ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आर्थिक विकासमा महिला समूह

२०७७ कार्तिक, २७  
लेख | दृष्टिकोण
Image Not Found

ग्रामीण मात्र नभई सहरी इलाकामा समेत छरिएर रहेका स साना रकमलाई संकलन गरी ठूलो पूँजी बनाउने कार्यमा महिला समूह सक्रिय छन् । आज हरेक समूहका नाममा स्थापित संस्थाले गर्ने कार्यलाई सहकारीका नामले पनि बढी चिनिने गरिन्छ । आमा महिलालगायत अनेकाैं नाममा खुलेका हजाराैंका संख्यामा रहेका वैधानिक संस्थाबाट हाम्रो समाजमा आर्थिक क्रियाकलाप सुचारु भएको छ । महिला नेतृत्वको विकास पूँजीको सदुपयोग मात्र नगरी अनि सानो रकमलाई ठूलो पूँजीका रूपमा विकास गर्दै विविध व्यवसाय सञ्चालन गरेका छन् । यस्तो कार्यले रोजगारी नेतृत्व विकास बचत गर्ने बानीको विकास आपसमा सहकार्य सहयोग गर्दै समृद्ध बन्ने बाटोमा लागेका महिला वास्तवमा आर्थिक क्षेत्रको उत्थानमा महत्त्वपूर्ण हुन् ।

उद्यमशीलताको विकास चानचुने काम होइन । त्यसकै लागि राज्यले करोडाैं खर्चसमेत गर्ने गरेकै छ । शीप विकासका लागि ग्रामीण क्षेत्र प्राथमिकतामा राखिने भएकाले पनि ग्रामीण क्षेत्रमा महिला विकासका अनेकौं सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । आफ्नो वरपर भएका स्थानीय तहभित्रका साधनस्रोतको परिचालन गर्दै अनेकाैं सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । आफ्नो वरपर भएका स्थानीय तहभित्रका साधनस्रोतको परिचालन गर्दै अनेकौं व्यवसाय सञ्चालनमा आएका छन् । तितौरा, आलुचिप्स, सेनेटरीप्याड, दालमोठ मैनबत्ती, साबुन, बुनाइ, सिलाइलगायत सयौं प्रकारका शीपमूलक व्यवसायले महिला सशक्तीकरणमा पनि टेवा पुर्‍याएको हुन्छ ।

घरायसी काम गरेर पनि समय निकाल्दै मासिक बैठक ब्याज तथा साँवा फिर्ता संकलन गरी व्यवस्थित र उत्पादनमुखी कार्यमा लगाउने कार्य आफैमा चुनौतीपूर्ण हुँदै छ । आफूलाई केही रकम आवश्यक पर्दा तत्कालै लिन पाइने घरमा आवश्यक पर्ने दैनिकी खर्चको जो हो हुन्छ । बालबालिकाले पढ्न लेख्नका लागि कापी कलम किताब आदिको प्रयोगमा समूहको नियमानुसार लिई त्यसलाई दुईओटा मात्र उन्नत जातका पाठी खरीद गरेर पाल्दा १ वर्षमा १ डेढ लाख बनाउने महिलाहरू असंख्य भेटिन्छन् । कृषि र व्यवसाय एउटै सिक्काका दुईपाटा हुन भन्ने बुझेर पनि हामी त्यसलाई स्वीकार गरिरहेका छैनांै । यी तीनओटा पक्ष हरेक उत्पादन गर्ने संस्थाहरूले ख्याल गरेका हुन्छन् । समाजको विशेषता नै परिवर्तनशीलता भएकाले अपेक्षा पनि बदलिन्छन् । समाजमा नवीन परिवेशको सृजना हुन्छ । मानवले पनि परिवेश अनुकूलका आवश्यकता पूरा गर्न चाहन्छन् ।

वर्तमान समयमा प्रादेशिक र स्थानीय तहसम्म विकास व्यवस्थापनको क्षमता बढाउँदै सबै तहमा जवाफदेही स्वच्छ र प्रभावकारी विकास प्रशासन कायम गर्नु महत्त्वपूर्ण रणनीतिका रूपमा रहेको छ । महिलाहरूबाट सञ्चालित सबै संस्थामा स्थानीयदेखि संघसंस्थाले उत्प्रेरणा जगाउने कार्य गर्नुपर्छ । सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य भनेर परिचित हाम्रो देशमा गरीबीको निवारणमा क्रमिक रूपले पर्याप्त काम गर्नुपर्ने देखिन्छ । जुन कामका लागि स्थानीय स्तरमा महिला सहभागिता महिला सशक्तीकरण र महिला नेतृत्वका साथ आर्थिक सबलता प्राप्त गर्नुपर्छ । यसका लागि हकअधिकार, समाज, संस्कृति, मूल्यमान्यता र परिवेश सबै तत्त्वलाई गम्भीरतापूर्वक मनन गरी आय आर्जन रोजगारी र पूँजी संकलनमा जोड दिनुपर्छ ।

