ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना संक्रमण बढेकाले यसपटक दशैंमा बैंक नखुल्ने

बैंक तथा वित्तीय संस्थामा हजारौं कर्मचारी संक्रमित

२०७७ कार्तिक, ५  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । विगत वर्षहरूमा दशैंमा पनि बैंकिङ सेवा दिँदै आएका वाणिज्य बैंकहरूले यसपटक ५ दिन बिदा दिने भएका छन् । नेपाल बैंकर्स संघले मंगलवार सूचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका सबै शाखा बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

संघका अनुसार वाणिज्य बैंकका ३ हजार ७०० भन्दा धेरै कर्मचारी संक्रमित भइसकेका छन् । विषम अवस्थामा पनि हालसम्म बैंकिङ सेवा नियमित प्रदान गर्दै आए पनि दशंैको बिदामा बैंकका शाखाहरू बन्द गरिने, तर डिजिटल बैंकिङ सेवामा कुनै अवरोध नहुने संघले बताएको छ । संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको अधिकतम प्रयोग गर्न समेत ग्राहकवर्गमा अनुरोध गरेको छ ।

वाणिज्य बैंकका कर्मचारीको तुलनामा विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थामा भने संक्रमित कर्मचारीको संख्या न्यून रहेको देखिन्छ । नेपाल डेपलपमेन्ट बैंकर्स एशोसिएशनले कात्तिक २ गतेसम्म २० ओटा विकास बैंकमा ४८५ जना कर्मचारी संक्रमित भएको बताएको छ । यीमध्ये ३०९ जना संक्रिय संक्रमित हुन् । यसैगरी ‘ग’ वर्गका २१ ओटा वित्त कम्पनीका करीब २०० कर्मचारी कोरोना संक्रमित भएका छन् ।

बैंकका काउन्टरमा बस्ने क्यासियरदेखि माथिल्लो तहका कर्मचारी कोरोना संक्रमित भएपछि आलोपालो गर्नुपर्दा सेवा प्रभावित भएको बैंकरहरू बताउँछन् । संक्रमित बढेकाले बैंकहरूले पछिल्लो समय सबै शाखा सञ्चालन गर्न सकेका छैनन् । केही बैंकले पालैपालो शाखा कार्यालय खोलेका छन् भने कतिपयले सेवाअवधि घटाएर १० देखि १ वा २ बजेसम्म कायम गरेका छन् ।

हाल सञ्चालनमा रहेका ८४ ओटा लघुवित्त वित्तीय संस्थाको अधिकांश कार्यालय ग्रामीण भेगमा भएकाले यस्ता संस्थाका कर्मचारी भने फाट्टफुट्ट मात्र संक्रमित भएका छन् । लघुवित्त संस्थाका कुल कर्मचारीको औसत २ प्रतिशत मात्र संक्रमित भएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष वसन्तराज लम्सालले जानकारी दिए । कोरोनाबाट केही कर्मचारी संक्रमित भए पनि ऋणी सदस्यबाट ब्याज उठाउन कर्मचारी फिल्डमा जान नसक्ने अवस्थाले ब्याज आम्दानी धेरै घटेको गुनासो उनले गरे ।

दिनप्रतिदिन कर्मचारी संक्रमित बढ्दा सबै सेवा प्रभावित भएको एनआईसी एशिया बैंकका जनसम्पर्क विभाग प्रमुख अर्जुन खनिया बताउँछन् । उनका अनुसार यो बैंकका सबै शाखामा गरेर करीब १५० जना संक्रमित भएका छन् । यस्तै सिटिजन्स बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले कर्मचारी जोखिम मोलेर काम गरिरहेकाले संक्रमित हुने र रिकभरी हुने क्रम जारी रहेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्