ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राज्यले मिडियालाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक : मिडिया सोसाइटी

क्लिन फिड तोकिएकै मितिदेखि लागू हुन्छ : सञ्चारमन्त्री गुरुङ

२०७७ कार्तिक, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तोकिएकै मितिदेखि क्लिन फिड लागू हुने बताएका छन् । विज्ञापन ऐनमा भएको व्यवस्था अनुसार नै कात्तिक ७ गतेदेखि क्लिन फिड लागू गर्नेगरी मन्त्रालयले तयारी गरिसकेको जानकारी समेत उनले दिए ।  मिडिया सोसाइटीले आइतवार गरेको अन्तरक्रिया कार्यक्रममा उनले केही समय थपेर यो लागू गर्नुपर्छ भन्ने माग आए पनि मन्त्रालय कानून कार्यान्वयनबाट पछाडि फर्किने अवस्थामा नरहेको बताए ।

सरकारले मिडिया क्षेत्रको समग्र विकासका लागि चालेका सैद्धान्तिक विषयमा सरोकारवालाहरूसँग छलफल तथा संवाद गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मिडियालाई सरकारको कमी कमजोरीका नराम्रो पक्षमा रचनात्मक आलोचना गर्न आग्रह गरे ।  राजनीतिमा असल संस्कार आवश्यक भएझैं मिडियामा पनि व्यावसायिकता आवश्यक भएको उल्लेख गर्दै उनले मिडियाको विकासका लागि सरोकारवालाहरूका सुझावलाई सहज ढंगले लिँदै कार्यान्वयमा लैजाने बताए । यस्तै उनले विज्ञापन ऐन अनुरूप विज्ञापन बोर्ड पनि छिट्टै गठन गरिने बताए । हाललाई मन्त्रालयका सहसचिवको नेतृत्वमै बोर्ड गठन हुने र सचिवको नेतृत्वको समितिले नयाँ व्यक्ति सिफारिश गरेपछि सोही अनुसार बोर्डलाई पूर्णता दिइने उनको भनाइ छ ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले कोभिड–१९ ले मिडियामा पारेको प्रभाव अध्ययन गर्न मन्त्रालयले समिति नै गठन गरेको जानकारी दिँदै समितिको प्रतिवेदनका आधारमा थप रणनीति तय गरिने बताए । ‘सञ्चार क्षेत्रमा नयाँ ऐन नियम आउन लागिरहेको सन्दर्भमा सरोकारवालाहरूसँग थप छलफल गरेर अगाडि बढ्न मन्त्रालय तयार छ,’ उनले भने ।

मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले आफूहरू सरकारले मिडियालाई राहत देओस् भन्ने भन्दा पनि मिडियाको दीर्घकालीन विकासको नीति बनोस् भन्ने पक्षमा रहेको बताए । क्लिन फिड मिडियाको दीर्घकालीन विकास, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्तासँग जोडिएको विषय भएकाले तोकिएकै मितिमा ऐन कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । लोकतन्त्र, गणतन्त्र र परिवर्तनका पक्षमा राजनीतिक दलसँगै रहेका मिडियालाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने उनले बताए । ‘हामी सरकारलाई यो देऊ, त्यो देऊ भनिरहका छैनौं,’ उनले भने, ‘तर, मिडियाको पनि अन्य उद्योग सरह बैंकबाट ऋण दिन सक्ने अवस्थाको वातावरण बनोस् भन्ने हो, जसले गर्दा संकटको अवस्थामा रहँदा मिडियामा काम गर्ने सञ्चारकर्मीले तलब पाएनौं भन्ने अवस्था नआओस् र मिडियाको पनि विकास गर्न सकियोस् ।’

सोसाइटीका महासचिव मदन लम्सालले सरकारले मिडियालाई हेर्ने र बुझ्ने विषयमा स्पष्टता आवश्यक भएको बताए । त्यो स्पष्टताको अभावकै कारण संवादहीनताको अवस्था आएको उनको भनाइ छ । ‘मिडिया जनसुकै सरकार आए पनि उसको धर्म अनुसार ऊ रचनात्मक हुनैपर्छ । तर सरकारको बुझाइमा समस्या रहँदा संवादहीनताको अवस्था विद्यमान छ,’ उनले भने, ‘सरकारले मिडियालाई पनि सरकारका सहयोगी हुने भन्ने बुझ्दा अहिले गरिरहेका कामलाई पनि थप प्रभावकारी बनाउन सकिन्थ्यो ।’ आमसञ्चार ऐनका बारेमा सरोकारवालाहरूसँग बृहत् छलफलको आवश्यकता समेत उनले औंल्याए ।

सोसाइटीका पूर्वअध्यक्ष कैलाश सिरोहियाले मिडिया अन्य पेशा जस्तै मन लागे खोल्ने, मन नलागे बन्द गरिहाल्ने पेशा नभएकाले सरकारले सोही अनुरूप मिडियालाई हेर्नुपर्ने बताए । सरकारले मिडियाको अभिभावकत्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले क्लिन फिड लागू गर्ने विषय राष्ट्रियतासँग जोडिएकाले यसको सफल कार्यान्वयनका लागि मन्त्री गुरुङलाई आग्रह गरे । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का अध्यक्ष सुवास खतिवडाले देशमा सामुदायिक रेडियोहरूले जनताबीच सूचना प्रवाहमा ठूलो भूकिका निर्वाह गरेको भन्दै सरकारले मिडियाको विकासमा बृहत् दृष्टिकोण र सोच राख्न आवश्यक भएको बताए । ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान)का सचिव राजकुमार थापाले कोभिड महामारीले थलिएका मिडियाको विकास विस्तारमा राज्यको पनि भूमिका रहनुपर्ने बताए । दूरदराजमा आम जनतालाई सूचना सम्प्रेषण गर्न रेडियोहरूले निर्वाह गरेको भूमिकालाई कम आकलन गर्न नमिल्ने भन्दै उनले रेडियोहरूलाई पनि समानुपातिक विज्ञापन वितरण गर्न आग्रह गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्