ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फरक सन्दर्भमा दशैं

२०७७ कार्तिक, ७  
सम्पादकीय
Image Not Found

कोरोना महामारीका कारण सृजित अनेक समस्याका बीच नेपालीहरूको महान् चाड दशैं आइसकेको छ । कोरोनाको त्रास र आम्दानी कटौतीका कारण विगतमा जस्तो उल्लासमय नभए पनि सुरक्षा सतर्कताका साथ दशैं मनाउन नेपालीहरू तयार रहेको देखिन्छ । यद्यपि दशैंमा हुने आवतजावत र चहलपहलले कोरोना संक्रमण अझ फैलाउँछ कि भन्ने आशंका पनि छ ।

दशैंको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व आफ्नो ठाउँमा छ । संस्कृति भनेको समयाअनुसार परिष्कृत हुँदै जाने सामूहिक व्यवहार हो जुन मानिसहरूको आस्थासँग पनि जोडिएको हुन्छ । त्यस हिसाबले नेपालमा रहेका विविध जातजातिले दशैं मनाए पनि नमनाए पनि कुनै न कुनै रूपमा उनीहरू यस संस्कृतिसँग जोडिएका हुन्छन् । दशैंले यही मूल भावलाई अहिलेको सन्त्रासका बीचमा पनि आत्मसात् गरेको छ र गर्नु पनि पर्छ ।

कोरोना महामारीले अर्थतन्त्र र जनस्वास्थ्यमा गम्भीर संकट निम्त्याएका बेला दशैं मनाउँदा सचेत हुनैपर्छ । कोरोनासँग आत्तिएर होइन, सतर्क रहेर जीवनका अन्य आयामजस्तै गरी विशेष सावधानी अपनाउनु बुद्धिमानी हुनेछ ।

दशैंको सम्बन्ध अर्थतन्त्रसँग बढी देखिएको छ । दशैंले उपभोग बढाउने हुँदा अर्थतन्त्रलाई निकै चलायमान बनाउने गरेको पाइन्छ । विगतमा सामान्य अवस्थामा भन्दा थप २० प्रतिशत उपभोग बढ्ने र त्यसले बजारलाई निकै गति दिने गरेको पाइन्छ । बजारमा वस्तुको माग र आपूर्ति बढेर उपहार छूट आदि दिइँदा उपभोक्ताले समेत थप फाइदा लिन सकेको देखिन्छ । त्यसैले दशैंले अर्थतन्त्रलाई विस्तार गर्न सहयोग पुर्‍याउने देखिन्छ । विगतका वर्षहरूमा ठूलो जनसंख्या दशैं मनाउन एकठाउँबाट अर्को ठाउँमा जाने, खासगरी शहर आएका नागरिक गाउँतिर जाने गरेका कारण अर्थतन्त्र गाउँमा समेत विस्तार हुने गरेको थियो । तर, यसपटक भने एक ठाउँबाट अर्को ठाउँमा जाने वातावरण छैन । शहरमा बसेकाहरू पनि गाउँमा जाने अवस्था छैन । त्यसो हुँदा कोरोनाका कारण थलिएको अर्थतन्त्र दशैंमा खासैमा चलायमान र विस्तार हुने देखिँदैन । यद्यपि बजारमा केही चहलपहल बढेको भने देखिन्छ ।

मुलुकका सामु अर्थतन्त्र बचाउने र जनस्वास्थ्य जोगाउने दुई ठूला प्रमुख चुनौती देखिन्छन् । यी दुवै कुरालाई सम्बोधन गर्न सरकार असफल प्रायः देखिएको छ । यस्तोमा सरकारभन्दा जनता आफै बढी सतर्क हुनुपर्ने देखिन्छ । यसै पनि सरकारी प्रयासभन्दा व्यक्तिगत प्रयासबाट नै महामारीबाट जोगिन सहज देखिन्छ । चाडपर्वले उल्लास र उमंग थपिदिने हुँदा यसलाई कुनै न कुनै रूपमा मनाउनु उपयुक्त नै हुन्छ । तर, स्वास्थ्यको जोखिम मोलेर र ऋणको भारी बोकेर दशैं मनाउने सोचतर्फ लागेमा यो दशा बन्ने सम्भावना उत्तिकै रहन्छ । दशैं चारओटा हुन्छन् । हामीले शरद्ऋतुको दशैंलाई बढी महत्त्व दिएर मनाउने गरेका छौं । त्यस्तै चैतेदशैं पनि मनाइन्छ । अन्य दुई दशैं मनाउने गरिएको छैन । यस्तोमा हिउँदको वा वसन्तऋतुको दशैं मनाउन नसकिने होइन । त्यसैले वर्ष दिनको चाड भन्दै स्वास्थ्यको जोखिम लिनु बुद्धिमानी हुँदैन ।

दशैं देवीको पूजाआराधना गरिने पर्व हो । असुर शक्तिका सामु देवताहरूको केही जोर नचलेपछि देवीलाई पुकारिएको र देवीले नै असुरको संहार गरेको पौराणिक आख्यान नै दशैैंको मूल आधार मानिन्छ । पौराणिक कथाहरू सांकेतिक हुने मानिन्छ । र, यस कथाले नारी शक्तिको महिमा उजागर गरेको छ । कोरोना महामारीमा पनि नारी शक्तिको भूमिका बढी देखिएको छ । नारी शक्तिको पुनःस्थापना गर्नुपर्ने सन्देश यस वर्षको दशैंले बढी दिएको छ । हरेक वर्षको दशैंले नारी शक्तिको महिमा देखाए पनि त्यसलाई वास्तविक जीवनमा उपेक्षा गरियो । कोरोना महामारीमा स्वास्थ्योपचारमा खट्ने नारी शक्तिलाई सम्मान गर्ने सोच दशैंले सबैमा पलाइदिन सके यसको नवीन सन्दर्भ देखिने थियो ।

अतः कोरोना महामारीले अर्थतन्त्र र जनस्वास्थ्यमा गम्भीर संकट निम्त्याएका बेला दशैं मनाउँदा सावधानी अपनाउनैपर्छ । कोरोनास“ग आत्तिएर होइन, सतर्क रहेर जीवनका अन्य आयामजस्तै गरी विशेष सावधानी अपनाउनु बुद्धिमानी हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्