ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विवाद निराकरणमा मेलमिलाप

मेलमिलापकर्ताको भूमिका र दायित्व

२०७७ कार्तिक, ३  
लेख | दृष्टिकोण
Image Not Found

विवाद निराकरण गर्ने विविध उपायमध्ये मेलमिलाप प्रक्रिया एउटा उत्तम विकल्प हो । कानूनबमोजिम विवाद निरूपण गर्ने अदालती प्रक्रिया विवाद समाधानको एउटा बाटो हो । कानून र अदालती प्रक्रियाबमोजिम विवाद निरूपण गर्दा न्याय, अन्याय र इन्साफको कुरा महत्त्वपूर्ण हुन्छ । मेलमिलाप प्रक्रियामा भने कानून, न्याय र अदालतको प्रक्रियाभन्दा बाहिर रहेर (कानूनसम्मत तरीकाबाटै) विवादित पक्षहरूबीच विवाद समाधान गर्ने गराउने उद्देश्यले विवादका पक्षहरूलाई नै अग्रसर गराई उनीहरूबाटै विकल्पको खोजी गरिन्छ । यसले गर्दा उनीहरूबीच आत्मीय सम्बन्ध बढाउन मद्दत पुग्छ । यो यस्तो प्रक्रिया हो, जसमा विवादित पक्षहरू नै आपसी सल्लाह र सहमतिअनुरूप विवाद निराकरण गर्छन् ।

स्वतन्त्र सहमतिअनुरूप गरिएको मेलमिलापले स्थायी र मैत्रीपूर्ण सम्बन्ध कायम गराउनुका साथै भाइचाराको संस्कृतिको निर्माण हुने विश्वास गर्न सकिन्छ । हारजितभन्दा माथि उठेर दुवै पक्षको जितको अनुभूति गराउन, सामाजिक शान्ति र सुसम्बन्ध कायम गर्नुका साथै समृद्धितर्फ उन्मुख हुनका लागि यो महत्त्वपूर्ण छ । ‘सर्वजन हिताय, सर्वजन सुखाय’को सिद्धान्तबाट प्रेरित यस प्रक्रियाबाट विवाद समाधान गर्दा माथिल्ला न्यायिक निकाय अर्थात् तहगतरूपमा अदालत धाउनु पर्दैन । मुद्दा अन्तिम हुन्छ । मुद्दामा लाग्ने श्रम समय र खर्च बचत हुन्छ । यसै सन्दर्भमा सबै नागरिकको न्यायमा सहज पहुँच होस् भन्ने उद्देश्यले स्थानीय तहमा न्यायिक समिति रहने व्यवस्था गरिएको छ ।

न्यायमा सहज पहुँच हुनु सबैको आधारभूत मानवाधिकार हो तर पनि सबै वर्ग, तह र तप्काका व्यक्तिहरूको न्यायमा सहज र सरल पहुँच स्थापित हुन सकेको छैन । विविध कारणले स्थानीय स्तरमै मिल्ने प्रकृतिका विवादहरू समेत अदालततर्फ प्रवेश गरिरहेको अवस्था अझैसम्म कायम भएकैले हाल आएर सकेसम्म स्थानीय स्तरका विवादहरू मेलमिलापका माध्यमबाटै प्राथमिकताका साथ समाधान गराउन सकियोस् भन्ने धारणा विकसित भएको पाइन्छ । संविधानको परिकल्पनाअनुरूपको स्थानीय सरकार सञ्चालन ऐन २०७४ लागू भएपछि, स्थानीय तहमा न्यायिक समिति गठन भइसकेको अवस्थामा यसको महत्त्व र दायरा अझै फराकिलो भएको छ ।

मेलमिलाप
अदालतबाट कुनै पनि विवाद वा मुद्दाका सन्दर्भमा दिइने समाधानको विकल्प मेलमिलाप हो । यो प्राचीन इतिहास र पृष्ठभूमि भएको विवाद समाधानको सशक्त पद्धति हो, जुन सामाजिक रूपमा अझै पनि प्रचलनमा छ । वर्तमान विश्वमा इतिहासको त्यो पद्धति झनै परिमार्जित र वैज्ञानिक रूपमा अघि बढेको छ । हामीकहाँ पनि इतिहासदेखि नै यसको प्रयोग हुँदै आएको छ । यो विवादका दुवै पक्षलाई सहज वातावरण बनाउने वार्ता प्रक्रिया पनि हो ।

मेलमिलाप भनेको विवादित पक्षहरूले मेलमिलापकर्ताको सहयोगमा विवाद वा मुद्दाको निरूपण गर्न अपनाइने प्रक्रिया हो ।

