ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महामारीबीच पलाएको आशा

२०७७ कार्तिक, ६  
सम्पादकीय
Image Not Found

कोरोना महामारीका कारण सृजित विविध समस्याका कारण सञ्चालनमा रहेका उद्योगहरूले क्षमताको आधाको हाराहारीमा उत्पादन गरिरहेका छन् भने अर्थतन्त्र सुस्ताउँदै गएको छ । तर, यस महामारीका बीचमा पनि सानो परिमाणमै भए पनि नया“ लगानीका खबर आएका छन् जुन सकारात्मक संकेत हुन् ।

मन्दीको अवस्थाबाट पार पाउन सरकारले उत्पादन र उपभोग बढाउन प्रोत्साहन गर्नुको विकल्प देखिँदैन । सरकारले दिने राहत वा प्रोत्साहन प्याकेज पनि यसैका लागि केन्द्रित हुने गर्छ ।

विगत १० महीनादेखि उडान ठप्प रहेको सौर्य एयरलाइन्समा भारतीय समूहले लगानी गरेको छ । कम्पनीको ४९ प्रतिशत शेयर किनेर कुवेरसमूह नेपालको आन्तरिक उडानमा रहेको वायुसेवा कम्पनीमा प्रवेश गरेको छ । भारतीय लगानी भएकाले छिटै क्षेत्रीय स्तरमा उडान गर्ने र विमानहरू थप्ने योजनामा सौर्य एयरलाइन्स रहेको छ । अन्तरराष्ट्रिय उडानको सेवा दिने हिमालय एयरलाइन्समा चिनियाँ लगानी भित्रिँदा उसलाई चीनका विभिन्न गन्तव्यमा उडान केही भए पनि सहज भएको देखिन्छ । यस्तै भारतीय समूहको प्रवेशले सौर्य एयरलाइन्सले भारतीय शहरहरूमा उडान गर्न केही सहज हुने अपेक्षा गर्न सकिन्छ ।

नेपालले वायुसेवाका क्षेत्रमा निजी लगानी खुला गरेपछि दर्जनौं कम्पनीले अहिले सेवा दिइरहेका छन् । बहुमत शेयर नेपाली लगानीकर्ताको रहने गरी वायुसेवा कम्पनीमा विदेशी लगानी भित्र्याउन पाउने व्यवस्था भएपछि विदेशी लगानीकर्ता ल्याउन केही सहज भएको छ । यद्यपि सौर्य एयरलाइन्समा भित्रिएको समूह भने वायुसेवा क्षेत्रमा कार्यरत कम्पनी भने होइन ।

भारतीय समूहको प्रवेशले नेपालको आन्तरिक उडानमा प्रतिस्पर्धा बढ्ने निश्चित छ । यसबाट यात्रुले बढी सुविधा पाउनेछन् भने वायुसेवा बढी भरपर्दो पनि हुन मद्दत मिल्न सक्छ ।

त्यस्तै कोरोना महामारीकै बीच वीरगञ्जमा रू. ४० करोडको लगानीमा कार्पेट उद्योग खुलेको छ । उद्योगले आफ्नो आधाजसो उत्पादन निकासी गर्ने लक्ष्य लिएको छ । यसले आन्तरिक बजारमा गुणस्तरीय कार्पेट आपूर्ति गर्ने लक्ष्य लिएको छ, जसले गर्दा आयात प्रतिस्थापनमा केही मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । यस्ता उद्योगलाई सरकारले कच्चा पदार्थमा सहुलियत दिने तथा निकासी गरेमा प्रोत्साहन गर्ने नीति लिनुपर्छ । ठूलो लगानीको उद्योग नभए पनि अहिलेको विषम परिस्थितिमा उद्योग खुल्नु सकारात्मक हो । यसले अन्य लगानीकर्तालाई पनि उद्योग खोल्न प्रोत्साहित गर्न सक्छ ।

सौर्य एयरलाइन्समा आएको भारतीय लगानी र वीरगञ्जमा खुलुको कार्पेट उद्योग आँकडाका हिसाबले उल्लेखनीय पक्कै होइनन् । तर, तिनले दिने संकेत र राख्ने अर्थ भने महत्त्वपूर्ण देखिन्छ ।

बन्दाबन्दी, निषेधाज्ञा र कोरोना संक्रमणको त्रासका कारण अर्थतन्त्र खुम्चिएको अवस्था छ । कोरोना महामारीबाट सृजित अवस्थाका कारण धेरैले रोजगारी गुमाएको अवस्था छ । रोजगारी नगुमाउनेको पनि आय घटेको छ । यस्तोमा उपभोग घट्नु स्वाभाविक हो । उपभोग घट्नेबित्तिकै औद्योगिक उत्पादन पनि घट्छ । यसरी अर्थतन्त्रको चक्रमा मन्दीको वातावरण तयार हुन्छ ।

मन्दीको अवस्थाबाट पार पाउन सरकारले उत्पादन र उपभोग बढाउन प्रोत्साहन गर्नुको विकल्प देखिँदैन । सरकारले दिने राहत वा प्रोत्साहन प्याकेज पनि यसैका लागि केन्द्रित हुने गर्छ । यस्तोमा सानो परिमाणकै सही लगानी थपिएको छ, जसलाई कुनै न कुनै रूपमा सरकारले प्रोत्साहन दिनु जरुरी देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्