ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैंक तथा वित्तीय संस्थाका सफलताका आधार

कर्मचारीलाई दक्ष र उत्प्रेरित बनाइनु आवश्यक

२०७७ कार्तिक, ५  
लेख | दृष्टिकोण
Image Not Found

नेपाल राष्ट्र बैंक, ऐन, २०५८ (दोस्रो संशोधन) दफा २ खण्ड (छ) ‘वित्तीय संस्था’ भन्नाले कृषि, सहकारी, उद्योग वा अन्य कुनै खास आर्थिक प्रयोजनका लागि कर्जा दिने र सर्वसाधारण जनताबाट निक्षेप संकलन गर्ने उद्देश्यले प्रचलित कानूनबमोजिम स्थापना भएको वित्तीय संस्था सम्झनुपर्छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ दफा २ खण्ड (क) अनुसार वित्तीय संस्था भन्नाले दफा ४९ को उपदफा (२), (३) वा (४) बमोजिमको बेंकिङ तथा वित्तीय कारोबार गर्न स्थापना भएको संगठित संस्था सम्झनुपर्छ । सो शब्दले विकास बंैक, वित्त कम्पनी, लघु वित्त संस्था वा विदेशी वित्तीय संस्थाको नेपालमा रहेको शाखा कार्यालय र नेपालमा स्थापित वित्तीय संस्थाको विदेशमा रहेको शाखा कार्यालयसमेतलाई जनाउँछ भन्ने उल्लेख भएको छ । उक्त संस्थाहरूले केन्द्रीय बैंकबाट वित्तीय कारोबार गर्न इजाजत लिनुपर्ने, निक्षेप स्वीकार गरी प्रतिस्पर्धात्मक वातावरणको लेखाजोखा गर्र्दै कर्जा प्रवाह, असल शासन, पारदर्शिता र मितव्ययिताको आधारमा वित्तीय कारोबार सञ्चालन गरी सर्वसाधारण जनतामा विश्वासको वातावरण तयार गर्दै अघि बढ्नुपर्ने मुख्य दायित्व रहेको हुन्छ । मूलतः बैंकिङ कारोबार भनेको विश्वासको आधारमा गरिने उच्च जोखिमयुक्त कारोबार भएकाले बैंक तथा वित्तीय संस्थामा जोखिमलाई मनन गर्न सक्ने व्यवस्थापकहरू र उच्च नैतिकवान् कर्मचारी कार्यरत हुनुपर्ने देखिएकाले त्यसको संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ :

शैक्षिक योग्यता : बैृंक तथा वित्तीय संस्थाहरूले नियुक्त हुने कर्मचारीहरूका लागि सेवासुविधासहितको कर्मचारी विनियमावली लागू गरी तोकिएको शैक्षिक योग्यता पूरा भएका तहअनुसार व्यवस्थापन, कानून, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, इन्जिनीयरिङ, कम्प्युटर विषयहरूमा प्रतिस्पर्धाका आधारमा छनोट गरी परिपूर्ति गर्छन् । आधुनिक प्रतिस्पर्धात्मक बजारमा संस्थाले निर्धारण गरेका नीति, रणनीतिहरूको कार्यान्वयनका लागि ऊर्जाशील क्षमता भएका व्यवस्थापनमा बीबीएस, बीबीए, एमबीए उत्तीर्ण कर्मचारीहरूको बाहुल्य भएमा संस्थालाई अघि बढाउन सहयोग पुग्ने देखिएको छ । विनियमावलीको आधारमा कर्मचारीहरू भर्ना गरिने र प्रणालीबाट कार्य सम्पादन हुने भएकाले योग्यता एक मापदण्ड भए तापनि प्रविधिप्रतिको निपुणता अर्को महत्त्वपूर्ण आधार देखिएको छ ।

कानूनी विषयको अध्ययन : कर्मचारी संलग्न संस्थासँग सम्बद्ध कानूनहरू, नियम, विनियमहरूको अध्ययन अनिवार्य रूपमा हुनुका साथै नेपाल राष्ट्र बंैक ऐन, २०५८, बंैक तथा वित्तीय संस्था सम्बद्ध ऐन, २०७३, बंैक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५, विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ (संशोधनसमेत) करार ऐन, २०५६, बंैकिङ कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०६४, श्रम ऐन, २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९, कम्पनी ऐन, २०६३, विद्युतीय कारोबार ऐन, २०६३ तथा भुक्तानी तथा फछ्र्योट ऐन, २०७५ सोही ऐनको अधीनमा कार्यान्वयनमा रहेका नियम विनियमहरूको अध्ययन गरी संस्थाको कार्य सम्पादन सक्षम रूपमा गर्नुपर्छ ।

