ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनासँग भिड्दै अघि बढेको लघुवित्त

२०७७ कार्तिक, ६  
लेख | दृष्टिकोण
Image Not Found

कोरोना भाइरस र सरकारले जारी गरेको बन्दाबन्दी, निषेधाज्ञा र स्थानीय तहका विभिन्न स्थानमा गरिएको शिलका कारण देशको समग्र आर्थिक गतिविधि सुस्त भएको छ ।

अर्थतन्त्रमा आइपर्ने विभिन्न समस्याले समाजका हरेक तह र तप्काका जनतालाई प्रत्यक्ष प्रभाव पार्छ । सानो र सीमित पूँजी आधार भएका गरीब र न्यून आय वर्गमा यस्तो प्रभाव धनी र उच्च आय वर्गको तुलनामा छोटो समयमा नै सघन रूपमा पर्ने गर्छ । यसले गर्दा मुलुकमा धनी र गरीब बीचको खाडल अजै फराकिलो हुने गर्छ । कोरोना भाइरसका कारण उत्पन्न यस विषम परिस्थितिका कारण अर्थतन्त्रका अन्य क्षेत्र सँगसँगै बैंकिङ क्षेत्र र सोअन्तर्गतको लघुवित्त क्षेत्र पनि प्रभावित बन्न पुगेको छ ।

मुलुकव्यापी ४ महीना लामो बन्दाबन्दीको अवधिमा सदस्यसँग निरन्तर सम्पर्क कायम राख्ने र लघुवित्तीय कारोबार सञ्चालन गर्नेलगायत कार्यलाई लघुवित्त संस्थाले निरन्तरता दिन सक्ने अवस्था रहेन । यस समयमा कर्जा सापटी र निक्षेपको ब्याज भुक्तानी, कर्मचारी खर्च, कार्यालय भवनको भाडा, पानी बिजुली, इन्टरनेटलगायतमा निरन्तर खर्च गर्नुपर्ने र अर्कोतर्पm नयाँ लघुकर्जा प्रवाह गर्ने कार्य तथा लगानीमा रहिरहेको कर्जाको साँवा÷ब्याज र सेवा शुल्क असुल हुन नसक्दा संस्थाको आम्दानी उल्लेख्य रूपमा घट्न पुग्यो । साथै, यातायात तथा सम्पूर्ण व्यापार व्यवसाय बन्द रहेका कारण सदस्यका उत्पादनले बजार पाउन नसक्दा उनीहरूको आयसमेत प्रभावित हुन पुग्यो । यसरी बन्दाबन्दीको समय लघुवित्त वित्तीय संस्था र ग्राहक सदस्यहरू दुवै पक्षका लागि सकारात्मक रहन सकेन ।

लघुवित्त क्षेत्रमा कोरोना र बन्दाबन्दीले पारेको प्रभावबारे विश्लेषण गर्न बन्दाबन्दी र कोरोना प्रभावभन्दा अघि र पछिका दुई अवधिको तुलनात्मक अध्ययन गर्नु उपयुक्त हुन्छ । यसका लागि यस आलेखमा २०७६ फागुन मसान्त र २०७७ भदौ मसान्तको लघुवित्त क्षेत्रको प्रगति विवरणलाई आधार बनाएर विश्लेषण गरिएको छ । २०७६ फागुनको तुलनामा २०७७ भदौमा लघुवित्त क्षेत्रको निष्क्रिय कर्जामा वृद्धि भई सोबापत कर्जा नोक्सानी व्यवस्था कोषमा राख्नुपर्ने रकम १३९ प्रतिशतले वृद्धि भएको, नाफामा ६०८ प्रतिशतले कमी आएको, कर्जा तिर्न बाँकी ऋणीहरूको संख्या ६७८ प्रतिशतले वृद्धि भएको, निष्क्रिय सदस्यहरूको संख्यामा ११ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसले गर्दा संस्थाले अनुपालन गर्नुपर्ने नियामकीय व्यवस्थाहरू पूँजी कोष, निष्क्रिय कर्जाको प्रतिशत आदिलाई तोकिएको मापदण्डमा कायम राख्न चुनौतीपूर्ण अवस्था रहेको थियो । पछिल्लो समय उल्लिखित तथ्यांकहरूमा क्रमशः सुधार हुँदै आएको पाइन्छ ।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमणको प्रकोप बढ्दै गएको र कोभिड–१९ का कारण मृत्यु हुनेको संख्यामा दिन प्रतिदिन वृद्धि भइरहेको छ । यस परिस्थितिमा केन्द्र बैठक सञ्चालन गर्न र नयाँ कर्जा प्रवाह गर्न तथा विगतको कर्जाको साँवाब्याज असुली गर्न कठिनाइ भएको, भाखा नाघेको कर्जामा वृद्धि भई सोको कर्जा नोक्सानीबापत थप रकम व्यवस्था गर्नुपरेको, फिल्ड कर्मचारीको मनोबल कमजोर हुँदै गएको, नयाँ कर्जाको पूर्वलगानी सम्भाव्यता अध्ययन तथा पुराना कर्जाको सदुपयोगिता निरीक्षण कार्य सहज हुन नसकेको साथै केन्द्रीय र क्षेत्रीय स्तरका कार्यालयबाट गरिने समग्र अनुगमन तथा निरीक्षण कार्यसमेत प्रभावित हुन पुगेको छ । यसका साथै, सदस्यहरूमा कर्जाको साँवाब्याज भुक्तानी गर्ने र व्यवसायलाई निरन्तरता दिने कार्यमा कठिनाइ उत्पन्न भएको छ । यसरी बन्दाबन्दीको समयपश्चात् पनि लघुवित्त संस्था, व्यवस्थापन, कर्मचारीका साथै ग्राहक सदस्यहरूलाई समेत कठिन अवस्था सृजना भएको देखिन्छ ।

