ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रुकुम पश्चिमको चौरजहारीमा नगर अस्पताल सञ्चालन

२०७७ कार्तिक, २०  
प्रदेश ०५
NA
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पश्चिमको चौरजहारीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । जिल्लाको चौरजहारी नगरपालिका–१० स्थित नेपानेमा नगरपालिकाले ‘शहीद स्मृति नगर अस्पताल’ सञ्चालनमा ल्याएको हो ।

नयाँ भवन निर्माण गरी ५ शय्याको अस्पताल सञ्चालन गरिएको नगरपालिकाले बताएको छ । नगरपालिकाका ५ वडाका स्थानीयलाई गुणस्तरीय उपचार सेवा दिने उद्देश्यले अस्पताल स्थापना गरिएको चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोकाले जानकारी दिएकी छिन् ।

उनका अनुसार अस्पतालबाट चौरजहारी नगरपालिकाका वडा नं १०, ११, १२, १३ र १४ सहित सल्यानको दार्मा गाउँपालिकाका बिरामीलाई समेत उपचार सेवा प्रवाह गरिनेछ । अस्पताल निर्माणका लागि स्थानीय टेकबहादुर बुढाथोकी र ममी बुढाथोकीले छोरी ललिताको स्मृतिमा ५ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए ।

अस्पतालमा २२ स्वास्थ्यकर्मीले सेवा दिनेछन् । चौबीसै घण्टा आकस्मिक सेवाका साथै प्रयोगशाला, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ईसीजीलगायत सेवा अस्पतालबाट उपलब्ध हुने डा. विवेक केसीले जानकारी दिए ।

अस्पतालको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्नेछ भने नियमित रेखदेख तथा सञ्चालनका लागि व्यवस्थापन समिति गठनको तयारी गरिएको छ ।

अस्पताल भवन निर्माण र उपकरण खरीदका लागि हालसम्म १ करोड ४६ लाख रुपैयाँ खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । ‘अस्पतालको भवन निर्माणमा ७१ लाख, उपकरण खरीदमा ५६ लाख र ल्याब सामग्री व्यवस्थापनमा १९ लाख रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारको प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमले ६९ लाख रुपैयाँ खर्चिएको छ ।’ योसहित चौरजहारीमा अस्पतालको संख्या ३ पुगेको छ । यसअघि चौरजहारी नगरपालिका–१ मा विशेषज्ञ सुविधासहितको चौरजहारी अस्पताल र ७ नम्बर वडामा कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि नगर अस्पतालमा स्तरोन्नति गर्न यस वर्ष बजेट विनियोजन गरिएको नगर उपप्रमुख रोकाले बताइन् । यसका लागि संघीय सरकारले १ करोड रुपैयाँ बजेट पठाएको र थप रकम नगरपालिकाले बेहोर्ने जानकारी उनले दिइन् ।

‘केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्दै छौं,’ उनले भनिन्, ‘सामान्य उपचारका लागि नगरपालिकाका १४ ओटै वडामा स्वास्थ्यचौकी स्थापना गरिएको छ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्