ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना कहरले सुदूरपश्चिममा खाद्य असुरक्षा बढ्दै

तराईको तुलनामा पहाडी जिल्लाको अवस्था नाजुक

२०७७ कार्तिक, ५  
सुदूरपश्चिम प्रदेश
NA

धनगढी । कोभिड–१९ को कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा बढ्दै गएको छ । पछिल्लो समय यहाँ खाद्य असुरक्षाको अवस्था १५ प्रतिशतबाट बढेर २३ प्रतिशत पुगेको एक अध्ययनले देखाएकोे छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीमा शुक्रवार आयोजित विश्व खाद्य दिवस कार्यक्रमा प्रस्तुत गरिएको प्रतिवेदनका अनुसार कोभिड–१९ संक्रमणका कारण प्रदेशमा प्रत्येक दश घरमा एक घरको आयआर्जनमा प्रतिकूल असर पुग्दा तीन घरको आम्दानी घटेको छ । यसैगरी कोरोना कहरले ११ प्रतिशत कृषि क्षेत्रमा काम गर्ने मजदूर र २५ प्रतिशत गैरकृषि क्षेत्रमा काम गर्ने मजदूरको आम्दानी प्रभावित भएको छ ।

विश्व खाद्य कार्यक्रम (एफएओ)ले सरकारसँगको समन्वयमा कोभिड–१९ ले खाद्यान्नको अवस्थामा पारेको प्रभावका सम्बन्धमा अध्ययन गरेको बताइएको छ । खाद्य अधिकारका क्षेत्रमा कार्यरत परिवर्तनका लागि कार्यरत युवा समूह नेपाल (याक नेपाल)का कार्यकारी निर्देशक डबल बमले खाद्य सुरक्षाका दृष्टिले सुदूरपश्चिम प्रदेश सुरक्षित रहे पनि कतिपय जिल्लाको जनसंख्या यसको पहुँचमा पुग्न नसकिरहेको बताए ।

प्रदेशको कुल जनसंख्या २५ लाख ५२ हजार ५१७ मध्ये १६ लाख २९ हजार २०० जनामा खाद्यान्नको पहुँचमा पुग्न नसकेको प्रतिवेदनमा उल्लेख छ । दलित, मुक्तकमैया तथा हलिया, एचआइभी संक्रमित एकल महिला, जनजाति, राउटे, साना किसान, वादी, सोनाहा, अपांगता भएका, अनौपचारिक क्षेत्रमा काम गर्ने र प्रकोप प्रभावित व्यक्ति खाद्य असुरक्षित समुदायका रूपमा छन् ।

बाजुरा, बझाङ, बैतडी र दार्चुलामा खाद्यको पहुँच पुग्न नसक्ने समस्या बढी छ । ‘कोभिड–१९ का कारण जीविकोपार्जनका स्रोतको उपायमा समेत असर पुगेको छ,’ कार्यकारी निर्देशक बमले भने, ‘प्रभावित परिवार ऋणको खोजीमा रहे पनि उनहरूलाई कसैले पनि विश्वास गर्न सकिरहेको देखिँदैन ।’

खाद्यान्नको उपलब्धताका दृष्टिमा प्रदेशका पहाडी जिल्लाको अवस्था ऋणात्मक छ । तराईका दुई जिल्ला कैलाली र कञ्चपुरमा खाद्यान्न उपलब्धता पर्याप्त छ । यी दुई जिल्लामा उत्पादन हुने खाद्यान्नले पहाडका जिल्लाको ऋणात्मक अवस्थालाई पूर्ति गर्ने गरेको छ । नेपालमा कमजोर खाद्य उपभोग र विविधता (पोषणयुक्त खाना)का दृष्टिमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं २ नं बढी जोखिममा रहेको बताइएको छ ।

कार्यक्रममा मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले विश्व खाद्य दिवस र खाद्यान्नको उत्पादन अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । यो प्रदेशमा वार्षिक धान पाँच लाख ८४ हजार ४३३ मेट्रिक टन, गहँु तीन लाख आठ हजार ७३५, मकै एक लाख ११ हजार ९२७, तेलहन ३५ हजार ३२० र दलहन ४८ हजार ४०८, आलु दुई लाख सात हजार ९८१, उखु दुई लाख ४१ हजार १५७ र ताजा तरकारी तीन लाख ४५ हजार १३४ उत्पादन हुने गरेको छ । यस्तै प्रदेशमा पशुपछीजन्य पदार्थको उपलब्धतातर्फ दूध २४४ हजार, मासु ३१ हजार मेट्रिक टन र अण्डा नौ करोड ओटा उत्पादन हुने गरेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्