर्तव्यबाट विमुख भएको र मानिसहरूको सम्पत्ति लुट्नुको साटो सरकारको बचे खुचेको इज्जत चैं लुट्न किन जुटेको भन्दो रहेछ । आइन्दा यसो गरे लाइसेन्स नै खारेज गर्ने स्पष्टीकरणरूपी प्रेमपत्र पनि थमाउने गरेको रहेछ । तर यसले त झन् चोरी गर्दा बिग्रिएका कुरा पत्ता लगाएर थप सजग भएर चोरी गर्न सिकाउने रहेछ ।

स्पष्टीकरणको जवाफ देऊ भनेर सरकारले सबै गन्यमान्य चोरहरूलाई बेला बेलामा पाँचतारे होटलमा उपस्थित हुन आदेश गर्दो रहेछ । सबै चोर भनेकै समयमा होटल पुग्दा रहेछन्, आ–आफ्नो ब्रिफकेस सहित । चोरहरू आफ्ना कागज र जवाफहरूबाट सन्तुष्ट बनाएर सरकारी अधिकारीहरूलाई पठाउँदा रहेछन् । बदलामा सरकारले पनि चोरहरूमध्ये केही अपवादहरूलाई छाडेर बाँकीलाई सीआईपीले सम्मानित गर्दो रहेछ । भोलिपल्ट सीआईपी चोरहरूको फोटो मिडियाले राम्रैसँग छापिदिँदो रहेछ, समाचार र विज्ञापनका रूपमा । वर्षौंदेखि यो कर्म निरन्तर रहेछ ।

चोरहरू पनि दुईथरी रहेछन् – साधारण र सीआईपी । साधारण चोरले सामान्य मान्छेका पैसा वा गहना चोर्ने रहेछन् । तर सीआईपी चोर भने भीआईपी हुँदा रहेछन् । भीआईपी राजनीतिक चोरहरूले भने मानिसको स्वास्थ्य, शिक्षा, व्यापार वा वर्तमान मात्र होइन, उसको पूरै भविष्य र अझ एउटा सिंगै युग नै चोर्दा रहेछन् ।

यसरी त्यस देशमा भ्रष्टाचारदेखि अत्याचार, बलात्कार सबै चलिरहेका रहेछन् । चल्न नसकेको भनेको केवल सरकार मात्र रहेछ । त्यत्रो गर्दा नि नपुगेर आफ्ना जिम्मेवारीलाई उल्टो जमीनदारी ठानेर अधिकारीहरूले सरकारी सम्पत्ति र जग्गा जमीन कब्जा गर्न शुरू गरेछन् ।

हुँदाहुँदा पछि त देश जम्मा दुईजनाले चलाउन थालेछन् । एउटा फूल अर्को खुँडा । प्राकृतिक रूपमै विपरीत स्वभावका । अनि सधैं झेलझेलमै, यिनीहरूकोे मेल कहिल्यै नहुने । तर लुट्न भने नछाड्ने । कैले फूलजस्तो बनेर लुट्ने त कहिले खुँडा जस्तो भएर लुट्ने । अनि सास्ती जति सधैं जनतालाई ।

यो सबै देखिरहेको म, सहन नसकेर मैदानमा आएर ठूलठूलो स्वरमा कराउन थालेछु :
‘जताततै अभाव छ, अँधेरो छ, हाहाकार छ, चित्कार छ । किन कोही सुन्दैैन ? जनताका समस्याहरू समाधान गर्छु भनेर कसम खाएर आएका हे मुखिया ! यो सब देखेर पनि किन नदेखेसरी मुरली बजाएर बसिरहेका छौ ? गर्न सक्तैनौ भने कुर्सी छोड, किनकि तिमी पूरै फेल भैसकेका छौं । हिजो तिमी हाईस्कूल फेल थियौं । यो तिम्रो व्यक्तिगत कुरा थियो । तर आज तिमी फेल भएकै कारण पूरै देश किन फेल हुने ?

तिम्रो पागलपनले ल्याएको चारैतिरको असफलता ३ करोडले किन झेल्नुपर्ने ? तिम्रो अकर्मण्यताले देशमा अरूले आत्महत्या गर्नुपर्ने परिस्थितिमा किन पुग्नुपर्ने ? आफ्ना समस्या एकातिर छन्, तर तिमीहरूको बेमौसमी बाजा र कलाविहीन नाटक जनताले टुलुटुलु हेरेर अझ कति दिन, कति महीना वा कति वर्ष कुर्नुपर्ने हो ?’

कराउँदा कराउँदै सपनाबाट झल्याँस्स ब्यूँझन्छु । ए ! सपना रैछ भन्ठान्छु । तर जब पत्रपत्रिका पढ्छु, सामाजिक सञ्जाल हेर्छु, अनि सपना हो वा विपना हो छुट्ट्याउन गाह्रो हुन्छ । लौ न मलाई कसैले बताइदिनोस्, हिजोआज म सपनामा छु कि विपनामा हँ !

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्