कुनै पनि विवाद वा मुद्दामामलाका सन्दर्भमा त्यस्तो विवाद समाधानको एक यस्तो उपाय हो, जसमा निष्पक्ष र तटस्थ तेस्रो व्यक्ति संलग्न भई विवादित पक्षहरूकै सहमतिमा विवादको निराकरण गर्न अपनाइने प्रक्रिया मेलमिलाप हो । यसमा विवादित पक्षहरूलाई खुशीका साथ परिणाममुखी समाधानमा पु¥याउन तेस्रो पक्षले अर्थात् मेलमिलापकर्ताले सहयोग गरेको हुन्छ ।

मेलमिलापकर्ता र निजको भूमिका
मेलमिलापकर्ता भन्नाले पक्षहरू बीचको विवादलाई छलफल गराई सहज वातावरण सृजना गर्न तथा सो विषयमा सहमति कायम गर्न लागि उत्प्रेरित गर्न यस ऐनबमोजिम नियुक्त मेलमिलापकर्ता सम्झनुपर्छ भनी मेलमिलापसम्बन्धी ऐन २०६८ ले भनेको पाइन्छ ।

मेलमिलापकर्ता विवादसग असम्बद्ध तेस्रो व्यक्ति हो, जसलाई विवादित पक्षहरूबीच प्रभावकारी रूपमा निष्पक्ष र सक्षमतापूर्वक मेलमिलाप गराउनका लागि नियुक्त गरिएको हुन्छ । ऊ स्वतन्त्र र तटस्थ हुन्छ । वकील, पक्ष र न्यायाधीश हुनै सक्दैन र हुनु पनि हुँदैन ।

उसले केवल तटस्थ र निष्पक्ष रहेर विवादित पक्षहरूको बीचमा सहजकर्ताको भूमिकामा मात्र रहनुपर्छ । सकेसम्म आफूले विकल्प पनि दिने होइन, विवादित पक्षहरूबाटै विकल्पको खोजी गराउनुपर्छ । मेलमिलाप प्रक्रियामा मेलमिलापकर्ताको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ ।

उसकै कारण कहिलेकाहीँ सामान्य विवाद हुने र कहिलेकाहीँ गम्भीर विवाद पनि मिल्ने हुन्छ । उसको सक्षमता र प्रभावकारितामा नै समग्र मेलमिलाप कार्य निर्भर हुने गर्छ । पक्षहरूलाई सशक्तीकरण गर्नुका साथै उनीहरूको आत्मनिर्णयलाई प्रोत्साहित गर्नुपर्छ ।

मेलमिलापकर्तामा विवादित पक्षहरू र विषयवस्तुस“ग कुनै पनि प्रकारको स्वार्थपूर्ण सम्बन्ध रहेको हुनु हु“दैन । निष्पक्ष, तटस्थ र संयोजनकारी भूमिकामा रहनुपर्छ ।

मेलमिलापसँग सम्बद्ध सैद्धान्तिक कुराहरूका बारेमा पक्षहरूलाई बुझाउने प्रशिक्षक र विवादसँग सम्बद्ध कुरामा व्यावहारिक भएर त्यसै प्रकृतिको भूमिकामा देखिनुपर्छ । आफ्नो र विवादित पक्षहरूको हैसियतलाई बिर्सिएर सकारात्मक रूपमा केवल सहजकर्ताको र सञ्चार सहयोगीको भूमिकामा रहनुपर्छ, निर्णयकर्ताका रूपमा होइन ।

विवाद समाधानको सम्बन्धमा मेलमिलापका विभिन्न प्रविधिहरू उपलब्ध गराएर सहमतिमा पु¥याउने कडीको रूपमा सकारात्मक मार्गनिर्देशकको भूमिकामा रहनुपर्छ । कहिलेकाहीँ विवादको एउटा पक्षले बोलेको भाषा अर्को पक्षले नबुझ्ने वा विपरीत अर्थमा बुझेको हुन सक्छ । त्यस अवस्थामा विवाद समाधान हुने भन्दा झनै बढ्ने डर हुन्छ, त्यस अवस्थामा मेलमिलापकर्ताले पक्षहरूको भाषा, मनसाय र व्यवहारको दुवै पक्षले बुभ्mने गरी अनुवाद गरिदिई विवाद समाधान गर्नेतर्फ महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।

