ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना लाग्दैमा डराउनु नपर्ने सन्देशसहित डिजिटल भुक्तानीमा जोड

सकारात्मक सन्देश बोकेको नबिल बैंकको ‘पीएसए’ बन्यो भाइरल

२०७७ कार्तिक, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्रडक्ट आफ्ना ग्राहकसम्म पुर्‍याउन ठूलो धनराशि खर्च गरेर विज्ञापन गरेका हुन्छन् । तर त्यो विज्ञापनले कहिलेकाहीँ उपभोक्ताको मन छुन्छ त कहिले नजरमै पर्दैन । यस्ता संस्थाहरूले भने अनुसारको थिमको विज्ञापन दिन विज्ञापन एजेन्सीले पनि भरमग्दुर प्रयास गर्दछ । र पनि भने जस्तो विज्ञापन तयार हुँदैन ।

यसै बेला नबिल बैंकले सार्वजनिक जनचेतनाका लागि बनाएको विज्ञापन (पीएसए)भने भाइरल भएको छ । दशैंलाई लक्षित गर्दै गत शनिवार (घटस्थापनाको दिन)देखि फेसबुक पेजमा राखिएको उक्त भिडियो सोमवारसम्म बैंकको आधिकारिक पेजबाट ८ लाख र बाहिर करीब १० लाख पटक शेयर भएको बैंकले जानकारी दिएको छ ।

देशमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको तर सरकारले तोकिएका बाहेक अन्यका हकमा कोरोना संक्रमण भएमा आफै उपचार गर्नुपर्ने निर्णय गरेर आलोचना खेपिरहको समय यो भिडियोले कोरोना लाग्दैमा नआत्तिने सन्देश पनि दिएको छ ।

नेपालमा हालसम्म १ लाख ३६ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवारसम्म देशभर ७५७ जनाले कोरोनाबाट ज्यान गुमाउनु परेको छ भने ९४ हजार ५०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । सरकारले सीमित साधन र स्रोत भएका आर्थिक विपन्न, अशक्त, एकल महिला, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मी सहित जोखिम क्षेत्रमा खटिनेलाई मात्र उपचार गराउने गरी निर्णय गरेको छ ।

बैंकको उक्त पीएसए भिडियोमा कोरोना संक्रमणको पीडा, चाडपर्वमा बालबालिकाको शपिङ गर्ने चाहना र त्यो चाहना पूरा गर्न डिजिटल भुक्तानीको भूमिका, त्यसले बालबालिकालाई दिलाएको खुशीसँगै आइसोलेशनमा बसेर परिवारले दिएको आत्मबल र साहसले पनि कोरोना जित्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

भिडियोमा बैंकले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न खोजे जस्तो देखिए पनि खासमा कोरोना महामारीका बीच प्रभावित परिवारलाई खुशी दिने प्रयास गरिएको र ग्राहकलाई विशुद्ध शुभकामना दिन खोजिएको बैंकका दायित्व व्यवस्थापन सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले बताए । ‘विगतका वर्षहरूमा अन्य ढंगले शुभकामना दिने गरिन्थ्यो । यो पटक फरक थिमबाट शुभकामना दिऊँ भनेर नयाँ सोच बनाएका थियौं,’ उनले भने, ‘दुई–तीन ओटा थिमबाट चयन गरिएको यो भिडियोले समाजमा सकारात्मक सन्देश दिएको छ ।’ नेपाली समाजले दशैंलाई किनमेल गर्ने, नयाँ कपडा लगाउने पर्वका रूपमा हेर्ने गरेको र अहिले परिस्थिति पनि असहज बनेका बेला यी विकल्प पनि हुन सक्छन् भन्ने सन्देश यसबाट दिन खोजिएको उनले बताए ।

भिडियोमा श्रीमान्, श्रीमती र एक छोरीसहितको एक परिवारमा  श्रीमान्लाई कोरोना पोजेटिभ हुँदा श्रीमतीले आत्मबल बलियो बनाउन दिएको सन्देश, बाबुलाई कोरोना लाग्दा छोरीले चाडपर्वमा नयाँ लुगा किन्न नपाएको पीडा र बाबुले छोरीको खुशीका लागि डेबिट कार्डको प्रयोगबाट अनलाइन अर्डर गरेर छोरीका लागि नयाँ लुगा किनिदिएको देखाइएको छ । अनलाइन शपिङ गरेको सामान आफ्नो हातमा परेपछि छोरीको खुशीसँगै दशैंको टीका लगाउने तयारी गर्दा गर्दै श्रीमान्को मोबाइलमा आएको कोरोना नेगेटिभ भएको रिपोर्ट र त्यसपछि परिवार मिलेर दशैं मनाएको देखाइएको छ । बिजनेश एड्भान्टेजले बनाएको ३ मिनेट २६ सेकेन्डको उक्त भिडियो धेरैले मन पराएको सुवेदीले जानकारी दिए । अहिले यो सन्देशलाई विभिन्न मिडियामा बैंकको विज्ञापनको रूपमा बजाउन माग आए पनि हालसम्म बैंकले यसलाई विशुद्ध सामाजिक जनचेतनाको सन्देशको रूपमा मात्रै लिएको उनले बताए ।

प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[Oct 20, 2020 04:39am]

सामाजिक सेवा उन्मुख विज्ञापन देख्न पाउंदा असलतर्फको बदलाव देखेर राम्रो लाज्ञो । व्यापारिक उदेश्य मात्र राख्ने विज्ञापनहरुको भीडमा समसामयिक चासोको सामाजिक सन्देश समावेश गरिएको वस्तुले असल सेवा पुर्याएको छ ।


प्रतिक्रिया दिनुहोस्