ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ठेक्का लागेको ९ महीनासम्म पुल निर्माण शुरू भएन

२०७७ कार्तिक, २  
गण्डकी प्रदेश
NA

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा ठेक्का लागेको ९ महीनासम्म पनि मोटरेबल पुल निर्माण शुरू भएको छैन । परामर्शदाताले गरेको गलत डिजाइनका कारण पुल निर्माण अलपत्र परेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले २०७६ माघ १७ गते फेवा–बीएम जेभीसँग रू. २ करोड ८१ लाखमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै पुल बनाउन उपकरण र सामान लिएर गए पनि डीपीआर र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि फर्किएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए । ‘दुई महीनासम्म मैले लगेका मेशिन खोला किनारमै राखेर फिर्ता गर्नुपर्‍यो,’ उनले भने, ‘प्राधिकरणले नयाँ डिजाइन स्वीकृत गर्न ढिलाइ गरेकाले काम शुरू गर्न सकेका छैनौं ।’ पुल निर्माणका लागि ठेकेदारले लगेका रडलगायत निर्माण सामग्री किनारमै राखिएको छ ।

पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौंको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डीपीआर बनाएको थियो । सोही डीपीआरको आधारमा ठेक्का लगाइएकाले ९ महीनासम्म पनि पुल निर्माण शुरू हुन नसकेको शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार गाउँ जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माणका लागि योजना परेको थियो । घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको पाउद्वार गाउँमा बर्खायाममा यातायात सेवा अवरुद्ध हुने गरेको छ । ‘घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्ने थियो,’ वडाध्यक्ष तिलिजाले भने, ‘सडक भए पनि पुल नहुँदा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ ।’ पुनः डीपीआर गरी डिजाइन संशोधन गर्न प्राधिकरणले ढिलाइ गर्दा योजना नै रद्द हुने स्थानीयवासीको चिन्ता छ । भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डीपीआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनः डिजाइन गर्न प्राधिकरणबाट स्वीकृति लिइसकेको एकाइका प्रमुख नारायण ढकालले बताए ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्