ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चीनमा अम्लीय फलफूल निर्यात गर्ने सहमति

वर्ष दिनमा पनि भएन प्रगति

२०७७ कार्तिक, १६  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । नेपालमा उत्पादित अम्लीय जातका फलफूल चीन निर्यात गर्न नेपाल र चीन सरकारबीच भएको सहमति कार्यान्वयनको प्रक्रियासमेत शुरू हुन सकेको छैन ।

गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभाग सुन्तलालगायतका अम्लीय जातका फलफूल निर्यातका लागि सहमति भएको थियो ।

सहमति अनुसार काम भएको भए गतवर्षको सिजनदेखि नै नेपालबाट चीनको तिब्बतस्थित जिजान क्षेत्रमा सुन्तला जातका फलफूल निर्यात शुरू भइसक्नुपथ्र्यो । तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म उक्त सम्झौता कार्यान्वयन हुन सकेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार मन्त्रालयले उक्त सम्झौता चाँडै कार्यान्वयनका लागि बजेट छुट्ट्याएर काम अघि बढाएको छ । करीब ३ महीनाअघि नेपाल सरकारले निर्यातका लागि आवश्यक प्रोटोकल तयार गरी चिनियाँ पक्षलाई पठाएको भए पनि हालसम्म उक्त प्रोटोकलबारे चिनियाँ पक्षले कुनै पनि जवाफ नपठाएको उनले बताए ।

‘चिनियाँ पक्षको जवाफ कुरिरहेका छौं उताबाट जवाफ आएपछि फिल्डको काम शुरू हुन्छ, तर जवाफ कहिले आउँछ टुङ्गो छैन,’ उनले भने । पहिलो चरणमा सिन्धुली र स्याङ्जाको सुन्तला सुपरजोनलाई आधार बनाएर काम गर्ने योजना रहेको उनले जानकारी दिए ।

नेपालमा जुनार तथा सुन्तलाजन्य फलफूलको ‘कोल्ड ट्रिटमेन्ट’ गरेर क्वारेन्टाइनले प्रमाणपत्र जारी गरेपछि चीन निर्यात गर्न सकिने सहमतिपत्रमा उल्लेख थियो । चीनको क्वारेन्टाइनले नेपालको जुनार र सुन्तलालाई स्वच्छ नमानेका कारण यस्तो प्रक्रिया अपनाइने बताइएको थियो ।

नेपालमा आर्थिक वर्ष २०७३/७४ देखि जुनार सुपरजोन लागू भएपछि जुनारखेती गर्ने किसानहरूको संख्या बढेको छ । विशेषगरी यी जातका फलफूलहरू नेपालका पहाडी जिल्लाहरू रामेछाप, सिन्धुली, डोटी, डँडेलधुरा, बैतडी, ओखलढुङ्गा, लमजुङ, धनकुटा, पाल्पालगायत जिल्लामा उत्पादन गर्ने गरिन्छ ।

राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रमको तथ्यांकअनुसार नेपालमा वार्षिक १ लाख ७७ हजार मेट्रिकटन सुन्तला, ३९ हजार ५ सय ८० मेट्रिकटन कागती र ४३ हजार मेट्रिकटन जुनार उत्पादन हुने गर्छ । नेपालमा करीब ६५ जिल्लामा सुन्तला जातका फलफूल उत्पादन हुने भए पनि व्यावसायिक रूपमा ४४ जिल्लामा मात्र उत्पादन हुने गरेको कार्यक्रम प्रमुख शान्ता कार्कीले जानकारी दिइन् ।

उनका अनुसार दुई देश बीचको सहमतिलाई कार्यान्वयन गर्न प्रोटोकलअनुसार नर्सरी दर्ता, बगैंचा दर्ता तथा व्यवस्थापनका कार्यक्रमहरू सिन्धुली र स्याङ्जा जिल्लामा शुरू भइसकेको छ । तर, कोरोना महामारीका कारण ठोस काम भने भएको छैन ।

‘कोरोनाका कारण फिल्डमा गएर गर्नुपर्ने अधिकांश काम अलपत्र परेका छन् । महामारी कम भएपछि बाँकी कामहरू अघि बढाइनेछ,’ उनले भनिन् ।

नेपालमा माग हुने सुन्तला जातका फलफूलमध्ये आन्तरिक उत्पादनले करीब ८० प्रतिशतले बजार धान्छ भने बाँकी २० प्रतिशत विभिन्न मुलुकबाट आयात गरिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्