ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्से परिसूचक र वित्तीय क्षेत्र

वित्तीय क्षेत्रको वृद्धिदर निकै कम

२०७७ कार्तिक, ६  
लेख | दृष्टिकोण
Image Not Found

जसरी बाली लगाएपछि फसलको आश किसानले गरेका हुन्छन् त्यसरी नै पूँजी बजारमा पनि लगानी गरेपछि प्रतिफलको आश लगानीकर्ताले गरेका हुन्छन् । अहिले खेतबाट बाली उठाउने समय भएजस्तै शेयरबजारमा पनि यो दोस्रो त्रैमासिकमा लगानीबाट प्रतिफल सुनिश्चित (प्राप्त) गर्ने मुख्य समय हो । कम्पनीहरूले अघिल्लो आर्थिक वर्षभरिमा गरेको कमाइबाट शेयरधनीलाई प्रतिफल बाँड्ने समय यही हो । त्यसैले यो अवधिमा धितोपत्रको कारोबार बढ्ने समय पनि हो । धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरू, लगानी गर्न चाहने नयाँ लगानीकर्ता, नियमन निकाय तथा सरोकारवालाहरूले नेप्से परिसूचकको आधारमा आवश्यक निर्णय लिने गर्छन् । पूँजी बजारको विगत हेर्ने हो भने महामारीपछि लगानीकर्ताको आकर्षण पूँजी बजारतर्पm सोझिएको देखिन्छ । २०७२ सालको विनाशकारी भूकम्प तथा त्यसपछिका अनुकम्पहरूका कारण मुलुकमा ठूलो परिमाणमा जनधनको क्षति भएको थियो भने समग्र वित्तीय अवयवहरू तहसनहसको अवस्थामा थिए । यसको प्रत्यक्ष असर पूँजी बजारमा पनि परेको थियो । वार्षिक बिन्दुगत आधारमा नेप्से परिसूचक २०७२ असार मसान्तमा ७ दशमलव २ प्रतिशतले ह्रास आई ९६१.२ बिन्दुमा सीमित भएको थियो । आव २०७२/७३ मा २०७२ साउन ६ गते नेप्से परिसूचक सबैभन्दा न्यून ९६३.२३ बिन्दुमा झरेको थियो भने सोही आर्थिक वर्षभित्रै २०७३ असार १५ मा परिसूचक वृद्धि भई १७२४.५९ बिन्दुमा पुगेको थियो । त्यसपछिका आर्थिक वर्षहरू : २०७३/७४ मा नेप्से परिसूचक १५८२.६७, २०७४/७५ मा १२१२.३६, २०७५/७६ मा १२५९.०२ कायम भएको देखिन्छ । बन्दाबन्दा अवधि शुरू हुनुपूर्व नेप्से परिसूचक १२५१.४५ थियो भने बन्दाबन्दी बीचमा २ दिन बजार खोलिँदा नेप्से परिसूचक १२०१.५८ बिन्दुमा कायम हुन पुगेको थियो । त्यसपछि बजार नियमित रूपमा खुलेर सूचकमा केही वृद्धि हुदै आव २०७६/७७ को अन्त्यमा परिसूचक १३६२.३५ पुगेको हो । आव २०७७/७८ को पहिलो दिन परिसूचक १३९४.७७ बिन्दु हुँदै असोज ५ गते बुधवार परिसूचक १६ सयको नजीक पुगेको अवस्था छ । यसरी हेर्दा नेपालको परिप्रेक्ष्यमा विपत्को समयपछि अर्थतन्त्रका अंगहरूमा आएको शिथिलता, लगानीका अवसरहरूमा कमी, सरकारका नीतिहरू लगानी मैत्री नहुनु, जोखिम व्यवस्थापनका कठिनाइ, सहुलियतपूर्ण ऋणको सहज उपलब्धता नहुनुजस्ता कारण भए तापनि धितोपत्र बजारमा हुने लगानी तथा कारोबारमा वृद्धि भएकै देखिएको छ ।