मुलुकमा आइपर्ने विभिन्न असहज अवस्था, महामारी, प्राकृतिक प्रकोपलगायतले लघुवित्त क्षेत्रलाई समय समयमा प्रभावित पार्दै आएको छ । यस्ता विषम परिस्थितिमा नियामकीय निकाय नेपाल राष्ट्र बैंकले विभिन्न नियामकीय छूट र सहुलियत प्रदान गर्दै आएको छ । यसले गर्दा यस क्षेत्रको संरक्षण, सुदृढीकरण र विस्तार गर्न सकारात्मक अवसर मिल्ने गरेको छ । कोरोना महामारीका कारण उत्पन्न यस कठिन अवस्थामा लघुवित्त वित्तीय संस्थालाई नियामकीय निकायबाट भाखा नाघेको कर्जा नोक्सानी व्यवस्थामा दिएको सहुलियत, कर्जाको साँवाब्याजको किस्ता भुक्तानीमा दिएको थप समयावधि, सदस्यलाई कर्जाको ब्याज भुक्तानीमा दिएको छूट आदिले यस क्षेत्रलाई निकै राहत मिलेको छ ।

वर्तमान समय नाफा कमाउने नभई लघुवित्त क्षेत्रलाई बचाउने समय हो । तसर्थ, यसका लागि लघुवित्त संस्थाले आफ्ना कर्मचारीको मनोबल उच्च राख्न उनीहरूको उत्प्रेरणा जगाउने र कर्मचारी तथा ग्राहक सदस्यको स्वास्थ्यसँग सरोकार राख्ने विषयलाई ध्यान दिनुपर्ने देखिन्छ । ग्राहक सदस्यबाट निष्क्रिय कर्जा असुल गर्ने उपयुक्त वातावरण सृजना गर्न उनीहरूको आर्थिक अवस्थाको स्पष्ट पहिचान र वर्गीकरणको मापदण्ड तयार गरी सोको आधारमा कर्जा असुली कार्यलाई कार्यान्वयनमा ल्याउनु उपयुक्त हुन्छ । संस्थामा आन्तरिक निरीक्षण कार्य नियमित हुन नसक्दा सञ्चालन जोखिम सृजना भई कर्जा जोखिम थप बढ्नुको साथै कर्जाको दुरुपयोग बढ्न जाने सम्भावना रहने हुनाले जोखिमपूर्ण यस परिस्थितिमा गैरस्थलगत निरीक्षण गर्ने वातावरण तयार गर्न आवश्यक देखिन्छ । यसका साथै, परिस्थिति थप जटिल बन्दै गएमा लघुवित्त क्षेत्रमा रहेका नियामकीय प्रावधानमा आवश्यकता अनुसार छूट तथा सहुलियत दिनेतर्पm नियामकीय निकायले ध्यान दिनुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनले विश्वभर ५० करोडभन्दा बढी जनसंख्यालाई कोरोना भाइरसको संक्रमण हुने प्रक्षेपण गरिरहेको सन्दर्भमा हालसम्म १० करोड जनसंख्या यसबाट संक्रमित भएकाले आगामी दिन झन् कहालीलाग्दो हुनसक्ने आकलन गर्न सकिन्छ । यसको प्रभाव कहिलेसम्म रहन्छ भन्न सकिने अवस्था छैन । त्यसैले आगामी दिन विश्व स्वस्थ्य संगठनले जारी गरेको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहने न्यूनतम उपायहरू सामाजिक दुरी, मास्कको प्रयोग तथा सरसफाइ आदिको पालना गर्दै लघुवित्त कारोबार सञ्चालन गर्नुको विकल्प छैन ।

लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्