अध्ययनशीलता र लगनशीलता : कर्मचारीहरू व्यवस्थापनसँग सम्बद्ध विषयहरूमा लगातार अध्ययन गरिरहने हुनुुपर्छ । यसबाट पहिले प्रतिपादित सिद्धान्तहरूको जानकारी हुनुका साथै वर्तमान तथा भविष्यमा आविष्कार हुने सिद्धान्तको अध्ययनले संस्थाले अवलम्बन गरेका नीति, रणनीतिहरूको सफल कार्यान्वयन गर्न एवम् कर्मचारीको बढुवा हुँदै जाँदा व्यवस्थापनमा समेत सहज भई प्रत्यक्ष लाभ संस्था, कर्मचारी, समाज र राष्ट्रले प्राप्त गर्न सक्छ । त्यसैले संस्थाका हरेक कर्मचारीले प्रन्येक दिन कम्तीमा २ घण्टाको समय संस्था सम्बद्ध विषय वस्तुमा अध्ययन गर्ने र संस्थाको कामप्रति चौबीसै घण्टा चिन्तन, मनन र लगनशील भई कार्य सम्पादन गर्न सकेमा उद्देश्य प्राप्तिमा सफलता प्राप्त गर्न सकिन्छ । अध्ययनशील र लगनशीलताविहीन तथा राजनीतिक रूपबाट प्रेरित कर्मचारीबाट संस्थाको भविष्य त्यति सहज हुने देखिँदैन ।

मनोवैज्ञानिक उत्सुकता : प्रतिस्पर्धाबाट नियुक्त भई संस्थाले कार्यान्वयनमा ल्याएका नियमावली, विनियमावली, निर्देशन, सूचना, आदेश, परिपत्र, नीति तथा रणनीतिहरूको सूक्ष्म अध्ययन गर्नु पहिलो प्राथमिकता हो । ग्राहक सम्बन्ध, निक्षेप परिचालन, कर्जा प्रवाह र संस्थाको हितमा काम गर्न कर्मचारीहरूलाई मनोवैज्ञानिक उत्सुकताले प्रोत्साहन गर्छ । केन्द्रीय बंैकले दैनिकजसो रूपमा जारी गरेका निर्देशनहरूको अध्ययन अत्यन्त जरुरी हुन्छ । वित्तीय संस्थाहरू कानूनतः उक्त निर्देशनहरू पालना गर्न बाध्यकारी हुने भएकाले कर्मचारीहरूले विना जानकारी कार्य सम्पादन गर्दा संस्था कानूनी रूपमा हर्जनाको दायरामा पर्न सक्छ । कर्मचारीहरूमा निर्देशनहरू र संस्थाको कार्याविधिहरू अध्ययन गरी कार्यान्वयन गर्न मनोवैज्ञानिक रूपमा सर्वथा उत्सुक रहनुपर्ने देखिन्छ ।

अन्तरराष्ट्रिय संस्थाहरूको अध्ययन : कर्मचारीहरू अन्तरराष्ट्रिय रूपमा भइरहेको गतिविधिहरूको सूक्ष्म अध्ययन एवम् जानकारी लिन सक्ने हुनुपर्छ । विश्वमा सबल र प्रभाव पार्न सक्ने विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोष, बैंक फर इन्टरनेशनल सेटलमेन्ट, इन्टरनेशलन अर्गनाइजेशन अफ सेक्युुरिटिज कमिशन, कमिटी अन पेमेन्ट एन्ड सेटलमेन्ट सिस्टम्स्, आईएफसीजस्ता संस्थाहरूका बारेमा अध्ययन गर्ने तथा ती संस्थाले जारी गरेका सिद्धान्त, नीति, रणनीति, निर्देशन तथा प्रविधि सुरक्षासम्बन्धी जानकारी लिई संस्थामा कायान्वयन गर्न आफूलाई निर्देशित गराउन सक्नुपर्छ ।

निर्णय लिने क्षमता : संस्थामा आउने ग्राहकले माग गरेको सेवा तत्काल प्रदान गर्ने, कागजात पूरा नभएमा यकिन गरी चेकलिस्ट दिने, काम हुन्छ, हुँदैन वा के कारणले हुन नसकेको हो सोको निर्णय दिने, आफ्नो अधिकार बाहिर वा सीमाभित्र नपरेको भएमा माथिल्लो अधिकारीसमक्ष सिफारिश गर्ने, ग्राहकसँग इमानदारी र नम्रता प्रस्तुत गरी चुस्त दुरुस्त सेवा प्रवाह गर्न सधैं क्रियाशील रही संस्थाको ख्याति आर्जन गर्न सक्ने क्षमता भएको हुनुपर्छ ।

