ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नवरात्रको आज सातौं दिन : फूलपाती  भित्र्याइँदै

२०७७ कार्तिक, ७  
समाचार
Image Not Found

 कात्तिक ७, काठमाडौं । नवरात्रको सातौं दिन शुक्रवार दसंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइदैं छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिवार दसैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।     
     
दोस्रो दिन आइतवार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन मंगलवार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बुधबार स्कन्दमाताको पूजा आराधना गरियो । छैटौं दिन बिहीबार कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।     
     
सातौं दिन शुक्रवार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैंपर्व मनाउँछन् ।     
     
प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।     
     
दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ ओटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।     
     
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ । जहाँ भक्तजन पुग्ने गरेका छन् ।     
     
कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान, खानपिन गरी दसैं, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।

दसैंको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट संक्रमित हुने पनि बढिरहेकाले प्रत्येक व्यक्तिले सचेतता अपनाउनु जरुरी छ । नवरात्रको सातौं दिन  पूजा कोठा वा दसैंघरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्