ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सम्पत्तिको हस्तान्तरण तथा प्राप्तिसम्बन्धी कानूनी व्यवस्था

देवानी संहिताभित्रका केही प्रावधान

२०७७ कार्तिक, २६  
लेख | दृष्टिकोण
Image Not Found

कुनै व्यक्ति वा संस्थाले आफ्नो चल वा अचल सम्पत्तिका रूपमा वा मूर्त, अमूर्त, दृश्य, अदृश्य उपभोग गर्ने, खरीद, विक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्ने वा कुनै लाभ प्राप्त गर्ने अधिकार पाएको हुन्छ । सम्पत्तिभित्र खरीद, विक्री वा अन्य तवरले सम्पत्ति प्राप्त गरेमा सो सम्पत्तिमा निजले आफ्नो सम्पत्ति उपभोग गर्ने, विक्री वा अन्य तवरले कसैलाई हक हस्तान्तरण गर्ने, कुनै किसिमले धितो वा बन्धकी राख्ने, कुनै कारोबार गर्ने, जुनसुकै किसिमबाट फाइदा लिने, आफ्नो जग्गाजमीनमा कुनै किसिमको भौतिक संरचना निर्माण गर्न आदि अधिकार रहेको हुन्छ । मुलुकी देवानी संहिता, २०७४ ले सम्पत्तिकोे हस्तान्तरण तथा प्राप्तिसम्बन्धी छुट्टाछुट्टै व्यवस्था गरेको छ । देवानी संहितामा भएको मुख्य व्यवस्था यस प्रकार रहेको पाइन्छ ।

कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति अन्य व्यक्तिलाई विक्री, दान, बकस वा अन्य कुनै तवरले हस्तान्तरण गरी हस्तान्तरण गर्न सक्छ भने त्यस्तो सम्पत्ति पाउने व्यक्तिको नाममा त्यस्तो सम्पत्ति प्राप्त भएको मानिने व्यवस्था छ ।

सम्पत्ति हस्तान्तरण हुने
कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति अन्य व्यक्तिलाई विक्री, दान, बकस वा अन्य कुनै तवरले हस्तान्तरण गरी हस्तान्तरण गर्न सक्छ भने त्यस्तो सम्पत्ति पाउने व्यक्तिको नाममा त्यस्तो सम्पत्ति प्राप्त भएको मानिने व्यवस्था छ । (देवानी संहिता को दफा ४१३)

हक र स्वामित्वको सम्पत्ति हस्तान्तरण गर्न सक्ने
प्रचलित कानूनबमोजिम करार गर्न असक्षम व्यक्तिबाहेक अन्य जुनसुकै व्यक्तिले कानूनको अधीनमा रही आप्mनो हक र स्वामित्वको सम्पत्ति एक वा एकभन्दा बढी व्यक्तिलाई अलग अलग वा संयुक्त रूपमा हस्तान्तरण गर्न सक्छ । सो सम्पत्ति आफ्नो हक र स्वामित्वको तत्काल वा शेषपछि हक हुने गरी हस्तान्तरण गर्न सक्छ । (देवानी संहिता को दफा ४१४(१)(३)

संरक्षक वा माथवरले सम्पत्ति विक्री गर्न सक्ने
संरक्षक वा माथवरले आफ्नो संरक्षकत्व वा माथवरीमा रहेको व्यक्तिको हक, हित वा संरक्षणका लागि सम्पत्ति विक्री गरी हस्तान्तरण गर्न सक्छ । संरक्षक वा माथवरले चल सम्पत्तिबाहेक अचल सम्पत्ति विक्री गर्न परेमा अदालतको अनुमति लिन पर्ने व्यवस्था गरेको छ । (मुलुकी देवानी संहिताको दफा ४१५(१)(२)

सम्पत्ति पाउने व्यक्तिको स्वामित्व कायम हुने
कुनै व्यक्तिले आफ्नो सम्पत्ति अन्य व्यक्तिलाई हस्तान्तरण गरिदिएमा त्यसरी सम्पत्ति हस्तान्तरण गरेको मितिदेखि त्यस्तो सम्पत्तिमा रहेको निजको स्वामित्व समाप्त भई सो सम्पत्ति प्राप्त गर्नेका नाममा स्वामित्व कायम हुन्छ । (मुलुकी देवानी संहिताको दफा ४१६(१)