महिला तथा बालबालिका मन्त्रालयमार्फत कार्यक्रम सञ्चालन भएको पनि २ दशक बितिसक्यो । मूलतः आरक्षण र समावेशिताको सिद्धान्तलाई अंगीकार गरेपछि महिलाको सहभागिता विकासका क्षेत्रदेखि अन्य स्वास्थ्य शिक्षा वित्तीय संस्थाहरूमा बढेर गएको देखिन्छ । आर्थिक रूपले सक्षम भएपछि मात्र अन्य क्षेत्रमा जाने मार्ग सुगम बन्ने रहेछ । त्यसैले आर्थिक पक्ष बलियो बनाउन छरिएर रहेका नगदलाई संकलन गरी उत्पादनका क्षेत्रमा आफ्नै समाजमा रहेका शीपको उपयोगबाट आय आर्जन गर्न सकिएकाले नै सहकारी फस्टाउँदै गएको हो ।

अल्पकालीन शीपबाट व्यक्ति दक्ष बनेर आफ्नै समुदायमा सहजै रोजगारी प्राप्त गर्न सकिन्छ । सामान्यतया १ दिन धान चुट्ने कामका लागि प्रतिव्यक्ति हजारदेखि १५्र सय भन्ने गरिन्छ । त्यसमा खाजा चिया चुरोटसमेत जोडिन्छ । यसरी हेर्दा कम्तीमा २ हजार श्रम गरेबापत लिने अवस्था हाल रहेको छ । कृषिमा अल्पकालीन रोजगारी मात्रै प्राप्त हुने भएकाले पनि अवसरको लाभ लिने गरिन्छ । अर्थव्यवस्था अथवा आर्थिक अवस्थाले हाम्रो समाजको सामाजिक सांस्कृतिक सम्बन्धमा समेत परिवर्तन ल्याउँछ ।

हाम्रो समाजमा आर्थिक संस्थाहरू अनेकाैं छन् । हरेक संस्थाका आआफ्नै उद्देश्य र कार्य हुने नै भयो । आर्थिक संस्थाहरूले मूलभूत रूपमा तीनओटा पक्षलाई महत्त्व दिएका हुन्छन् । प्रथम भनेको केकस्ता वस्तु तथा सेवाको कुन मात्रामा उत्पादन गर्ने भन्ने विषय हो । दोस्रो समाजमा रहेका प्राकृतिक स्रोतसाधनलाई के कसरी अपेक्षित वस्तु तथा सेवाको उत्पादनमा लगाउन सकिन्छ भन्ने र तेस्रो कसका लागि वस्तु तथा सेवाको उत्पादन गर्ने भन्ने हो ।

महिला समूह वा संगठन मिलेर गर्न सकिने विविध क्षेत्रहरू छन् । रोजगारी सृजना शिक्षा स्वास्थ्य सरसफाइ खानेपानी फोहोर व्यवस्थापन कृषिजन्य उत्पादन त्यसको बजारीकरण भण्डारण प्रशोधनलगायत धेरै कार्यहरू पर्छन् । यी सबैबाट रोजगारी प्राप्त भई आय आर्जनका साथै वातावरणको संरक्षण नेतृत्वको विकास स्वस्थ्य जीवनयापन शिक्षित व्यक्तित्व जस्ता मानवका चौतर्फी विकासमा टेवा अवश्य नै पुग्छ । शीप विकासबाट स्वरोजगार बन्दै व्यस्त जीवन व्यतीत अनि आफ्ना साथीलाई समेत उत्प्रेरित गरी थप रोजगारी र आय आर्जनका कार्य सहजै गर्न सकिन्छ ।

स्वेटर बुन्ने कपडा सिलाउने घर सजावटका सामग्री बनाउने कागजका चित्रकलामा रंग भर्ने थाङका, पौभा, मिथिलालगायत अनेकौं कलाका माध्यमले रोजगारी बनेर मनग्गे आम्दानी गर्न टाढा जान र ठूलो लगानीको खाँचो पर्दैन । काम गर्ने जाँगर र शीप मात्र हुनुपर्छ । घरघरमा रोजगारी स्वयं सृजना गर्न सकिन्छ । अर्काको भरमा परेर अनेकाैं प्रक्रिया र दुर्वचन सहनुभन्दा स्वरोजगार बन्नु उत्तम देखिन्छ ।

लेखक विश्वशान्ति क्याम्पसका समाजशास्त्रका अध्यापक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्