ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक !  

२०७७ कार्तिक, २६  
समाचार
Image Not Found
भेरी–बबई डाइभर्सन आयोजनाको फाइल फोटो

कात्तिक २६, काठमाडौं । कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको बेला पनि सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ । 

कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्रिय गौरवका छ ओटासहित अरु दुई ठूला आयोजनाको काम सन्तोषजनक देखिएको निष्कर्ष मन्त्रालयले निकालेको हो ।     
     
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सिंचाइका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिबारे मन्त्रालयका सचिव, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक तथा आयोजना प्रमुखसँग लगातार तीन दिनसम्म भर्चुअल बैठक गरी आयोजनाको अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा जलस्रोत सचिव मधुसुदन अधिकारी, विभागका महानिर्देशक मधुकरराज राजभण्डारी र आयोजना प्रमुखले गौरवका सबै आयोजनाको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
     
भेरी–बबई र सुनकोशी–मरिन डाभइर्सन, सिक्टा, रानी जमारा कुलरिया, बबई र महाकाली सिंचाइतर्फका राष्ट्रिय गौरवका आयोजना हुन् । यस्तै उपत्यकाको भूमिगत पानीको स्रोत तथा रिचार्ज प्रणाली जोगाउने उद्देश्यले काठमाडौंका शिवपुरी राष्ट्रिय निकुञ्जमा निर्माणाधीन ढाप ड्यामको कामसमेत तीव्रगतिमा अघि बढेको छ ।     
     
यस्तै तत्कालीन मध्य, पश्चिम र सुदूरपश्चिम प्रदेशमा विश्व बैंकको सहयोगमा यसअघि कार्यान्वयनमा रहेको सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना अन्यत्र पनि लागू गर्नेबारे समेत बैठकमा छलफल भएको थियो । बैठकले विश्व बैंक र अर्थ मन्त्रालयसँग छलफल गरी आयोजनाको मोडालिटी टुंगो लगाउने निर्णय गरेको छ ।     
     
सुनकोशी–मरिन डाइभर्सनबाट १ लाख २२ हजार हेक्टर, एउटै पकड क्षेत्र रहेको भेरी–बबई डाइभर्सन र बबई सिंचाइ आयोजनाबाट ५१ हजार हेक्टर, सिक्टा सिंचाइ आयोजनाबाट ४२ हजार ७०० हेक्टर, महाकाली सिंचाइ आयोजनाबाट ३५ हजार हेक्टर र रानी जमरा कुलरियाबाट २० हजार ३०० हेक्टर जमीनमा सिंचाइ सुविधा पुग्नेछ ।     
     
यस्तै भेरी–बबई डाइभर्सनबाट ४७ मेगावाट, सुनकोशी–मरिन डाइभर्सनबाट करीब ३० मेगावाट तथा रानी जमरा कुलरियाबाट ४ दशमलव ७ मेगावाट विद्युत् उत्पादन हुनेछ । सिंचाइ र विद्युत् उत्पादनसँगै हुने भएकाले ती आयोजनालाई बहुउद्देश्यीय भनिएको हो । ढाप ड्याम निर्माणको काममा हालसम्म कुल ८० प्रतिशत, सिक्टामा ६० प्रतिशत, भेरी–बबईमा ४० प्रतिशत र बबइमा ४७ प्रतिशत काम सम्पन्न भइसकेको छ ।     
     
गत वर्षबाट शुरु भएको सुनकोशी मरिन आयोजनाअन्तर्गत रामेछाप र सिन्धुली खण्डमा जग्गा अधिग्रहणको काम सकिएको छ । कतिपय स्थानमा मुअब्जा वितरणसमेत भएको छ । यस्तै चालू आर्थिक वर्षमा मात्र राष्ट्रिय गौरवको आयोजनामा समाविष्ट भएको महाकाली सिंचाइ आयोजनाको कुलमध्ये १० प्रतिशत काम सम्पन्न भएको छ ।     

कोरोना महामारीको असहज अवस्थामासमेत आयोजनाका काम लक्ष्यअनुसार अघि बढेकामा विभाग र आयोजना प्रमुखसहित सबैलाई उनले धन्यवाद दिएका छन् । रासस
 

प्रतिक्रिया [1]
User Image

sushil

[Nov 11, 2020 10:41am]

nepal ma matrijiu ko gadi kinne ra subhidha badhane bahek aru kahile badheko herna pahiyena


प्रतिक्रिया दिनुहोस्