ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

युवा श्रमको उपयोग

२०७७ कार्तिक, ३  
लेख | दृष्टिकोण
Image Not Found

युवालाई देश विकासको आधार तथा सुनौलो भविष्य निर्माणका लागि ज्यादै महत्त्वका साथ हेरिन्छ । त्यसैले राज्यले युवालाई उद्यमशील र सृजनशील बनाउन विशेष दायित्त्व वहन गर्नुपर्छ । तर, विकास निर्माणमा र युवालाई नेतृत्वमा पुर्‍याउने कार्यमा राज्य चुकेको देखिन्छ । दिगो विकासको अवधारणा नेपालमा सन् १९८० को दशकदेखि थालनी भएको हो ।

विसं २०६६ मा युवालाई लक्षित गरी राष्ट्रिय युवा नीति निर्माण गरेको देखिन्छ । तर, त्यसमा विभिन्न कमजोरी रहेको पाइन्छ । युवा वेरोजगारी सामाजिक मनोेवैज्ञानिकलगायत समस्याका कारण हजारौंको संख्यामा शिक्षित युवावर्ग अवसरको खोजीमा विदेश पलायन भएका कारण नेपालमा प्रतिभा पलायनको क्रमसमेत बढेर गएको छ ।

यस्तो हुनुमा हाम्रो शिक्षा अव्यावहारिक नहुनु, युवालक्षित कार्यक्रमको अभाव र नेतृत्व तहमा युवा पुस्ता सहभागिताको कमी कारण हुन् ।

देशमा युवालाई आकर्षित गर्ने नीति तथा कार्यक्रम नहुँदा दैनिक लगभग २ हजार युवा खाडीराष्ट्रलगायत अनेकौं राष्ट्रमा श्रम बेच्न विवश छन् । युवाशक्तिलाई देशमा राख्न नसक्दा आफ्नो घरखेत नै बन्दकी राखेर विदेश जाने गरेका छन् ।

युवानीतिमा १५ वर्षदेखि ४० वर्ष सम्मकालाई युवा मानिएको छ तर सामान्यतया सरकारी नोकरीका लागि उपयुक्त मानेर ६० वर्षसम्मका व्यक्ति नै युवा हुन् भन्न सकिएला । युवावर्गको नेतृत्वमा उत्तम र सफल बनेका विविध निजी कार्यालयहरू नभएका होइन्, बैंकिङ तथा सूचनाप्रविधिका क्षेत्रमा युवा नेतृत्वले उल्लेख्य प्रगति गरेको छ, जुन राम्रो दृष्टान्तका रूपमा रहेको पनि छ । सूचनाप्रविधिको विकास तथा प्रयोगबाट नेपाली युवाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा समेत नाम राख्न सफल भएका छन् । यो युवावर्गकै लागि पनि गर्व गर्ने विषयसमेत हो ।

समग्रमा युवा नै देशको समस्त विकासको महत्त्वपूर्ण जनशक्ति हुन् तसर्थ उनीहरूलाई परिचालन गर्न राज्यले विशेष नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । युवालाई उद्यमी बनाउने नीति हुनुपर्छ । युवालाई कृषि पर्यटन र अन्य विविध क्षेत्रमा स्वदेशमा नै रहेर कार्य गर्ने वातावरण सृजना गर्नमा विलम्ब गर्नु हुँदैन ।

देशको आर्थिक विकासमा उनीहरूलाई उपयोग गर्नुपर्छ तबमात्र देशले नवीन ढंगले विकास गर्ने अवसर पाउन सक्छ । तर, बेरोजगारीका कारण वर्षेनि ४ लाखभन्दा बढी युवा विदेशिने गरेका छन् । उनीहरूलाई देश निर्माणमा लगाउन सकिएको छैन । युवाशक्ति भएको देशलाई अहिले महत्त्वपूर्ण मान्न थालिएको छ । किनभने उनीहरूले नै वस्तु तथा सेवामा बढी उत्पादकत्व दिन सक्छन् ।

