ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

क्लिनफिडको भविष्य

२०७७ कार्तिक, २६  
लेख | दृष्टिकोण
Image Not Found

नेपालमा टेलिभिजनको इतिहासमा कोशेढुंगा सावित हुने भनिएको क्लिनफिड लागू भएर नै छोड्यो । अब नेपालमा क्लिनफिड अघिको समय र पछिको समय गरेर विभाजन हुने देखिन्छ । अर्थात् नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरूमा विदेशी मल्टिनेशनल कम्पनीका विज्ञापन हेरेर हुर्केका पुस्ताहरू र क्लिनफिडमा हुर्केका पुस्ताहरू हुने निश्चित छ ।

नेपालमा क्लिनफिड हुनपर्छ भनेर नेपाल सरकार अर्थात् सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले २०७३ सालमै नीति तर्जुमा गरेको हो । तर, केबल वितरकहरूले महासंघ र भारतीय टेलिभिजन प्रसारकहरूले राजनीतिक लेभलमा यति लभिङ गरे कि यो विषयलाई स्थगित गराएरै छोडे । त्यसपछि यसका लागि ऐनमा नै आवश्यक देखी विज्ञापन नियमनमार्पmत क्लिनफिडलाई अनिवार्य गरियो ।

२०७७ कात्तिकको ७ गते रातको १२ बजेदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा क्लिनफिड भयो तर दशैंको समयमा क्लिनफिडको कार्यान्वयनको डेट लाइन तोकिएको हुँदा प्रभावकारी अनुगमन हुन पाएन । टेलिभिजन वितरकहरूको महासंघले पूर्ण क्लिनफिड कार्यान्वयन हुन कम्तीमा १५ दिन थप समय लाग्ने बताएको छ । क्लिनफिड हुने समयमा नेपालमा विदेशी टेलिभिजन च्यानलहरू वितरण गर्दै आएका संस्थाका प्रतिनिधिहरूले क्लिनफिडको स्वागत गरे पनि क्लिनफिड आमसञ्चारमा मात्रै होइन, दूरसञ्चारमा पनि लागू गर्न माग गरेका थिए । ओभर दि टप भनिने मोबाइल एप्लिकेशनहरूबाट विदेशी टेलिभिजन च्यानहरू सीधै प्रसारण हुने र यसका लागि कुनै कानूनले बाधा नगर्ने भन्दै उनीहरूले अनलाइन स्ट्रिमिङ साइटहरू र ओटीटी एप्सहरू बन्द गर्न माग गरेको देखिन्छ । हाल आईपीटीभीमा सञ्चालन हुने बक्सहरूमा रिब्रोडकास्ट हुन मिल्न सुविधा मिल्ने र यसले केबल वितरक र आईपी वितरकहरूलाई विदेशी टेलिभिजन च्यानल वितरणमा एकै किसिमको प्रसारण सुविधा दिनपर्ने देखिन्छ । यसले गर्दा टेलिभिजनमा मात्रै विज्ञापन बन्द हुने तर इन्टरनेटका साइटहरूबाट प्रसारण हुँदा विज्ञापनसहित भएर प्रसारण हुने भएमा यसले क्लिनफिडको औचित्य पुष्टि गर्न सक्दैन ।

वर्ल्ड लिंक कम्युनिकेशन र फेसबुकको सहकार्यमा नेपालमा १० हजार स्थानमा निःशुल्क वाइफाइको व्यवस्था गर्ने समाचार आएको छ । यसरी निःशुल्क वाइफाइको प्रयोग अनि दूरसञ्चारमा क्लिनफिड नहुँदा यसले ओटीटी र इन्टरनेट साइट अनि युट्युब लाइभ फेसबुक लाइभका माध्यमबाट सीधै विदेशी च्यानलहरूसम्म पहुँच पुग्ने देखिन्छ । नेपालमा भीपीएन प्रयोग गरेर सोनी, लिभ हटस्टारजस्ता विदेशी टेलिभिजनका प्रसारणका ओटीटी एप्सहरूमा पहुँच पुग्ने सक्ने देखिन्छ । यतिमात्रै नेपालमा प्रतिबन्धित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो वालाजीसम्म पनि नेपालीहरूले विदेशमा रहने आफन्त तथा गैरनेपाली नागरिकसमक्ष सम्बन्ध राखेर हुन्डी वा अन्य माध्यमबाट रकम पुर्‍याई सीधै पहुँच पुर्‍याएको देखिन्छ । यसबाट पनि नेपालमा क्लिनफिडको सफल कार्यान्वयन हुन चुनौती थपिने देखिन्छ ।

