ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपालको संगठनात्मक व्यवहार कठिन मोडमा

२०७७ कार्तिक, ४  
लेख | दृष्टिकोण
Image Not Found

संगठनमा मानिसको समूह, उद्देश्य र संरचना हुन्छ । संगठनभित्र मानव व्यवहारको अध्ययन व्यक्तिगत, सामूहिक र संगठनात्मक तहमा गरिन्छ । कार्यरत कर्मचारीले कुनै संगठनमा कस्तो किसिमले व्यवहार गरिरहेको छ, कार्य सम्पादन सन्तोषजनक छ छैन, अनुशासनको पालना, प्रतिबद्धता, सर्मपण छ छैन भन्ने विषयको खोजी संगठनात्मक व्यवहारमा हुन्छ । संगठन सरकारी, निजी, औपचारिक र अनौपचारिक हुन्छन् । यहाँ संगठन र व्यवहार फरक हुन्छ । सामूहिक उद्देश्य प्राप्तिका लागि आपसी सम्बन्ध, शक्ति, उद्देश्य, सञ्चार, भूमिका एवम् गतिविधिहरूको समग्र संयोजन संगठन हो भने संगठनभित्र आफ्ना उद्देश्य प्राप्तिका लागि कुनै पनि मानिसले गर्ने क्रियाकलाप उसको व्यवहार हो । नेपालको संगठनहरू चाहे सरकारी हुन् वा गैरसरकारी कर्मचारीको कार्य व्यवहार र ज्ञान दक्षताको मूल्यांकन, गुनासाहरूको अध्ययन, कर्मचारीको सन्तुष्टिको तह, दोहोरो सञ्चार, सहभागितामूलक व्यवस्थापनका बारेमा खोज तथा अनुसन्धान गरेर समस्या पत्ता लगाई समाधान गर्ने परिपाटी देखिँदैन ।

संगठनको कार्यप्रकृति अनुरूपको पद सृजना, र योग्यता र व्यावसायिकताको आधारमा कार्य विभाजनका साथै कार्य अदल बदलसमेतको अभावले संगठनहरू आक्रान्त छन् । 

संगठनमा रहेको कुन पदको व्यक्तिले कसलाई कस्तो व्यवहार गर्ने, के काम गर्ने, जवाफदेही र उत्तरदायित्व के भन्ने कुराको निर्धारणको अभाव त छँदै छ यस सम्बन्धमा न त तालीम छ न यसप्रति उत्सुकता नै देखिन्छ । अधिकृतको कार्य र सहायकको कार्य मिल्दोजुल्दो छ । तह ३, ४, ५ र अधिकृत भनेर पद विभाजन भएको भए तापनि कार्यमा अन्तर पाइँदैन र संघसंगठनको दैनिक क्रियाकलाप एडहक वा पुरातन प्रवृत्तिबाट चलेको देखिन्छ । संगठनको कार्यप्रकृति अनुरूपको पद सृजना, योग्यता र व्यावसायिकताको आधारमा कार्य विभाजनका साथै कार्य अदलबदलसमेतको अभावले संगठनहरू आक्रान्त छन् ।

नेपालको संठनात्मक व्यवहार कठिन मोडमा छ भन्नुमा अत्युक्ति नहोला । शैक्षिक क्षेत्र, बैंक तथा वित्तीय संस्था, सरकारको स्वामित्व वा कुनै पनि क्षेत्रको संगठनात्मक सृदृढीकरण र संरचनात्मक सुधारको अभावले जनमानसमा संस्थागत छवि धमिलिएको देखिन्छ । नतीजामुखी संगठनात्मक व्यवहार जटिल भए तापनि व्यक्तिकेन्द्रित, गतिशील, प्रणालीगत, आशावादिता, लक्ष्योन्मुख र मूल्य मान्यतामा आधारित हुनुपर्छ । जसरी बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा संस्थाले खाता खोल्दा ग्राहक पहिचान विवरणको जरुरी पर्छ त्यसरी नै कार्यरत कर्मचारीको पहिचान विवरण भरी त्यसको नियमित अपडेटले मात्र उनीहरूको व्यवहार, रुचि र चाहनाको पहिचान गर्न सकिन्छ र तदनुरूपको कार्यविभाजन गर्न सकिन्छ ।