सूचनाप्रविधिमा निपुण : बैंक तथा वित्तीय संस्थाले आधुनिक बंैकिङ प्रणालीको प्रयोगबाट कार्य सम्पादन गर्ने भएकाले सम्पूर्ण कर्मचारी प्रणालीसँग अभ्यस्त भएको हुनुपर्छ । कम्प्युटरको ज्ञान, सम्भव भएमा सफ्टवेयर, हार्डवेयर र नेटवर्किङसमेतको अध्ययन भएको, ह्याकिङ, भाइरस, एन्टिभाइरस, तथ्यांक तथा सुरक्षा प्रणालीबाट गरिने कारोबारका कारण उत्पन्न हुन सक्ने जोखिम र सोको न्यूनीकरणका उपायहरू, डाटा सेन्टर, डिजास्टर रिकभरी साइट, साइबर क्राइम र निरन्तर निगरानीसमेतको जानकारी लिई कार्य सम्पादन गर्न सक्नुपर्ने देखिन्छ ।

अनुशासित, नैतिकवान् र मिलनसार : कार्यालयमा काम गर्दा तल्लो तहका कर्मचारीलाई अनुशासनमा राख्न सक्ने, कामको जिम्मेवारी लिने, माथिल्लो अधिकारीसमक्ष समस्या र समाधानका उपायहरूसहितको कार्ययोजना पेश गर्ने, अनुशासन र नैतिकतालाई उच्च प्राथमिकतामा राख्ने, ग्राहकसँग सरल भाषामा व्यवहार गर्ने, ग्राहक सन्तुष्ट संस्थाको प्रगतिको आधार स्तम्भ हो भनी हृदयङ्गम गर्ने, ग्राहकको काम गरेबापत कसैसँग एक कप चियासमेत नखाने, लोभ लालचा, ईश्र्या र घमण्डी नभएको उच्च नैतिकवान्, अनुशासित र मिलनसार कर्मचारी संस्थाको मुख्य आधार स्तम्भ हुनुपर्छ ।

व्यवस्थापक कर्मचारी सम्बन्ध : संस्थाले प्रवाह गर्ने सेवा अत्यावश्यक भएकाले उच्च प्राथमिकताम राखी तोकिएको समयमा कार्यालयमा जाने, काम समाप्त नभएसम्म बस्ने, खाजा समयबाहेक अन्य समय अवधिभर ग्राहकलाई सेवा प्रवाह गर्ने, अनावश्यक रूपमा समय व्यतीत नगर्ने, व्यक्तिगत कामका लागि कार्यालय समयमा बाहिर नजाने, समयमा काम गर्न नसकिएमा, घरमा काम सम्पन्न गरी सेवा प्रदान गर्ने, व्यवस्थापनले कार्य वातावरणलाई सहज बनाई उचित काम गर्नेलाई पुरस्कार र गल्ती गर्नेलाई दण्डित गरी सेवा प्रवाह छिटोछरितो गराउन सक्नुर्र्पछ । बैकिङ क्षेत्र आर्थिक मेरूदण्डका रूपमा रहेकाले भुक्तानी र फछ्र्योटको कार्य समयमा सम्पन्न गर्नुपर्ने, बैंकिङ कारोबार समयमा नभएमा सम्प्रर्ण क्षेत्रहरूमा असर पर्ने भएकाले बन्द, हडताल, धर्नाजस्ता कार्य नगर्ने र सम्पूर्ण कर्मचारीलाई कामप्रति जिम्मेवार बनाई उत्प्रेरित गर्नुपर्छ । जायज मागहरू व्यवस्थापनले तुरुन्त सम्बोधन गर्ने तथा सम्भव भएमा राजनीतिक गतिविधिहरू बन्द गरी संस्था, ग्राहक, समाज र राष्ट्रप्रति उत्तरदायी भई कार्य गर्न व्यवस्थापनले उच्चतम भूमिका निर्वाह गर्न सकेको अवस्थामा संस्थाले आत्मसात् गरेका उद्देश्यहरू प्राप्त हुन्छ । अन्ततः यसको लाभ कर्मचारी, संस्था, ग्राहक, व्यवस्थापक र राष्ट्रलाई समेत हुने देखिएको छ ।

लेखक बैंकिङ तथा आधुनिक भुक्तानी प्रणालीसम्बन्धी जानकार हुन्

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्