निजी सम्पत्ति मन्जुरी नलिई हस्तान्तरण गर्न सक्ने
कुनै व्यक्तिले आफ्नो निजी सम्पत्ति कसैको मन्जुरी नलिई कुनै व्यक्तिलाई हस्तान्तरण गर्न सक्छ । तर, आफ्नो हक नपुग्ने अर्काको हक र स्वामित्वको सम्पत्ति अन्य व्यक्तिलाई हस्तान्तरण गर्न सक्दैन । कसैले सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो लिखत वा कारोबार बदर हुने कानूनी व्यवस्था छ । (मुलुकी देवानी संहिताको दफा ४१७, दफा ४२१(१) (२)

संयुक्त सम्पत्ति विक्री गरी हस्तान्तरण गर्न सकिने
संयुक्त सम्पत्ति विक्री गरी हस्तान्तरण गर्दा त्यस्तो सम्पत्तिका सबै स्वामित्ववालाहरूको मन्जुरी लिई हस्तान्तरण गर्न सक्छ । स्वामित्ववालाहरूले सम्पत्ति हस्तान्तरण गर्न मन्जुर नदिएमा कुनै स्वामित्ववालाले आफ्नो हक वा हिस्साको मात्र सम्पत्ति हस्तान्तरण गर्न सक्छ । ( मुलुकी देवानी संहिताको दफा ४१८(१) (२)

घर व्यवहारका लागि सगोलको सम्पत्ति विक्री गर्न सक्ने
घरको मुख्य व्यक्तिले घर व्यवहारका लागि चल सम्पत्तिमा सबै र अचल सम्पत्तिमा आधासम्म कसैको मन्जुरी नलिईकन सगोलको सम्पत्ति विक्री गर्न सक्ने कानूनी व्यवस्था छ । (दफा ४२०)

दोहोरो पारी सम्पत्ति हस्तान्तरण गर्न नहुने
कुनै व्यक्ति कुनै सम्पत्ति विक्री वा अन्य तरीकाबाट हस्तान्तरण गरेको अवस्थामा सो सम्पत्ति पुनः अन्य व्यक्तिलाई सम्पत्ति दोहोरो पारी हस्तान्तरण गर्न नहुने कानूनी व्यवस्था छ । कसैले सम्पत्ति हस्तान्तरण गरेमा अचल सम्पत्ति हस्तान्तरण गरेको भए पहिले रजिस्ट्रेशन पारित भएको लिखतले कानूनी मान्यता पाउनेछ र चल सम्पत्ति हस्तान्तरण गरेको भए जुन व्यक्तिले पहिले सम्पत्ति प्राप्त गर्छ सोही हस्तान्तरण मान्य हुन्छ । (मुलुकी देवानी संहिताको दफा ४२२(१)

संरक्षक वा माथवरले दान वा बकस दिन नसक्ने
संरक्षक वा माथवरले आप्mनो संरक्षकत्व वा माथवरीमा रहेको व्यक्तिको सम्पत्ति कुनै व्यक्तिलाई दान वा बकस दिन नसक्ने व्यवस्था रहेको छ । (मुलुकी देवानी संहिताको दफा ४२३)

विक्री गरेको सम्पत्ति भोग गर्न नपाएमा रकम वा क्षतिपूर्ति पाउने
कसैले सम्पत्ति विक्री गरी हस्तान्तरण गरेको सम्पत्ति कुनै बेहोराले कच्चा भई खरीदकर्ताले पूरै वा आंशिक रूपमा सम्पत्ति भोग गर्न नपाएमा त्यसरी भोग गर्न नपाए जति सम्पत्तिको खरीदकर्ताले तिरेको रकम, त्यस्तो रकमको वार्षिक १० प्रतिशतका दरले हुने ब्याज र सम्पत्ति हस्तान्तरण गर्दा रजिस्ट्रेशन दस्तुर वा अन्य रकम तिरेको भए त्यस्तो रकमसमेत खरीदकर्ताले त्यसरी सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिबाट कपालीसरह भरार्ई लिन पाउँछ । (मुलुकी देवानी संहिताको दफा ४२४(१)

वारेसमार्फत सम्पत्ति हस्तान्तरण गर्न सक्ने
कसैले आप्mनो अचल सम्पत्ति विक्री गरी हस्तान्तरण गर्नका लागि आफू सम्बद्ध कार्यालयमा उपस्थित हुन नसक्ने कारण जनाई कानूनबमोजिम बारेस हुन सक्ने व्यक्तिलाई अधिकृत वारेस नियुक्त गरी पठाएमा त्यस्तो अधिकृत वारेसले निजको तर्फबाट निजको सम्पत्ति कुनै व्यक्तिलाई विक्री गरी हस्तान्तरण गर्न सक्छ । यस्तै कसैले आफ्नो चल सम्पत्ति वारेस वा प्रतिनिधिमार्फत विक्री गर्न सक्छ । (मुलुकी देवानी संहिताको दफा ४२५(१) (२)

