ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैंकका ३५०० भन्दा बढी कर्मचारी कोरोना संक्रमित हुँदा बैंकिङ सेवा प्रभावित

२०७७ कार्तिक, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक ४, काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था कोभिड–१९ को केन्द्र बनेका छन् । संक्रमित कर्मचारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा बैंकले सबै शाखाबाट एकै पटक सेवा दिन सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय वाणिज्य बैंकहरुमा ३ हजार ५०० को हाराहारीमा कर्मचारीहरु कोरोनाबाट संक्रमित भइसकेका छन् ।

वाणिज्य बैंकका कर्मचारीको तुलनामा विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थामा भने संक्रमित कर्मचारीको संख्या न्यून रहेको छ । नेपाल डेभलप्मेन्ट बैंकर्स एशोसिएशनले कात्तिक २ गतेसम्म २० ओटा विकास बैंकहरुमा ४८५ जना कर्मचारी संक्रमित भइसकेको बताएको छ ।

यसमध्ये १७६ जना संक्रमण मुक्त भइसकेका छन् भने ३०९ जना कर्मचारी  अझै संक्रमित छन् । संक्रमित कर्मचारीका एकाघर परिवारका १८३ जना सदस्यसमेत संक्रमित रहेको संघले बताएको छ । यसैगरी ‘ग’ वर्गका २१ ओटा वित्त कम्पनीका करीब २०० जना कर्मचारी कोरोना संक्रमित भएका छन् । 

बैंकको काउन्टरमा बस्ने क्यासियरदेखि माथिल्लो तहका कर्मचारी कोरोना संक्रमित भएपछि पालैपालो गर्नुपर्दा सेवा प्रवाहित भएको बैंकरहरु बताउँछन् । संक्रमित बढेकाले अधिकांश कम्पनीहरुले पछिल्लो समय सबै शाखा सञ्चालन गर्न सकेका छैनन् ।

कतिपय कम्पनीहरुले भने पालैपालो शाखा कार्यालय खोलेका छन् भने कतिपय  कम्पनीले सेवाअवधि घटाएर १० बजेदेखि १ वा २ बजेसम्म कार्यालय समय तोकेका छन् ।  

हाल सञ्चालनमा रहेका ८४ ओटा लघुवित्त वित्तीय संस्थाको अधिकांश कार्यालय राजधानी बाहिर अर्थात् ग्रामिण भेगमा भएकाले यस्ता कम्पनीका कर्मचारीहरु भने फाट्टफुट्ट मात्र संक्रमित भएका छन् ।  सबै लघुवित्त कम्पनीको कुल कर्मचारीको औसत २ प्रतिशत कर्मचारी मात्र कोरोना संक्रमित भएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्तराज लम्सालले जानकारी दिए । 

कोरोना महामारीले केहि कर्मचारी संक्रमित भए पनि ऋणी सदस्यबाट ब्याज उठाउन कर्मचारी फिल्डमा जान नसक्ने अवस्थाले ब्याज आम्दानी धेरै घट्न गएको पनि उनले बताए ।

‘भिडभाड हुने क्षेत्रबाहेक दैलेख, पश्चिम नवलपरासीमा भिड कम हुने भएपनि भारतबाट आएकाहरुसँगको सम्पर्कमा कर्मचारीहरु संक्रमित भएका छन् तर लघुवित्तमा २–३ जनाको संख्यामा मात्र देखिएको छ ।

थोरै कर्मचारी संक्रमित भएपनि सेवा प्रवाहित बन्ने नै भयो,’ उनले अभियानसँग भने, ‘३–४ हप्तासम्म कर्मचारी फिल्डमा जान नसक्दा बजारबाट उठाउनुपर्ने ब्याज आम्दानीमा कमी आएको छ ।’  

उनका अनुसार यसका कारण अब चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण प्रभावित हुने अवस्था रहेको छ । दिनप्रतिदिन कर्मचारीहरु संक्रमित  बन्दै  जाँदा सबै  सेवा प्रभावित भएको एनआईसी एशिया बैंकका जनसम्पर्क विभाग प्रमुख अर्जुन खनिया बताउँछन् । उनका अनुसार एनआईसी एशिया बैंकको सबै शाखामा गरेर करीब १५० जना कर्मचारी संक्रमित भएका छन् ।

 उता सिटिजन्स बैंकका  नायव प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा कर्मचारीहरुले जोखिम मोलेर काम गरिरहेकाले संक्रमित हुने र रिकभरी हुने क्रम जारी रहेको बताउँछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्