ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भेरी–बबई डाइभर्शन आयोजना : अझै शुरू भएन विद्युत्गृह निर्माण

२०७७ कार्तिक, ४  
गण्डकी प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्शन बहुउद्देश्यीय आयोजनाको विद्युत्गृह निर्माण अझै शुरू हुन सकेको छैन । आयोजनाको बाँध निर्माण ३० प्रतिशत सम्पन्न भइसक्दा समेत विद्युत्गृह निर्माणको टुंगो लागेको छैन । यसले आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा शंका बढाएको छ ।

आयोजनामा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टीबीएम)ले सुरुङ निर्माण सम्पन्न गरेको १ वर्षभन्दा बढी भइसक्दा समेत बबईमा विद्युत्गृह निर्माणको भने तयारी नै भएको छैन । भेरी नदीमा बाँध (ड्याम साइट)को काम समेत अपेक्षित गतिमा हुन सकेको छैन ।

सुरुङ खन्ने काम तीव्र गतिमा भए पनि त्यहाँबाट पानी ल्याएर विद्युत् उत्पादन गर्नुपर्ने विद्युत्गृहको काम सँगसँगै लैजान नसक्दा यो आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न नसकिने देखिएको छ । भेरी नदीको पानी भेरीगंगा नगरपालिका–९, को चिप्लेदेखि भेरीगंगा नगरपालिका–१ को हात्तीखालमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना निर्माण थालिएको हो । तर अहिलेकै गतिमा काम अघि बढे पनि तोकिएको समयमा आयोजना सम्पन्न हुने सम्भावना कम रहेको सरोकारवालाहरूले बताएका छन् ।

आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले आयोजनाको दोस्रो चरण अन्तर्गत गतवर्षको भदौदेखि शुरू भएको बाँध निर्माणको भौतिक प्रगति कोरोना महामारी लगायत कारणले कम देखिएको बताए । यस वर्ष मनसुन चाँडै शुरू भएकाले पनि बाँध निर्माणमा बाधा पुगेको उनको भनाइ छ । ‘पहिले बनाएको कफर ड्याममा (नदीको पानी फर्काउने बाँध) बाढीले केही क्षति पु¥याए पनि अहिले नदीको पानी कम हुँदै गएकाले निर्माण तीव्रस्तरमा अघि बढ्छ,’ उनले भने, ‘बाँधको फाउण्डेशन पूरा हुनेबित्तिकै अन्य कामले गति लिन्छ ।’

बाँध र विद्युत्गृह बनाउने जिम्मा एउटै ठेकेदारको भएकाले पहिले ड्याम साइटको फाउण्डेशनको काममा जोड दिइएको उनले बताए । उनका अनुसार आयोजना निर्माण कम्पनीलाई पहिलो चरणमा भेरीमा बाँध र दोस्रो चरणमा बबईमा विद्युत्गृह निर्माणको प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ ।

उनले यस्तो बताए पनि आयोजनाको बाँधकै निर्माण प्रगति कमजोर देखिएको छ । हेडवक्र्स, सर्ज साफ्ट, पेनस्टकजस्ता सिभिल संरचना निर्माण पनि अझै बाँकी छ ।

आयोजनाले २०६४ सालदेखि नै प्रत्येक वर्ष सरदर १ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ । दोस्रो चरणको ठेक्का अन्तर्गत विद्युत्गृह निर्माणको जिम्मा रमण–क्वाङ्तोङ जेभीले पाएका छन् । दोस्रो चरणमा ६ गेजको ब्यारेज, सर्ज साफ्ट, विद्युत्गृह लगायत संरचना पर्दछन् । यसका लागि आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख बजेट खर्च गर्दै छ । सम्झौता भएको मितिले ४८ महीनाभित्र दोस्रो चरणको काम सम्पन्न गर्ने कार्यादेश पाएको कम्पनीले सम्पूर्ण काम भने आर्थिक वर्ष २०७९÷८० सम्म सम्पन्न गर्नुपर्नेछ ।

निर्माणमा चुनौती थपिँदै
कर्णालीको समृद्धिसँग जोडिएको उक्त आयोजनामा बेला–बेला आउने विभिन्न प्रकारका अवरोधले निर्धारित मितिमै सम्पन्न गर्न चुनौती देखिएको छ । स्थानीय र निर्माण ठेकेदार कम्पनीका प्रतिनिधिबीच उत्पन्न विवादमा आयोजना कार्यालयले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न नसक्दा थप जटिलता बढ्दै गएको छ । स्थानीयस्तरमा उत्पन्न समस्याबारे आयोजना कार्यालय सुर्खेतसँगै मुख्य कायालय काठमाडौंमा पटक–पटक जानकारी गराउँदा समेत सुनुवाइ नभएको कम्पनीका जनसम्पर्क अधिकारी पिताम्बर सापकोटाले बताए । आयोजना कार्यस्थलमा निर्माण कम्पनीले भोग्नुपरेको समस्याबारे आयोजना प्रमुखलाई जानकारी गराइए पनि चित्तबुभ्mदो उत्तर पाउन नसकिएको उनको भनाइ छ । उनका अनुसार अझै केही जग्गाको मुआब्जा दिन र अधिग्रहण लगायत काम गर्न बाँकी छ ।

आयोजना तोकिएकै समयमा सम्पन्न गर्न प्राविधिक समस्या पनि देखिन थालेको छ । यस्तै साइट हस्तान्तरण हुन नसक्दा हालसम्म विद्युत्गृह निर्माण शुरू गर्न नसकिएको कम्पनीले बताएको छ । गौरवका आयोजना निर्माणमा कन्सल्टेन्टहरूको अनिवार्य उपस्थिति हुनुपर्ने भए पनि हालसम्म उनीहरूको उपस्थिति छैन । कम्पनीका जनसम्पर्क अधिकारी सापकोटाले आयोजनाको डिजाइन बीचमै परिवर्तन हुने, साइट हस्तान्तरण नहुने, ठेकेदारलाई समयमा भुक्तानी दिन नसक्ने जस्ता समस्याले आयोजना निर्माणमा ढिलाइ भएको बताए । ५ वर्षभित्रै सक्नुपर्ने आयोजनाको काम १ वर्षभन्दा बढी बितिसक्दा समेत सन्तोषजनक प्रगति देखिएको छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्