हामो शिक्षा शीपमूलक र स्वरोजगार बन्न नसकेको वास्तविकतालाई जानेर पनि राज्यले कुनै प्रभावकारी कदम चाल्न सकेको देखिँदैन । कृषिलाई व्यावसायिक र आकर्षणको क्षेत्र बनाउन नसक्दा थप समस्या सृजना भएको छ । विश्वव्यापी रूपमा आहत बनाएको कोरोना रोगकै कारण बेरोजगारी बढ्ने निश्चित छ । कृषिमा निर्भर रहेकाले नै राज्यबाट कुनै राहत नपाएको गुनासो चर्को रूपले उठेको देखिन्छ । भूमि बैंकको व्यवस्था गरी खेती गर्ने किसानको हितमा परिणाम देखिने काम किन गर्न सकिँदैन ? यसलाई व्यवस्थित र आकर्षणको पेशा बनाउने भनिएको छ, जुन सकारात्मक भए पनि कार्यान्वयन निकै कठिन देखिन्छ । कोरोनाकै कारण हजाराैंको रोजगारी गुमेको अवस्थामा राज्यले युवालक्षित योजना बनाई व्यावहारिक रूपमा देखिने गरी कार्य गर्नुपर्ने देखिन्छ । यसका लागि हरतरहले सम्बद्ध कार्यालयको तदारुकताको खाँचो देखिन्छ । जमीन हुनेले खेती नगर्ने पाखुरा बलियो हुनेको एक आना पनि जमीन नहुने वास्तविकतातिर खोइ ध्यान गएको त ? हजारांै किसानले अनुदान पाएर कृषिमा लाग्ने थप हौसला दिन के र कस्ता अवरोध सृजना भएको छ त्यता पनि विचार पुग्नुपर्ला । अनेकौं चरणको सरकारी काम गर्ने जुन शैली रहेको छ, त्यसले सहजताभन्दा असहजता बढाउने काम हँुदा नै कृषक थप मारमा परिरहेको यथार्थ भुल्नु हुँदैन ।

पसिना बगाएर र मेहनत गरेर जीवनयापनमा लागाैँ भन्दैनन् । ठेक्का अनि अन्य काम जहाँ मात्र माध्यम बनेर ठूलो रकम लिन पल्केकाले किन मेहनत गरेर पसिनाको कमाइ खानेतिर दिमाग लगाउन चाहन्छ । होनहार युवाशक्ति खेर गएको नमिठो यथार्थ सबैमा जगजाहेर नै छ । आज सबैमा घरघरमा नै रोजगारी त्यो पनि कृषिमा ज्यादा सम्भावना भएकाले आम जनमा थप आशा मरिसकेको भने छैन ।

सरकार सबैको हुनुपर्छ । त्यसमा पनि कम्युनिस्ट पार्टीको बहुमतको छ तर जनअपेक्षाको र जनहितमा केकति काम यस अवधिमा सम्पादन गरेको छ त । जताततै कोरोना देखाउँदै उम्कन नसकिएला । समयले सबै बताउनुपर्ने अवस्था अवश्य नै आउनेछ । देशमा रोजगारी, शिक्षा, स्वास्थ्य सामान्य उपभोग्य वस्तुको सहजता भएमा किन मानव विदेशमा मरिहत्ते गरेर जाने गर्छ र । बाध्यताले घरखेत नै धितोमा राखेर जानुमा राज्य जिम्मेवार हुँदैन त ।

युवा वर्गलाई उद्यमशीलतासँग नजोेडेसम्म यो वर्गले मुलुकको उन्नतिमा ठोस योगदान दिन सक्दैन । धेरै देशमा युवाको संख्या कम भएकाले समस्या हुन थालेको छ । तर, नेपालमा युवाको संख्या बढी छ । त्यो भनेको विकासका लागि ठूलो माध्यम हो । विकसित देशमा युवा जनशक्तिको अभाव भएकाले विदेशी कामदार ल्याउने गरिएको हो । नेपालबाट युवाहरू विदेशमा काम गर्न जाँदा तत्कालका लागि नेपाललाई फाइदा त भएको छ तर दीर्घकालीन दृष्टिले हेर्दा भने फाइदा छैन । विप्रेषणका कारण गरीबी घटेको, शिक्षा स्वास्थ्यको पहुँच बढेकोलगायत परिवर्तन आएका छन् । तर, देशको उत्पादन र उत्पादकत्व भने छैन । त्यसैले कृषि प्रधान मुलुक भएर पनि खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ ।

युवाहरूलाई यहीँ कृषिमा लगाउन सके देशको उत्पादकत्व बढ्छ, दिगो विकासको जग पनि बस्छ । त्यसैले युवा वर्गलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने नीति हुनुपर्छ ।

लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्