मेलमिलापकर्तामा हुनैपर्ने गुणहरू
मेलमिलापसम्बन्धी सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक शीप भएको, आवश्यक परेका बखत पक्षहरूलाई सम्झाउन सक्ने क्षमता भएको, मेलमिलाप कार्यप्रति प्रतिबद्धता भएको र विवादित पक्षहरूबाट स्वीकार्य भएको हुनुपर्छ । विवादित पक्षहरूको कुरा धैर्यपूर्वक सुन्न सक्ने क्षमता भएको, प्रचलित कानूनी व्यवस्थाबारे पूर्ण जानकार रहनुका साथै सौदाबाजीको नियम सम्बन्धमा जानकार हुनुपर्छ । सञ्चार शीप भएको, दुवै पक्षलाई समदूरीमा राख्न सक्ने र पक्षहरूको मनोभावना बुझ्न सक्ने हुनुपर्छ । गोपनीयता कायम राख्न सक्ने हुनुपर्छ । लैंगिक, जातीय, धार्मिक र सांस्कृतिक विविधताप्रति जानकार रहेको हुनुका साथै विवादित पक्षहरूप्रति सम्मानपूर्वक व्यवहार गर्न सक्ने हुनुपर्छ ।

मेलमिलापकर्ताको दायित्व
विवादका पक्षहरूको मनोभावना, संवेदनशीलता र आक्रोशहरूको समुचित व्यवस्थापन गर्दै कुशलतापूर्वक मेलमिलाप प्रक्रिया अघि बढाउने तथा विवाद समाधानका सर्वोत्तम र हरसम्भव वैकल्पिक उपायहरूको खोजी गर्न सहयोग पुर्‍याउने काम मेलमिलापकर्ताको हुन्छ । विवादित पक्षहरूलाई सुझबुझ तथा पूर्ण सुसूचित भएर निर्णय गर्न सक्ने क्षमताको विकास गराउने र विवादित पक्षहरूलाई एकअर्काले व्यक्त गरेका कुराहरू धैर्यका साथ सुन्न लगाएर उनीहरूबीच भएको कुराको गोपनीयता कायम राख्ने दायित्व उसको हुन्छ । पक्षहरूबीचको विवादमा आफूले निर्णय नगरी सहमतिमा पुग्न सहयोग गर्दै विवाद समाधानका लागि उत्तम वैकल्पिक उपायहरूको खोजी गरिदिनुपर्छ । एक पक्षको सहमति बेगर अर्को पक्षसँग व्यक्तिगत वा अनौपचारिक भेटघाट गर्नु हुँदैन । कुनै एउटा पक्षको हितलाई मात्र ध्यान दिई अर्को पक्षलाई गम्भीर मर्का पर्ने गरी मेलमिलाप गराउन हुँदैन ।

विवादित पक्षहरूलाई कुनै प्रकारको अनुचित दबाब, प्रभाव वा प्रलोभनमा पार्नु हुँदैन । सार्वजनिक नीति तथा नैतिकता अनि व्यक्तिका हकहितविरुद्ध साथै कानूनी, र न्यायिक प्रक्रियाको दुरुपयोग हुने गरी मेलमिलाप प्रक्रिया सञ्चालन गर्नु हुँदैन । मेलमिलाप परिषद्बाट जारी भएको मेलमिलापकर्ताको आचार संहिताको पूर्ण पालना गर्नुपर्छ ।

मेलमिलाप प्रक्रिया केवल व्यवसाय मात्र होइन, यो समाज सेवा पनि हो । मानवाधिकार, सामाजिक न्याय र आत्मसम्मानविना दिगो शान्ति सम्भव छैन भन्ने कुरा विश्वव्यापी रूपमै भएका विविध घटनाबाट प्रमाणित भइसकेकै छ । मेलमिलापकर्ता भएर काम गर्नेले कानून, समन्याय, मानवाधिकार, सामाजिक न्यायका साथै मेलमिलापसम्बन्धी सिद्धान्त र प्रचलित व्यवहारको जानकारी राख्नैपर्छ । विशेष गरी मेलमिलापकर्ताले अधिकार मात्र होइन कर्तव्यप्रति बढी सचेत हुनुपर्छ । उसको सक्षमता र प्रभावकारितामा नै मेलमिलापको सफलता र असफलता धेरै हदसम्म निर्भर हुन्छ । कुशल मेलमिलापकर्ताको क्षमताको सेरोफेरोमा नै समग्र प्रक्रिया घुमेको हुन्छ ।

भावनात्मक रूपमा र परिणामका रूपमा दुवै पक्षलाई चित्त बुझाउन सक्ने क्षमता भएका व्यक्तिहरू नै कुशल मेलमिलापकर्ता हुन सक्छन् ।

लेखक मेलमिलापकर्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्