ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

७ महीनापछि पर्यटक आगमन खुला

विदेशीहरू पर्वतारोहण तथा पदयात्रामा जान पाउने

२०७७ कार्तिक, २  
समाचार
Image Not Found

काठमाडौं । कोरोना जोखिमका कारण ७ महीनादेखि बन्द रहेको पर्यटन आगमन कात्तिक १ गतेबाट खुला गरिएको छ । पर्वतारोहण तथा पदयात्रामा आउने विदेशी पर्यटक आगमन शनिवारदेखि खुला भएको हो ।

सरकारले नेपाल आउने विदेशी पर्यटकलाई पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गर्दै कात्तिक १ गतेदेखि पर्यटक आगमन खुला गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । तर, सबैखाले पर्यटक नेपाल आउन भने अरू १ महीना कुर्नुपर्ने छ । पर्वतारोहण तथा पदयात्रामा विदेशी पर्यटक आगमन खुला गरिए पनि पर्यटक नेपाल आएपछि ७ दिन होटेल क्वारेन्टाइन बसेर पुनः परीक्षण गरेपछि मात्रै घुम्न जान पाउने व्यवस्था अव्यावहारिक भएको र यसले पर्यटक आगमन हुने सम्भावना कम रहेको पर्यटन व्यवसायीहरूको धारणा छ ।

पर्यटन व्यवसायीले बढीमा ३ दिन मात्रै होटेलमा राखेर परीक्षण गरी घुम्न पठाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले चैत ५ देखि बन्द गराएको अनअराइभल भिसा पनि यसअघि नै खुला गरिसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्वीटजरल्यान्ड, सोमालिया, क्यामरून, लाइबेरिया, इथियोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् ।

सरकारले पर्यटक आगमन खुला गरे पनि तत्काल सोचेअनुरूप विदेशी पर्यटक आइहाल्ने स्थिति बनिनसकेको होटेल संघ नेपाल (हान) का अध्यक्ष सृजना राणाले बताइन् । होटेलहरू विदेशी वा स्वदेशी दुवै खालका पर्यटकको स्वागतार्थ तयारी अवस्थामै रहे पनि स्वास्थ्य सुरक्षा महत्त्वपूर्ण विषय भएकाले पर्यटक आगमन हुने सम्भावना कम रहेको उनको तर्क छ । उनले १ साताको होटल क्वारेन्टाइन अलि लामो हुने भएकाले त्यसमा पुनर्विचार गर्न व्यवसायीहरूले माग गर्दै आएको बताइन् ।

कोरानाकै बीच पनि प्रोटोकलको पालना गरी पर्यटकलाई ल्याउन केही मात्रामा सकारात्मक सन्देश प्रवाह गर्ने उनको धारणा छ । ‘पर्यटक आगमन खुले पनि नेपालमा कोरोना संक्रमण बढिरहेको सन्दर्भमा विदेशी पर्यटक पहिले जसरी नआउन सक्छन् । हामीले अहिले अन्तरराष्ट्रियभन्दा पनि आन्तरिक पर्यटनलाई जोड दिन आवश्यक छ,’ उनले भनिन् ।

हानका अनुसार पदयात्रा र आरोहणका प्याकेज लिएकाहरू नेपाल आउन चाहिरहेका छन् । सरकारको अहिले खुला गरेको क्षेत्र पनि यही हो ।

विश्वभर विदेशी पर्यटकलाई स्वास्थ्य मापदण्ड लागू गरेर खुला गरिरहेको सन्दर्भमा नेपालमा पनि खुलाएर सकारात्मक सन्देश मात्रै दिन खोजिए पनि सातदिने लामो क्वारेन्टाइनले पर्यटक आगमन नहुने नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागार्ईंले बताए । यसअघि ७२ घण्टाको पीसीआर रिपोर्ट लिनेले घुम्न पाउने गरी सीसीएमसीले निर्णय गरे तापनि मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृति दिएको छैन । यसले गर्दा पर्यटक आएर ७ दिन क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यता छ । उनले भने, ‘हामीले यो निर्णयमा पुनर्विचार गर्न भनेका छौं । क्वारेन्टाइन समय नघटेसम्म र एअरपोर्टमा पीसीआर परीक्षणको व्यवस्था नगर्दासम्म पर्यटक आउँदैनन् । लामो समयको क्वारेन्टाइन भन्नेबित्तिकै पर्यटकहरूको धारणा नै परिवर्तन हुन्छ । तर, ३ दिनको तयारी भनेर होटेलमा राख्दा भने सहज हुन्छ,’ उनले भने ।

यसैबीच, नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड–२०७७ बमोजिम सबै पर्यटकका लागि भिषा सिफारिश गर्न सरोकारवाला संस्थालाई अनुरोध गरेको छ । नेपाल आउने पर्यटकले ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बीमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ भने पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बीमाको काजगजात अनिवार्य ल्याउनुपर्ने छ । उनीहरूले कम्तीमा ७ दिन होटेल क्वारेन्टाइन रहने गरी होटेल बुकिङको कागजात पनि अनिवार्य गरिएको पर्यटन बोर्डले जानकारी दिएको छ ।

टुरिजम रिकभरी टास्क फोर्स (टीरआरटीएफ) का संयोजक दीपकराज जोशीले आन्तरिक र विदेशी पर्यटक आगमन खुला गरे पनि नेपाल आउने पर्यटकलाई सहज रूपमा आफ्नो गन्तव्यमा जान तीनै तहको सरकारबीच समन्वय आवश्यक भएको बताए । कतिपय गाउँपालिकाहरूले अहिले पनि पर्यटक आगमन निषेध गरेकाले समन्वय आवश्यक भएको उनले बताए ।

सरकारले पर्वतारोहण तथा पदयात्रामा विदेशी पर्यटक आगमन खुला गरेकै दिन खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिकाभित्र निकट भविष्यमा हुने हवाई तथा हेली उडानमार्फत जाने सबै यात्रुलाई अनिवार्य पीसीआर टेस्ट सुनिश्चित गरेर मात्र उडान गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्