ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्याफ्रु–मैलुङ सडक सुधारको काम शुरू

२०७७ कार्तिक, २  
वाग्मती प्रदेश
NA

रसुवा । तीन वर्ष अगाडि कच्ची सडकको रूपमा खोलिएको स्याफ्रु–मैलुङ सडक सुधारका काम अगाडि बढेको छ । अन्तरराष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली र कालोपत्रसमेतका काम गराउन पहिलो चरणमा सडक सतह मिलाउने काम अगाडि बढेको हो ।

कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य मापदण्ड पूरा गरी केही उपकरणका साथै ४० भन्दा बढी मजदूर परिचालन भएका छन् । नियमानुसार निर्माण व्यवसायी कम्पनी छनोट गर्ने काम सम्पन्न भई गत भदौदेखि स्थलगत रूपमा राजमार्ग सुधारको काम अगाडि बढेको प्राविधिकहरूले बताएका छन् ।

गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार राजमार्ग सुधारका काम सम्पन्न गराउन भारतीय कन्स्ट्रक्सन कम्पनी तथा सिद्धि शाही जेभीलाई जिम्मा दिइएको छ ।

रू. १ अर्ब ४५ करोडका लागतमा सम्पन्न हुने राजमार्गको सतह ११ मिटर फराकिलो हुने छ । सुधारको काम ३० महीनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भइसकेको बताइएको छ । नेपाल–चीनबीच व्यापारिक कारोेबार गर्ने नेपालको पुरानो उत्तरीनाका रसुवागढीको व्यवस्थापनअन्तर्गत गल्छीदेखि रसुवागढीसम्म डबल लेनको राजमार्गका पूरै भागमा सुधारको काम भइरहेको छ । भौगोलिक कठिनाइ भएका स्थानमा नेपाली सेनाले डबल लेनको ट्र्याक निर्माण गरी पूर्वरक्षामन्त्री ईश्वर पोखरेलमार्फत सडक विभाग मातहतको सुधार आयोजनालाई हस्तान्तरण गरिएको थियो ।

उक्त राजमार्गमा थप मर्मत सुधार एवं कालोपत्र गर्ने काम सम्पन्न भएपछि सामान ढुवानीमा सहज हुने व्यापारी व्यवसायीले बताएका छन् । धादिङको गल्छीदेखि नुवाकोटको देवीघाट, ढुंगे र बेत्रावती, रसुवाको मैलुङ, स्याफ्रुबेँसी हुँदै रसुवागढी अन्तरराष्ट्रिय सिमानासम्म ८५ किमी दूरी छ । राजमार्गमा निर्माण गर्नुपर्ने ३२ सानाठूला पक्की पुलमध्ये तीन ओटाको काम ९० प्रतिशत र आठओटाको काम करीब ५० प्रतिशत भइसकेको छ । निर्माण गर्न बाँकी २१ पुलको भने निर्माण कम्पनी नियुक्तिका लागि प्रक्रिया अगाडि बढिरहेको प्राविधिकले बताएका छन् ।

बेत्रावतीदेखि कालिकास्थान, धुञ्चे हुँदै स्याफ्रुबेँसीसम्म ५४ किमी तथा बेत्रावती–मैलुङतर्फको दूरी २९ किमी छ । नदी किनारबाट निर्माण भएको राजमार्ग उकालो–ओरालोरहित भएकाले मोटर गुडाउन सजिलो र दुर्घटनामा समेत न्यूनीकरण हुने आयोजना प्रमुख भण्डारीले बताए । यस्तै मैलुङतर्फको राजमार्गमा सुधार अगाडि बढेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्