ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

यो वर्ष नवरात्रमा दर्शनका लागि शक्तिपीठ नखुल्ने, नित्य पूजामात्र        

२०७७ कार्तिक, १  
समाचार
Image Not Found

कात्तिक १, काठमाडौं । बडादसैंका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ ।

काठमाडौं उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं आरती गरी भक्तजनलाई प्रवेश गर्न नदिइने भएको हो । पशुपति क्षेत्रमा रहेको गुह्येश्वरी, जयवागेश्वरी लगायत शक्तिपीठ दर्शनार्थीका लागि नखोलिने पशुपति क्षेत्र विकास कोषले बताएको छ । 

उपत्यकामा कोरोना भाइरसका संक्रमित बढिरहेकाले पुजारीबाट हुने नित्य पूजा आराधना गरी मन्दिर सर्वसाधारणका लागि नखोलिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

उपत्यकामा मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनी लगायत प्रसिद्ध शक्तिपीठ छन् ।

जहाँ आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म भक्तजनको धेरै भीड लाग्ने गर्छ । यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुने गरेको छ । कोरोना भाइरसका कारण गत चैतदेखि देशका मुख्य मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ ।     
     
गृह मन्त्रालयले पनि ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी देशभरका शक्तिपीठ भक्तजनका लागि नखोल्न आह्वान गरेको छ । आम मानिसलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन मन्त्रालयले यस्तो आह्वान गरेको हो ।
 शक्तिपीठ खोल्न विश्व हिन्दू महासंघको माग     
     
विश्व हिन्दू महासंघले भने नेपालीको महान् चाड बडादसैंका अवसरमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर देशभरका शक्तिपीठ खोल्न माग गरेको छ ।

सरकारले कोरोना फैलिरहेका बेला अन्य क्षेत्र कहिले आंशिक त कहिले पूरा खुला गरेको उल्लेख गर्दै महासङ्घले नेपालीको आस्थाको केन्द्र मन्दिर पनि बडादसैंका अवसरमा सुरक्षित तरीकाले खोल्न आह्वान गरेको हो ।     
     
महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेश नेउपानेले शुक्रवार विज्ञप्ति जारी अन्य क्षेत्र खुला गरेर मन्दिरमात्र बन्द गरिनु संविधान प्रदत्त धार्मिक स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेका छन् ।

बडादसैंका अवसरमा शक्तिपीठ खुला गरी सुरक्षित तरीकाले पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाउन महासंघले माग गरेको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्