सक्रमितको संख्या बैंक तथा वित्तीय क्षेत्रमा पनि बढ्दै गकाले यसले व्यवसायमा प्रतिकूल प्रभाव पार्ने सम्भावना रहिरहेको छ । फलतः आगामी दिनमा यो क्षेत्रको मुनाफा आर्जनमा असर पर्न सक्ने सम्भावना छ, त्यसैले प्रथम त्रैमासिक वित्तीय विवरण कस्तो आउने हो सोको पर्खाइमा लगानीकर्ता रहेको देखिन्छ ।

कोरोना महामारी शुरू भएपछि लगानीको अन्य क्षेत्र प्रायः ठप्प भएकाले लगानीकर्ताको शेयरमा आकर्षण बढ्नु, नेपाल राष्ट्र बैंकले निजीक्षेत्रमा प्रशस्त कर्जा प्रवाहका लागि नीतिगत व्यवस्था गर्नु, निक्षेप र कर्जाको ब्याजदर घट्नु र छोटो समयमा धेरै नाफा आर्जन गर्ने होडबाजी शुरू तथा मुखैमा आएको फल (प्रतिफल) बुक गर्ने होडबाजीजस्ता कारणले कोरोना भाइरसको महामारीकै बीचमा पनि पूँजी बजार मापक नेप्से परिसूचक वृद्धि भइरहेको देखिन्छ । बन्दाबन्दी खुकुलो भएपछि नियमित खुलेको बजार यो अवधिमा करीब ३६५ अंकले वृद्धि भइसकेको छ । तर, समूहगत आधारमा जुन गतिमा नेप्से परिसूचक वृद्धि हुने अपेक्षा लगानीकर्ताले गरेका थिए त्यो गतिमा भने भएको छैन । यसरी अपेक्षित रूपमा परिसूचक वृद्धि हुनु नसक्नुको मुख्य कारण बैंक तथा वित्तीय क्षेत्र हो ।

२०७७ असार १५ देखि कात्तिक २८ गतेसम्म भएको ३० कारोबार दिनमा समग्र नेप्से परिसूचक करीब ३६५ अंकले वृद्धि भएको छ । समूहगत परिसूचकलाई विश्लेषण गर्दा बैंक तथा वित्तीय संस्थाको कुल बजार अंश ६१ दशमलव ३९ प्रतिशत रहेको भए तापनि यो अवधिमा यो क्षेत्रको कुल परिसूचक वृद्धि जीवन बीमा (३ दशमलव २६ प्रतिशत बजार अंश ओगटेको) समूहको भन्दा पनि कम रहेको देखिन्छ । त्यसैगरी सबैभन्दा कम बजार अंश आगटेको ‘अन्य’ समूह (१ समूह ८६ प्रतिशत)को यो अवधिको वृद्धिदरभन्दा ‘वाणिज्य बैक’ समूह (१२ दशमलव ५६ प्रतिशत बजार अंश ओगटेको) को परिसूचक वृद्धिदर कम हुनुले के देखाउँछ भने यो अवधिमा नेप्से परिसूचकमा अपक्षित वृद्धिको बाधक वित्तीय क्षेत्र नै हो । र आगामी दिनमा पनि यही क्षेत्र बजार बढ्नमा बाधक बन्न सक्ने शंका उत्पन्न गराएको छ ।