तर, नेपालको संगठनात्मक संरचनामा हेर्ने हो भने मानाैं कुनै व्यक्ति स्नात्तक उत्तीर्ण गरी संगठनमा भित्रिएको छ भने त्यसपश्चात् उसले प्राप्त गरेको दक्षता, व्यावसायिकता बौद्धिक क्षमता र थप शिक्षा प्राप्तिलाई मानव संसाधन सूचना प्रणालीमा आबद्ध गरेको देखिँदैन । सेवा प्रवेश गर्दा जुन प्रमाणपत्रहरू छन् सो नै यथावत् भएको अवस्थामा कतिपय संगठनमा देखिन्छ । यसले व्यक्तिको व्यवहार र व्यावसायिकता पहिचान गर्न कठिन हुन्छ एकातिर भने अर्कोतिर उपयुक्त व्यक्ति, पेशा र ठाउँमा कार्य विभाजनको सिद्धान्तको पालन गर्न सकिँदैन । त्यसो त नेपालका कतिपय संगठनमा कार्य विस्तृतीकरण र कार्य विशिष्टीकरणको अवलम्बन गरेको पाइँदैन । यसको मुख्य कारण नेपालको प्रशासन, संगठनात्मक व्यवहार राजनीतिक हस्तक्षेप, नातावाद, कृपावाद र युुनियननिजमबाट प्रभावित हुुनु हो ।

व्यक्तिविनाको संगठनको परिकल्पना गर्न सकिँदैन । व्यक्तिको सामाजिक मान्यता पनि फरक हुन्छ । साथै संगठनमा कार्यरत व्यक्तिको आवश्यकता र आंकाक्षा फरक फरक हुने हुँदा कर्मचारीले अपेक्षा गरेको कुराको जबसम्म मिलान वा समन्वय गर्न सकिँदैन तबसम्म संगठनात्मक व्यवहार फलदायी हुन सक्दैन । नेपालका संगठनमा व्यवहारमा सुशासनको पालन गरेको पाइँदैन । के मन्त्री, के सचिव, के कार्यकारी निर्देशक के सहायक सबैमा अनुशासन, समर्पण र कर्तव्यपरायणताको अभाव देखिन्छ । सुशासनमा कमी, बढ्दो भ्रष्टाचार, नियमकानूनको उल्लंघन, तथा उत्तरदायित्व, जवाफदेहिता, पारिदर्शिता, समन्वय, सञ्चार र आत्मनिर्भरताको अभावले संगठनको उत्पादकत्व अपेक्षित बढेको छैन ।

नेपालको संगठनात्मक नीति, निर्देशिका, नियमकानून धेरै बनेको छ । तर, समयसापेक्ष परिवर्तन हुन सकेको छैन । कार्यालयमा बदलिँदो वातावरणअनुरूपको स्रोत र साधनको अभाव, ग्राहकप्रति हाँसेर गर्ने व्यवहारमा कमी, दण्डहीनता, राजनीतिक हस्तक्षेप, छिटोछरितो र गुणस्तरीय वस्तु तथा सेवाको अभाव आदि समस्या देखिन्छ । तनाव व्यवस्थापनको अभाव, उत्प्रेरणामा कमी, उचित तालीमको अभाव, कार्य वातावरणमा ह्रास, वृत्तिविकासमा देखिएको शिथिलता, राम्रोभन्दा हाम्रो भन्ने सिद्धान्त नेपालका संगठनात्मक व्यवहारका चुनौती हुन् । यसको समयसापेक्ष समाधान नहुँदा दिन प्रतिदिन संगठनको शाख खस्किँदै गएको कुरामा कसैको विमति नरहला ।

नेपालले सुखी नेपाली र समृद्ध नेपालको सपनालाई पूरा गर्न, अन्तरराष्ट्रिय क्षेत्रमा शाख वृद्धि गर्न, विदेशी लगानी आकर्षण गर्न, प्रविधिको विकास गर्न, कर्मचारीको व्यावसायिकतामा सुधार गर्न, संगठनको उत्पादकत्व र गुणस्तर बढाउन संगठनात्मक व्यवहारमा तीव्र सुधार जरुरी छ । साथै, सर्वसाधारणलाई देशमा सबै तहका सरकार तथा संगठनहरू क्रियाशील छन् जसले आम मानिसको यथोचित आवश्यकता समयमा पूरा गर्छ भन्ने अनुभूति दिलाउन प्रतिबद्धता र नीतिगत व्यवस्थाभन्दा यथार्थमा यसको कार्यान्वयनको आवश्यकता पर्छ ।

संगठनात्मक व्यवहारमा कुरा धेरै काम थोरैको बाहुल्य दिन प्रतिदिन बढ्नुले रोजगारमा प्रवेश गरेका युवा पिँढीको जोश र जाँगरमा कमी आउँछ । संगठन छोड्ने दरमा वृद्धिसमेत हुन्छ । नेपालमा संगठनात्मक सुधार र व्यवहारमा परिवर्तन ल्याउन सरकारी तवरबाट समेत धेरै आयोग र समितिहरू बने । हरेक निकायमा सुधारका प्रतिवेदनका चाङ लागेको छ तर कार्यान्वयनमा शून्यता देखिनुले थप निराशा बढाउने हुँदा यसप्रति सम्बद्ध निकायले कार्यान्वयनमा जोड दिन आवश्यक छ ।

लेखक बैंक तथा वित्तीय संस्थाको संरचतागत सुधारका विधावारिधि हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्