कात्तिक २०, काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि कात्तिक २७ गतेदेखि आईपीओ विक्री गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि पहिलो चरणमा आईपीओ विक्री गरि दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । कम्पनीले स्थानीयका लागि कुल ४ लाख २० हजार कित्ता आईपीओ असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म विक्री खुला गरेको थियो । स्थानीयमा करीब ४२ प्रतिशत मात्र शेयर वितरण भएको छ ।
कात्तिक १७ गते कम्पनीले स्थानीयलाई कुल कित्तामध्ये १ लाख ७६ हजार ९० कित्ता शेयर बाँडफाँट गरेको हो । स्थानीयमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९१० कित्ता शेयरसमेत जोडेर सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९१० कित्ता शेयर वितरण हुनेछ ।
कुल कित्तामध्ये कम्पनीले ८ लाख १२ हजार ७३६ कित्ता शेयर सार्वजनिक निष्कासन गर्नेछ । कम्पनीले ४३ हजार ६९६ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने कम्पनीका कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्याएको छ ।
सर्वसाधारणले छिटोमा मंसिर ३ गते र ढिलोमा मंसिर ११ गतेसम्म यो आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।
केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।
कम्पनीले कुल १० लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट गत फागुन ११ गतेनै स्वीकृति पाएको थियो । यस कम्पनीले कास्की जिल्लामा ७ मेगावाट क्षमताको अपर मार्दीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल असोज २० गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
गत आर्थिक वर्ष २०७६/ ७७ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८५ दशमलव ८२ रहेको छ । दोस्रो बजारमा प्रतिशेयर नेटवर्थको तीन गुणासम्म यस कम्पनीको मूल्य तोकिनेछ ।