ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्ज–पथलैया करिडोरमा खुल्यो ४० करोड लगानीमा कार्पेट उद्योग

२०७७ कार्तिक, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा ४० करोड रुपैयाँ लगानीमा अत्याधुनिक कार्पेट उद्योग सञ्चालनमा आएको छ । औद्योगिक घराना प्रेस्टिज समूहले स्थापना गरेको प्रेस्टिज कार्पेट इन्डस्ट्रीले १ महिनादेखि व्यावसायिक उत्पादन थालेको हो ।

आधुनिक प्रविधिका आधारमा यो उद्योग नेपालमै पहिलो भएको प्रेस्टिज समूहका सञ्चालक वीरेन्द्र शाहले बताए । भारतमा समेत हालसम्म यो प्रविधि नभित्रिएको उनको दाबी छ ।
गत वैशाखमै बजारमा उत्पादन पुर्‍याउने लक्ष्य राखिएकामा कोरोना महामारी र बन्दाबन्दीका कारण पछि धकेलिएको उद्योग व्यवस्थापनले बताएको छ । ‘वैशाखदेखि नै बजारमा ल्याउने लक्ष्य थियो । तर, कोरोना महामारीका कारण ५ महिना ढिला भयौं,’ सञ्चालक शाहले भने, ‘उत्पादन थालेको १ महिनामै बजारबाट उत्साहजनक प्रतिक्रिया पाइरहेका छौं ।’

अमेरिका र अस्ट्रेलियाबाट भित्र्याइएको प्रविधिमा आधारित उद्योगले अहिले २० वटा डिजाइनमा टप्mटेड कार्पेट उत्पादन गरिरहेको छ । बजार माग र आवश्यकताका आधारमा डिजाइन थप्दै लैजाने योजना उद्योगले बनाएको छ ।

नयाँ प्रविधिबाट गुणस्तर र लागतलाई प्रतिस्पर्धी बनाउने रणनीति उद्योगले लिएको छ । आधुनिक र स्वचालित प्रविधिबाट उत्पादिन प्रेस्टिज कार्पेटमा ढुसी नलाग्ने दाबी उद्योगको छ । दैनिक ८ घन्टा चल्दा यो उद्योगले वर्षमा ९ लाख वर्गमिटर कार्पेट उत्पादन गर्न सक्ने जानकारी व्यवस्थापनले दिएको छ ।

नेपालको बजार सम्भाव्यता राम्रो देखेर कार्पेट उत्पादनमा हात हालेको शाहले बताए । प्रेस्टिज समूहले यसअघि नै कपडा, फुटवेयर, म्याटलगायत उत्पादन गर्दै आएको छ । नेपालमा अहिले वार्षिक १० अर्ब रुपैयाँ बराबरको कार्पेट खपत हुने अनुमान छ ।

अहिले स्वदेशी बजारमा अधिकांश खपत आयातीत कार्पेटको छ, जुन साउदी अरब, टर्की र युरोपबाट आयात हुन्छ । प्रेस्टिज समूहले अहिले कार्पेट आयात भइरहेको युरोपेली देशमा आप्mनो उत्पादन निकासीको उद्देश्य राखेको छ । ‘उत्पादनको ४० देखि ५० प्रतिशत स्वदेशी बजारमा खपत हुन्छ । बाँकी परिमाण निकासीको योजना छ । सरकारले निकासीमा अनुदान दिने हो भने अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा सहज हुने थियो,’ शाहले भने ।

कच्चा पदार्थ आयात र निकासीमा सहुलियत पाए बाह्य बजारमा स्थापित हुन सजिलो हुने अपेक्षा उद्योगको छ । सुरुमा छिमेकी भारत, पाकिस्तान हुँदै युरोप र अमेरिकी बजारमा पुग्ने योजना उद्योगले राखेको छ । निकट भविष्यमा १ अर्ब रुपैयाँको लागतमा पीभीसी कार्पेट उद्योग सञ्चालनमा ल्याउने तयारी औद्योगिक समूहको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्