संगठित संस्थाले आफ्नो सम्पत्ति हस्तान्तरण वा प्राप्ति गर्न सक्ने
कानूनबमोजिम स्थापना भएका कुनै संगठित संस्थाले आफ्नो नाममा रहेको अचल सम्पत्ति हस्तान्तरण गर्न सक्छ । सोका लागि त्यस्तो संगठित संस्थाको सञ्चालक समितिले निर्णय गरी सञ्चालक समितिको कुनै सदस्य वा सो संस्थाको कर्मचारीलाई सम्पत्ति हस्तान्तरण गर्न अधिकार दिएमा त्यस्तो व्यक्तिले संगठित संस्थाको तर्फबाट सम्पत्ति हस्तान्तरण गर्न सक्छ । कुनै संगठित संस्थाको नाममा अचल सम्पत्ति खरीद वा अन्य कुनै प्रकारले प्राप्त गर्दा उपर्युक्त प्रक्रिया पूरा गरी त्यस्तो संस्थाको नाममा सम्पत्ति खरीद वा प्राप्त गर्न सक्छ । (मुलुकी देवानी संहिताको दफा ४२६(१)(२)

वारेसमार्फत सम्पत्ति खरीद वा प्राप्त गरिदिन सक्ने
सम्पत्ति खरीद वा प्राप्त गर्ने व्यक्ति काम विशेषले सम्बद्ध कार्यालयमा उपस्थित हुन नसकी निजको तर्फबाट त्यस्तो सम्पत्ति खरीद वा प्राप्त गर्ने सम्बन्धमा कानूनले वारेस दिन हुने व्यक्तिलाई कानूनको रीत पुर्‍याई अख्तियारनामा र निजको नागरिकताको प्रमाणपत्रसमेत दिई पठाएमा त्यस्तो वारेसले निजको नाममा त्यस्तो सम्पत्ति खरीद वा प्राप्त गर्न सक्छ । (मुलुकी देवानी संहिताको दफा ४२७)

शेषपछि हक प्राप्त हुने सम्पत्ति छ महीनामित्र नामसारी गर्न पर्ने
कसैले आफ्नो सम्पत्ति शेषपछि हक हुने गरी कुनै व्यक्तिलाई हस्तान्तरण गरेकोमा र सो सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिको मृत्यु भएको निजको मृत्यु भएको मितिले ६ महीनाभित्र सम्पत्ति पाउने व्यक्तिले त्यस्तो सम्पत्ति आफ्नो नाममा दाखिल खारेज गर्नुपर्ने व्यवस्था रहेको छ । सोका लागि मृत्यु दर्ताको प्रमाणपत्रलगायत अन्य प्रमाणसहित सम्बद्ध कार्यालयमा निवेदन दिनुपर्नेछ । (मुलुकी देवानी संहिताका ४२९(१)

विदेशीलाई अंश वा अपुताली प्राप्त भएमा हस्तान्तरण गर्नुपर्ने
कुनै विदेशीलाई नेपालभित्रको कुनै अचल सम्पत्ति अंश वा अपुताली प्राप्त भएमा नेपाल सरकारको स्वीकृति भएकोमा बाहेक सो सम्पत्ति निजको नाममा नामसारी, दर्ता हुन वा सो सम्पत्तिको आम्दानी निजले उपभोग गर्न पाउने पाउँदैन । तर, गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा यो व्यवस्था लागू हुने नहुने व्यवस्था गरेको छ । विदेशीलाई कुनै अंश वा अपुताली प्राप्त भएमा त्यस्तो विदेशीले त्यस्तो सम्पत्ति कुनै प्रकारले नेपाली नागरिकलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ । विदेशीको नाममा प्राप्त भएको अंश वा अपुतालीको सम्पत्तिमध्ये अंशको हकमा जहिलेसुकै पनि र अपुतालीको हकमा त्यस्तो प्राप्त भएको ३ वर्षभित्र नेपाली नागरिकलाई हस्तान्तरण नगरेमा सो म्याद नाघेपछि त्यस्तो सम्पत्तिउपर नेपाल सरकारको हक हुने व्यवस्था गरेको छ । (मुलुकी देवानी संहिताका ४३३(१)(२)(३)।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्