यसरी परिसूचक वृद्धिमा वित्तीय क्षेत्र बाधक हुनुको कारण बैंकिङ क्षेत्रका लागि सरकारले लिने नीति तथा कार्यक्रमहरू, नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति तथा बेलाबखत जारी हुने निर्देशनहरू, बैंक तथा वित्तीय क्षेत्रको नाफाको अवस्था, महामारीको प्रकोप तथा असरबाट बच्न घोषणा गरिएका राहत प्याकेजहरू र तिनको प्रभावकारिता रहेको छ । यो आर्थिक वर्ष शुरू भएयता नेप्से परिसूचकमा केही (करीब ३६५ अंक) वृद्धि नभएको भने होइन तर समूहगत परिसूचकमा भएको वृद्धि हेर्ने हो भने सबैभन्दा ठूलो (६१ प्रतिशतभन्दा बढी) समूह बैंक तथा वित्तीय क्षेत्रको परिसूचकको वृद्धिदर अन्यको तुलनामा हुन सकेको देखिँदैन । बैंक तथा वित्तीय क्षेत्रको परिसूचकमा वृद्धि नभई समग्र नेप्से परिसूचकमा बुल आउने सम्भावना पनि रहँदैन । राष्ट्र बैंकले जारी गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदनका अनुसार २०७६ चैत ११ देखि शुरू भएको बन्दाबन्दी र निषेधाज्ञा २०७७ असार १ देखि खुकुलो गरिए तापनि आर्थिक क्रियाकलापहरू पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैन । आर्थिक वर्ष २०७६÷७७ मा करीब २ दशमलव २७ प्रतिशतमात्र आर्थिक वृद्धि प्राप्त हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ । योबाहेक विभागले गत आवको वार्षिक राष्ट्रिय लेखा तथ्यांक परिमार्जित गरी प्रकाशित गरेको छैन ।

बैंक तथा वित्तीय संस्थाको मुख्य कार्य निक्षेप संकलन र ऋण प्रवाह हो । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक अवधिदेखि नै बैंक तथा वित्तीय क्षेत्रको व्यापार व्यवसायमा संकुचन आएको थियो । त्यसैको परिणाम कम्पनीहरूको वासलातमा देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक सकिँदासम्म पनि कोराना भाइरससँग लुकामारी खेल्दै आर्थिक गतिविधि गर्नुपर्ने बाध्यता छ । संक्रमण झन्झन् फैलँदो अवस्थामा छ, सक्रमितको संख्या बैंक तथा वित्तीय क्षेत्रमा पनि बढ्दै गएकाले यसले व्यवसायमा प्रतिकूल प्रभाव पार्ने सम्भावना रहिरहेको छ । फलतः आगामी दिनमा यो क्षेत्रको मुनाफा आर्जनमा असर पर्न सक्ने सम्भावना छ, त्यसैले प्रथम त्रैमासिक वित्तीय विवरण कस्तो आउने हो सोको पर्खाइमा लगानीकर्ता रहेको देखिन्छ । वित्तीय क्षेत्रको ऋण प्रवाहको अवस्था निक्षेपको तुलनामा न्यून भएकै कारणले अहिले वित्तीय क्षेत्रमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ भने ब्याजदर पनि घट्दै गएको छ ।

वित्तीय प्रणालीमा झन्डै ५ महीनादेखिको अधिक तरलता व्यवस्थापन अझै हुन सकेको छैन । हाल २ खर्ब रुपैयाँजति अधिक तरलता रहेको छ, तैपनि नयाँ ऋण परिचालन हुन सकेको छैन । यसरी बैंकमा बचत (निक्षेप) बढ्दा र ऋण परिचालन नहुँदा तरलता व्यवस्थापन गर्न गाह्रो हुँदै गएको छ । अहिले निक्षेपको ब्याजदर निकै तल पुग्दा कर्जाको ब्याजदर पनि एकल अंकमा झरेको छ । ऋणको माग नभए पनि निक्षेपको ब्याज तिरिरहनु परेकाले बैंकहरूको खर्च बढेको हो । निक्षेपको ब्याजदर कम हुँदा आम नागरिकले बैंक तथा वित्तीय संस्थामा कम बचत गर्छन् । यसले गर्दा उनीहरूको साथमा नगद बढी हुन्छ र त्यो रकम पूँजी बजारमा भित्रने सम्भावना पनि बढी हुन्छ । पूँजी बजारमा लगानीकर्ताको संख्या र कारोबार रकम वृद्धि हुनुको कारण पछिल्लो समयमा यो पनि एक हो ।

लेखक नागरिक लगानी कोषमा आबद्ध छन्

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्