विदेशी टेलिभिजन वितरकहरूको संस्थाहरूले ऐनले तोकेको समयसीमाभित्र क्लिनफिडमा सबै च्यानलहरू दिन सकिरहेका छैनन् जसबाट च्यानलहरू हेर्नबाट दर्शकहरू वञ्चित हुन परिरहेको छ । क्लिनफिडका कारण नेपालमा हाल हेरिरहेको प्याकेजभन्दा थप शुल्क तिर्नपर्ने अवस्था आउन सक्ने भनेर ग्राहकबाट थप रकम लिन वितरकहरू प्रयासरत रहेको देखिन्छ ।

नेपालमा क्लिनफिडको सफल अनि पूर्ण कार्यान्वयन गर्ने हो भने नेपाल सरकार अर्थात् सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले थप केही कार्यहरू तत्काल अनि केही दीर्घकालीन सोच बनाएर गर्नु जरुरी देखिन्छ ।

हाल व्यवसायीहरूले ग्राहकले हेरिरहेको प्याकेजभन्दा कम्तीमा २० देखि २५ प्रतिशत शुल्क बढाउन प्रस्ताव गरिरहेका छन् । त्यसैले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले व्यवसायीहरूसँग छलफल र समन्वय गरी मूल्यमा हस्तक्षेप गर्नु जरुरी देखिन्छ । क्लिनफिडको सफल कार्यान्वयनका लागि नेपालमा प्रसारण हुने टेलिभिजनको मनिटरिङ गर्न सूचना तथा प्रसारण विभागलाई साधनस्रोत र जनशक्तिले सक्षम बनाउन अति नै जरुरी देखिन्छ । च्यानलहरू क्लिनफिड भए नभएको २४ घण्टा नै अनुगमन गर्न जनशक्ति र स्रोतसाधनको व्यवस्थापनसहित हटलाइनको प्रबन्ध गर्नुपर्ने देखिन्छ । यसका साथै विज्ञापन बोर्ड र सूचना तथा प्रसारण विभागको समन्वयलाई प्रभावकारी बनाउन पनि जरुरी देखिन्छ ।

हाल विज्ञापन नियमन गर्ने ऐनले आमसञ्चारका माध्यम अर्थात् टेलिभिजनमा मात्रै क्लिनफिडको परिकल्पना गरेको छ । तर, ओटीटी र इन्टरनेट स्ट्रिमिङ र फेसबुक लाइभका कारण क्लिनफिडमा थप चुनौती थपिने देखिएको छ । यो विषयलाई पनि सम्बोधन हुन जरुरी देखिन्छ । दूरसञ्चारका माध्यमबाट प्रसारण हुने कन्टेन्टहरूमा क्लिनफिड हुन पर्ने अर्थात् सम्भव भए ओटीटी र इन्टरनेटमा पनि विज्ञापनरहित प्रसारण हुनपर्ने र सम्भव नभएमा ओटीटी बन्द हुनुपर्ने गरी यसलाई सम्बोधन गर्न सकिन्छ ।

यसका लागि दूरसञ्चार ऐन, विज्ञापन नियमावली जुन कानूनमा यो विषय समावेश गरे पनि हुने देखिन्छ । तर, नेपालमा क्लिनफिड हुने हो भने केबल वितरक र आईपी प्रसारकहरूलाई समान व्यवस्था गर्नपर्ने देखिन्छ । कसैलाई पनि रिब्रोडकास्टको थप सुविधा दिन मिल्ने र यस्ता सेटअप बक्सहरू प्रयोग गर्न दिन नमिल्ने बनाउनुपर्ने देखिन्छ ।

नेपालमा ओटीटीबाट टेलिभिजन हेरेर सो बापतको रकम विदेश लाने दूरसञ्चार र प्रसारण ऐनले नै प्रतिबन्ध गरेको अवस्थामा पनि नेपालमा भीपीएन प्रयोग गरेर ओटीटीबाट टेलिभिजनहरू हेर्ने, अमेजन प्राइम भिडियोदेखि नेटपफ्लिक्ससम्म पनि नेपालीहरूको सहज पहुँच पुगिसकेको अवस्था छ । सञ्चार मन्त्रालयले कि यसलाई ऐन नै संशोधन गरेर ओटीटीलाई क्लिनफिडको दायराभित्र ल्याएर प्रसारणको अनुमति दिनुपर्ने देखिन्छ ।

अन्त्यमा नेपालमा नेपाली विज्ञापन बजारको दायरा र क्षेत्र विस्तार गर्न क्लिनफिड लागू भएको हो । बंगलादेशमा कुनै समय भारतीय टेलिभिजन च्यानलहरू क्लिनफिडमा प्रसारण भएकै थिए । तर, अत्यधिक शुल्क वृद्धि र दूरसञ्चारको सहज पहुँचको कारण र सरकारले दीर्घकालीन सोच र रणनीति राख्न नसक्दा सरकार पछि हट्नुपरेको थियो । नेपालमा यस्तो सोही अवस्था आउन नदिन सरकारले बेलैमा आवश्यक कदम चाल्न जरुरी देखिन्छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका कार्यरत लेखकक यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्