ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चाडपर्व लक्षित बजार अनुगमन तीव्र

२०७७ कार्तिक, ६  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका चाडपर्व लक्षित बजार अनुगमनमा केन्द्रित भएको छ । वीनपाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको दैनिक उपभोग्य वस्तुको गुणस्तर, नापतौल एवं मूल्यमाथि निगरानी एवं नियन्त्रण गर्न ‘स्पट कारबाही’ अभियान प्रभावकारी बनाएको छ । वीनपाका अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पौडेल नेतृत्वको बजार अनुगमन टोलीले सोमवारदेखि हटियालाइन, ऐरीचोक एवं बांगेसीमल लगायतका पसलमा छड्के अनुगमन थालेको छ ।

अनुगमनका क्रममा केही पसलमा ढक, तराजुको कागजात दुरुस्त (अद्यावधिक) नगरेको पाइएको अनुगमन अधिकृत पौडेलले बताए । ‘त्यस्ता विक्रेतालाई ३ देखि ७ दिनभित्र नापतौल कार्यालयमा गएर कागजात अद्यावधिक गरेर नगरपालिकामा उपस्थिति हुन निर्देशन दिएका छौं,’ उनले भने । बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण गरी उपोभोक्ता ठग्ने व्यापारीलाई टोलीले ‘स्पट कारबाही’ गर्ने उनले बताए । उपभोक्ता हित विपरीत गतिविधि गर्ने व्यापारीलाई बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण ऐन अनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरीवानासँगै जेल सजायको व्यवस्था रहेको उनको भनाइ छ । अनुगमन टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्नेछ ।

चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने, म्याद नाघेका अखाद्य वस्तु बेच्ने लगायत समस्या देखिने गरेकाले अनुगमनलाई सक्रिय रूपमा अगाडि बढाइएको वीनपाका उपप्रमुख तथा बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष मोहनमाया ढकालले बताइन् । उपभोक्ताको प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको आपूर्ति सन्तुलन तथा मूल्य नियन्त्रणमा समेत ध्यान दिन टोलीलाई निर्देशन गरिएको उनको भनाइ छ । बजार अनुगमनलाई दण्डात्मक हिसाबले मात्र नबुझिदिन आग्रह गर्दै उनले उपभोक्ता हित संरक्षणका लागि जनचेत बनाउने उद्देश्य समेत रहेको बताइन् । ‘चार्डपर्व तथा कोरोना संक्रमणको जोखिमको सन्दर्भमा अनुगमन प्रभावकारी बनाउन पहिलो चरणमा वीरेन्द्रनगरका बजार क्षेत्रलाई बढी केन्द्रित गरिएको छ,’ उनले भनिन् । विशेषगरी चाडवाडका बेला अखाद्य वस्तु विक्री हुने, अधिकतम मूल्यभन्दा बढी मूल्य लिने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई ध्यानमा राख्दै वीनपाले बजार अनुगमन शुरू गरेको उनको भनाइ छ । उपभोक्ताकर्मीहरूले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै विभिन्न निकायबाट गरिने ‘कर्मकाण्डी’ बजार अनुगमनले तीव्रता पाए पनि कारबाही भने फितलो हुने गरेको गुनासो गरेका छन् । बजार अनुगमनमा वीनपासँगै जिल्ला प्रशासन कार्यालय, विषय विशेषज्ञ, पत्रकार, राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेत उद्योग वाणिज्य संघ, तथा नगर प्रहरीको सहभागिता रहने गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्