ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धौवादी फलाम खानीको धाउ उच्च गुणस्तर भएको प्रमाणित, सरकारले थाल्यो आवश्यक तयारी      

२०७७ कार्तिक, १  
समाचार
Image Not Found

कात्तिक १, काठमाडौं । सरकारले महत्वका साथ अगाडि बढाएको नवलपरासीको धौवादी फलाम खानीमा रहेको धाउको चीनको छेन्दुमा सफलतापूर्वक परीक्षण गरिएको छ । 

खानीमा रहेको धाउ उच्चगुणस्तरको रहेको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूले सो मन्त्रालयको कार्यभार सम्हालेपछि प्राप्त गरिएका उपलब्धिको विवरण सार्वजनिक गर्दै फलाम खानीको धाउको परीक्षण सफलतापूर्वक गरिएको बताए ।
     
मन्त्रालयले गत पुसमा नै पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड गठन गरिसकेको छ । खानी तथा भूगर्भ विभागको कार्यालयमा नै उक्त कम्पनी रहेको छ ।

चालू आर्थिक वर्षको बजेटमा समेत सो खानी उत्खनन गरी उद्योग स्थापना गर्ने विषय समेटिएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादी डाँडामा फलाम खानी रहेको छ । फलाम खानीको विषयमा आवश्यक अध्ययन तथा त्यहाँको धाउ गुणस्तरीय रहेपछि देशको आवश्यकताअनुसार फलाम उत्पादन गर्ने सरकारको तयारी छ । 

धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा मन्त्रालयले चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो । मन्त्री भट्टले सार्वजनिक गरेको आफ्नो  १० महीने कार्यकालको उपलब्धिमा फलाम खानी तथा परीक्षण सम्पन्न भएको जानकारी दिनुभयो ।     
     
धौवादीमा १० किलोमिटर लामो फलाम खानी भेटिएको मन्त्रालयको भनाइ छ । तत्कालीन उद्योगमन्त्री नवीन्द्रद्राज जोशीले पनि खानीस्थलको निरीक्षण गरी सडक निमार्णका आवश्यक बजेट उपलब्ध गराएका थिए । पूर्व पश्चिम महेन्द्र राजमार्गको डण्डा बजारबाट २४ किलोमिटर उत्तरमा फलाम खानी रहेको छ ।     

यस्तै मन्त्रालयले पर्वतको फलामखानी र तनहुँको तामा खानीको पनि अध्ययन गरिरहेको छ । यसैगरी दैलेखमा रहेको पेट्रोल खानीको समेत अन्वेषणको प्रारम्भिक कार्य सम्पन्न भएको छ । सो अध्ययनबाट पेट्रोलियम पदार्थको भण्डारको सम्भावना देखिएको छ । 

मन्त्रालयले थप १२ ओटा खानी उद्योग सञ्चालनको अनुमति प्रदान गरेको छ । त्यस्ता उद्योगमा सुन, तामा, कोइला, ग्रेनाइट र चुनढुङ्गा रहेका छन् । आर्थिक समृद्धिका लागि खानी तथा खानीजन्य उद्योग स्थापनामा जोड दिएको सरकारले देशभित्र रहेका थप खानीको समेत अध्ययन गरिरहेको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्